बुधबार पनि बजार खुलेपछि केही बढेको नेप्सेले दिनभर जसो नागबेली चाल देखाई रह्यो ।
अन्तत बजार बन्द हुने समयसम्म आईपुग्दा ८.३९ अंकले घटेर १३८६.४७ अंकमा झरेको छ ।
यसदिन १६० कम्पनीको झण्डै ५६ करोड बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोड कम हो ।
निरन्तर उच्च अंकले बढेको बजार पुन ओरालो लाग्न थालेपछि लगानीकर्ता अलमलमा परेका छन् । बजार घटेको बेला सेयर किन्नेहरु नाफा सुरक्षित गर्नमै केन्द्रीत देखिन्छन् । भने बजार प्रवेश गर्नेहरु उपयुक्त समयको पर्खाइमा रहेका छन् । निरन्तर बढेको बजारको पछिल्लो घटाईलाई भने सामान्य रुपमै हेरिएको छ ।
बजार विश्लेषकहरु नजरमा बजारमा उच्च उतारचढाब आउने खास कारण देखा परेका छैनन् । कतिपयले आधाजसो वाणिज्य बैंकहरुले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्थामा बैंकहरुको विवरणले उत्साह जगाउन नसकेको समेत बताउने गरेका छन् ।
बुधबारको बजारमा नेपाल ग्रामिण विकास बैंक लगानीकर्ताको रोजाईमा परेको छ । जसको सबैभन्दा धेरै ४ करोड २४ लाखको सेयर किनबेच भयो । उक्त कम्पनीको सेयरमूल्य समेत प्रतिकित्ता १२ रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंकको कारोबार रकम दुई करोड नाघ्दा अन्य कुनै कम्पनीको दुई करोड बढीको कारोबार हुन सकेन । आजै वित्तीय विवरण सार्वजनिक गरेको इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य पनि सामान्य बढेको छ ।
यसदिन सबैभन्दा धेरै स्वदेशी लघुवित्तको सेयरमूल्य ६ प्रतिशतले बढ्यो भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतकै दरले गुमाए ।