चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता,प्रधानमन्त्रीको भ्रमणपछि थप लगानी भित्रने विश्वास

Jun 18, 2018 RSS

एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ ।

कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउनेछन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेको चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ । हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ ।

आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेश्ी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । यस्तो सन्दर्भमा पछिल्लो दिनमा चिनियाँ लगानीको प्रतिबद्धता गुणात्मक र मात्रात्मकरुपमा समेत बढेको प्रवक्ता भुसालको भनाइ छ ।

विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि रु २७ अर्ब ३६ करोड ६६ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा निर्माण दुई, ऊर्जा, दुई, सञ्चार प्रविधि एक, उत्पादनमूलक सात, सेवामूलक १४ र पर्यटनका १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता प्राप्त भएको हो । ती उद्योगबाट करीब पाँच हजार जनाले रोजगारी पाउनेछन् ।

यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि रु ४० करोड ४६ लाख २० हजारबराबरको प्रतिबद्धता प्राप्त भएको छ । ती उद्योगले करीब एक हजारजनालाई रोजगारी प्रदान गर्नेछ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुनेछन् ।

चीनबाट ठूला ३९, मझौला १०४ र साना एक हजार एक हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागको भनाइ छ । यस्तै हङ्कङबाट ठूला ११, मझौला नौ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट एक ठूला उद्योग, चार मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त भएका प्रस्तावलाई आवश्यक प्रक्रिया पु¥याएर उद्योग स्थापनाका लागि स्वीकृति दिइसकिएको छ ।

पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत्, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । रु ३६ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै रु १५ अर्ब लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ ।

यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती दुई, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारी र निजी क्षेत्रको साझा प्रयत्नमा विकास निर्माणका योजना अगाडि बढाउन भ्रमणबाट थप बल पुग्ने विश्वास व्यक्त गर्छन् । उनले प्रधानमन्त्रीको भ्रमणपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रने बताए । यस्तै बुटवल पावर कम्पनीको साझेदारीमा करीब एक हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि चिनियाँ लगानी भित्र्याउने तयारीसमेत गरिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।