२०७३ साउन १२ गतेबाट विभिन्न उतारचढावका बिच २०७४ कात्तिक २६ गते आइतबार बजार परिसुचक नेप्से १४७७.१४ अंकमा अडिएको थियो । यो सामग्रीमा आइतबारसम्मको तथ्यांक समेटिएको छ ।
आइतबारसम्मको तथ्यांकलाई हेर्दा बजारमा ४०४.३१ अंकको गिरावट देखिन्छ । वाणिज्य बैंकहरुको सेयर मूल्यलाई हेर्ने हो भने सुचकको गिरावटभन्दा धेरै तल आएको देखिन्छ । जसलाई उल्लेखित चित्रले अझै प्रष्ट पार्छ । जहाँ साउन १२, २०७३ अर्थात २७ जुलाई, २०१६ र कात्तिक २६, २०७४ अर्थात नोभेम्बर १२, २०१७ का दिन कायम भएको वाणिज्य बैंकहरुको सेयरमूल्यलाई देखाइएको छ ।
चित्र प्रष्ट नभएको खण्डमा क्लिक गरेर ठुलो बनाएर हेर्नुहोला । उल्लेखित तथ्यांकमा २०७३ साउन १२ गते कारोबार भएका २३ वाणिज्य बैंकहरुलाई मात्र समावेश गरिएको छ ।
यो अवधिमा सबैभन्दा धेरै सेयर मूल्य परिवर्तन कुन वाणिज्य बैंकमा देखियो त ? प्रतिशतका आधारमा हेर्दा नेपाल बंगलादेश बैंकको सेयर मूल्य अधिक मात्रामा तल झरेको छ । बैंकको वित्तीय अवस्था, पूँजी वृद्धि लगायत कारणले सेयर मूल्यमा यस्तो गिरावट देखिएको हो । २०७३ साउन १२ गते बंगलादेश बैंकको प्रतिकित्ता सेयर १,०२२ रुपैंयामा अन्तिम पटक कारोबार भएको थियो । कात्तिक २६ गते उसको प्रतिकित्ता सेयर २८५ रुपैंयामा किनबेच भएको छ ।
समीक्षा अवधिमा बैंकको अघिल्लो आर्थिक वर्षको ३२ प्रतिशत बोनस तथा बोनस पछि कायम पूँजीको ८० प्रतिशत हकप्रद समायोजन भएको छ । उक्त पूँजीमा गत आर्थिक वर्षमा बैंकले बितरण गरेको १२ प्रतिशत बोनस पनि समायोजन भएको छ । यसरी साउन १२ गतेको बैंकको सेयर मूल्यमा उल्लेखित बोनस तथा हकप्रद समायोजन गर्दा बैंकको प्रतिकित्ता सेयर मूल्य ४२४ रुपैंया हुन आउँछ । तर सोमबार बैंकको प्रतिकित्ता सेयर मूल्य २८२ रुपैंयामा अन्तिम पटक किनबेच भएको छ । यो तथ्यले बैंकको हकप्रद भरेकाहरुले व्यहोरेको नोक्सानको आँकलन सहजै गर्न सकिन्छ ।
अन्य बैंकहरुको सेयर मूल्य कति प्रतिशतले घट्यो त ? त्यसलाई तलको चित्रमा देखाइएको छ ।
चित्र प्रष्ट नभएको खण्डमा क्लिक गरेर ठुलो बनाएर हेर्नुहोला । उल्लेखित तथ्यांकमा २०७३ साउन १२ गते कारोबार भएका २३ वाणिज्य बैंकहरुलाई मात्र समावेश गरिएको छ ।
उल्लेखित समयको बिचमा बैंकहरुले जारी गरेको हकप्रद तथा बोनस समायोजन भएको छ । अधिकांस बैंकहरुले ठुलो संख्यामा बोनस तथा हकप्रद निष्काशन गरेका छन् । केही बैंकहरुले दोहोर्याएर समेत हकप्रद निष्काशन गरिसकेका छन् । तर बंगलादेश बैंकमा देखिए जस्तै उल्लेखित सबै बैंकहरुको सेयर मूल्य समायोजनभन्दा तल्लो विन्दुमा आईसकेको छ । यस आधारमा वाणिज्य बैंकहरुको सेयर मूल्य निकै तल आएकाले लगानीकर्ता आशावादी बन्न सक्ने आधार देखिन्छ । गत आर्थिक वर्षको बोनस समायोजन हुँदा बैंकहरुको सेयर अझै सस्तो हुनेछ ।
सोमबार बजार परिसुचक नेप्से १३.७४ अंकले बढेर १४९०.८८ अंकमा बन्द भएको छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................