बैंक मार्फत कसरी लिन सकिन्छ घरकर्जा ? यस्तो छ मासिक किस्ता तिर्ने विधि

Jun 17, 2018 Merolagani

काठमाडौंको भृकृटी मण्डपमा असार १ गतेदेखि सातौं घरजग्गा मेला चलिरहेको छ । बैंकबाट कर्जा लिएर घरजग्गा खरिद वा घर निर्माण गर्न चाहनेका लागि काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको प्रोपर्टी एक्स्पो (घरजग्गा मेला) एउटा राम्रो प्लेटफर्म हुन सक्छ । 

यहि अवसर पारेर विभिन्न ६ बाणिज्य बैंकहरु सिभिल बैंक, एनआर्इसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, एनएमबि, सनराईज बैंकले आफ्नै घर बनाउन चाहने तर एकै पटक घर बनाउने रकमको अभाव भएकालाई मध्यनजर गर्दे विभिन्न सेवा शुल्क छुट गरेर कर्जा उपलब्ध गराउने अफर समेत सार्वजनिक गरेका छन् । 

बैंकहरुले घरजग्गा मेलामा उपलब्ध गराउने आवास कर्जाको न्यूनतम ब्याजदर १०.३३ प्रतिशतदेखि १४ प्रतिशतसम्म छ । बैंकपिच्छे कर्जाको स्किममा भिन्नता छन् भने स्किम अनुसारको कर्जा सम्बन्धी सेवा शुल्क, ब्याजदर र सुबिधाहरु पनि परक फरक रहेका छन् ।

बैंकहरुमध्ये एभरेष्ट बैंकले पाँच बर्ष र १५ बर्ष अवधिको, एनएमबि बैंकले ३५ बर्ष अवधिको, सनराइज बैंकले १० र २० बर्ष अवधि तथा एनआईसी एशियाले २५ बर्ष अवधिको कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकहरुले ग्राहकले खरिद गर्न चाहेको घर तथा जग्गाको प्रकृति, जग्गाको मूल्याङ्कन र घर तथा जग्गा खरिद गर्न चाहाने ग्राहकको आम्दानीको आधारमा कर्जा वितरण गर्ने बताएका छन् । आवास कर्जा उपलब्ध गराउँदै आएका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो १०.३३ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंकले घरकर्जाका प्रडक्ट ल्याएको छ ।

अन्य बैंकहरुले पनि अधिकतम १४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएका छन् । प्राय बैंकहरुले आवास कर्जा दिँदा एक पटकका लागि कुल कर्जा रकमको १ प्रतिशत सेवा शुल्क लिने गर्दछन् । तर केही बैंकले मेला अवधिभर कर लिने ग्राहकलाई सेवा शुल्कमा ०.२५ प्रतिशत छुट समेत दिने जनाएका छन् ।

व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।

बैंकहरु मार्फत घर कर्जाका लिनका लागि के के चाहिन्छ कागजात ?

बैंक मार्फत घरकर्जा लिन चाहाने ग्राहकहरुले बैंकले तोके बमोजिमका प्रक्रिया र कागज पेश गरे पश्चात मात्र बैंकले कर्जा उपलब्ध गराउने गर्दछ । बैंक मार्फत कर्जा लिनका लागि ग्राहकले आफ्नो अचल सम्पत्ति धितोबन्धक राख्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त ऋणी तथा व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको श्रोत हुन जरुरी छ भने एक बर्ष अवधिको बैंक स्टेटमेन्ट समेत पेश गर्नुपर्छ ।

त्यसपश्चात ऋण लिने ग्राहकले बैंकद्धारा तोकिएको कर्जाको माग आवेदन फारम भर्नुपर्ने हुन्छ । कर्जा लिन चाहाने व्यक्तिको नागरीकता वा पासपोर्ट, ऋणीको पासपोर्ट साइजको फोटो र ऋण लिने ब्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयश्रोत सम्बन्धी विवरणहरु पेश गर्नुपर्ने हुन्छ ।

त्यसैगरी कानूनी रुपमा दर्ता भएका संघसंस्थाहरुमा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा उनीहरुको तलब सम्बन्धि कागजात, घर भाडा मार्फत आम्दानी गर्नेहरुको हकमा घरभाडाको सम्झौतापत्र, भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र समेत पेश गर्नुपर्ने हुन्छ ।

बैदेशीक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजातका प्रमाणको रुपमा पेश गर्नुपर्छ ।

बैंकबाट कर्जा लिनको लागि राखिने धितो बन्धक राख्ने सम्पत्तिको चार किल्ला प्रमाणित भएको लालपुर्जा, सम्पत्तिको बाटो खुल्ने कागजात, सम्पत्तिको तिरो तिरेको कागज आवश्यक हुन्छ ।

यदि धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र, घरको स्थाई नक्सा पास र निमार्ण सम्पन्न भएको प्रमाणपत्र समेत आवश्यक पर्ने बैंकहरुले जनाएका छन् ।

यस्ता छन् कर्जा लिने प्रक्रिया
कर्जा लिनका लागि सम्पत्ति धितो राख्नुपर्ने शर्त सबै बैंकले राखेका छन् । घर तथा आवास कर्जा लिनका लागि ग्राहकले बैंकले कर्जाका लागि तोकेको विभिन्न कागजातहरु सहित निवेदन दिनुपर्दछ । घरजग्गा मेलामा बैंकहरुले सामान्यतया कर्जा प्रक्रिया पूरा भएको ३ दिनदेखि अधिकतम १० कार्यदिन भित्रमा कर्जा उपलब्ध गराइसकिने बताएका छन् ।

कुनै पनि बालिग नेपाली नागरिकले घरकर्जा लिनका लागि आवेदन गर्न सक्छ । ऋण लिने व्यक्तिको एकाघर परिवारको पूर्ण स्वामित्वमा रहेका घर–जग्गाहरु बैंकले धितोको रुपमा स्वीकार गर्नसक्छ ।

बैंकले धितोस्वरुप विभिन्न ठाउँको घरजग्गा स्वीकार गर्ने भनेर तोकेको हुन्छ । शहरी क्षेत्र र शहरउन्मुख क्षेत्र, तथा राजमार्गसँग जोडिएको स्थान अथवा बैंकको शाखा रहेको स्थान आसपासका घरजग्गालाई धितोमा स्वीकार गर्न सकिने बैंकहरुले बताएका छन् ।

धितोमा राखिने सम्पत्तिको मूल्याङ्कन गर्नका लागि बैंकले तोकेको मूल्याङ्ककन कर्ताबाट धितो सम्पत्तिको मूल्याङ्कन गरि तोकिएको सीमासम्मको रकम बैंकले कर्जा प्रदान गर्ने गर्दछन् ।

मासिक किस्ता रकम (ईएमआई) कति तिर्नुपर्छः

बैंकहरुले ऋणीलाई कर्जा दिँदा मासिक किस्ता रकम (EMI) भुक्तानी गर्नसक्ने क्षमता पनि हेर्ने गर्दछ । मासिक किस्ता गणना गर्दा कर्जा रकममा ब्याजदर तथा कर्जा अवधिलाई पनि आधार मानेर गणना गर्ने गरिन्छ ।
आजभोलि ईएमआई गणना गर्ने विभिन्न एप्सहरु पनि पाइन्छन् । जसको सहायतामा मोबाइल तथा इन्टरनेटबाट आफूले लिन चाहेको कर्जाको ईएमआई सजिलै निकाल्न सकिन्छ । ऋणीले लिने कर्जा रकम, कर्जाको समयाअवधि, कर्जामा लाग्ने ब्याजदरका आधारमा कति मासिक किस्ता तिर्नुपर्छ भन्ने निर्धारण हुन्छ ।

बैंकहरुले ऋणीले लिने ऋणको मासिक किस्ता तिर्न ऋणीको मासिक आम्दानी यति नै हुनुपर्छ भन्ने मापदण्ड तोकेका छैनन् । उनीहरुले कर्जा खाम्ने धितो र ऋणीको मासिक किस्ता तिर्न सक्ने आम्दानी भएको खण्डमा कर्जा उपलब्ध गराउने भएका छन् । एभरेष्ट बैंकले भने कर्जा योग्यताका लागि ऋण लिने ग्राहकको मासिक आम्दानी किस्ता रकमको दोब्बर हुनुपर्ने मापदण्ड तोकेको छ ।

उदाहरणको रुपमा कुनैपनि ग्राहकले १४ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि १० लाख रुपैयाँ आवास कर्जा लियो भने उसले त्यसको मासिक किस्ता करिब २३ हजार ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यदि ३५ बर्ष समयाअवधिका लागि १४ प्रतिशत नै ब्याजदरमा एक करोड रुपैयाँ घरकर्जा लिने ऋणीले यसको मासिक किस्ता करिब एक लाख १७ हजार ६०० रुपैयाँ हाराहारी तिर्नुपर्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।