मौद्रिक नीति समग्रमा लगानीकर्ताहरुको हित अनुकूल (एक विश्लेषण )

Jul 12, 2018 Merolagani

- रामु खनाल,शेयर बजार बिश्लेषक ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालद्वारा आ.ब. २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । सिद्धान्तत मौद्रिक नीति जहिले पनि बजेटलाई सहयोग पुग्नेगरि नै आउने गर्छ अर्थात बजेटको परिपूरकको रूपमा मौद्रिक नीति आउने गर्छ ।

बजेट मार्फत पूँजीबजारमा अन्योलको रूपमा रहेको मुल्य अभिवृद्धि कर ( भ्याट ) को बारेमा नीतिगत रूपमा नै सम्बोधन गरिको थियो ।

त्यस्तै आ .व. २०७५/०७६ को मौद्रिक नीति मार्फत पूँजी बजारका थप अन्य कुराहरुको बारेमा सम्बोधन गरिएको छ । यस पटकको मौद्रिक नीतिले समग्र पूँजीबजारलाई कस्तो प्रभाव पार्ला त एक विश्लेषण ।

पूँजी बजारको विकास एवं विस्तार हुने 

मौद्रिक नीतिको कारणले नै बजार तत्काल बढ्ने र घट्ने दृष्टिकोण बाट हेर्नु भन्दा पनि दीर्घकालीन रूपमा हेर्दा समग्र बजारको विकास एवं विस्तार हुने गरि नै मौद्रिक नीति आएको छ अर्थात समग्रमा लगानीकर्ताहरुको हित अनुकूल हुनेगरी नै आएको देखिन्छ ।

बजारमा अहिले नयाँ नयाँ कम्पनीहरु र शेयर संख्या थपिने क्रम बढ्दो छ । शेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परिरहेको छ । साथै बजारको साँचो भने निश्चित संख्यामा रहेका ब्रोकरहरुको हातमा रहिआएको छ अर्थात बजारमा ब्रोकरहरुको सिन्डिकेट कायम छ । जसको कारण बजारको विकास एवं विस्तारमा प्रतिकूल प्रभाव परेको छ ।

ब्रोकरहरुको सिण्डिकेट तोडिने

आ.व. २०७५/०७६ को मौद्रिक नीति मार्फत बैंकहरुले सहायक कम्पनी मार्फत ब्रोकरको कारोबार गर्न पाउने ब्यवस्थाका कारण बजारमा रहेको ब्रोकरहरुको सिण्डिकेट तोडिने छ । जसको कारण बजारको थप विकास एवं विस्तार भइ समग्र बजारमा सकारात्मक प्रभाव पर्नेछ ।

बैंकहरुले सहायक कम्पनी मार्फत ब्रोकरको कारोबार गर्न पाउने र निकट भबिष्यमा नै अनलाईन ट्रेडिङ्ग मार्फत लगानीकर्ताहरुले कारोबार गर्न पाउने भएका कारण यसलाई शेयर बजारको विकास एवं विस्तारको लागि एक अग्रगामी छलाङ को रूपमा लिनुपर्छ ।

बैंकहरुमा तरलता थपिने

बैंकहरूले लगानी योग्य पूँजीको कृतिम अभाव देखाइ बेला बेलामा शेयर बजारमा चलखेल हुने गर्छ । बैंकमा तरलता अभावको कारण बजारमा नकारात्मक असर पर्छ । तर यस मौद्रिक नीति मार्फत बैंकहरुको सिआरआर ४ प्रतिशतमा झारेको कारण बैंकहरुमा ४८ अर्ब  रूपैयाँ तरलता थपिने छ । जसको कारण बैंकहरुमा लगानी योग्य पूँजीको वृद्धि भइ बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

मार्जिन कलको समस्या केहि हदसम्म सम्बोधन

लगानीकर्ताहरुको अर्को टाउको दुखार्इको बिषय रहेको मार्जिन कलको समस्या पनि केहि हदसम्म यो मौद्रिक नीति मार्फत सम्बोधन भएको छ । मार्जिन कलको समस्या केही हदसम्म सम्बोधन भएता पनि लगानीकर्ताहरुले अपेक्षा गरेको शेयर धितो कर्जा वृद्धिलाई यस मौद्रिक नीतिले समेट्न भने सकेन ।

तर शेयरमूल्य २० प्रतिशत नघटिकन मार्जिन कल गर्न नपाइने ब्यवस्थाका कारण यो अप्रत्यक्ष रूपमा अर्थात घुमाउरो पारामा शेयर धितो कर्जा ५० प्रतिशतबाट ७० प्रतिशत पुर्याइएको जस्तो नै हो । अर्थात यस ब्यवस्थाका कारण शेयरको मुल्याङ्कनमा वृद्धि गरिएको छ ।

शेयरको अंकित मुल्य घटे पनि वास्तविक मुल्य भने बढेको छ । जसको कारण मार्जिन रकम तिर्नको लागि लगानीकर्ताहरुले या त शेयर बिक्रि गर्नुपर्ने वा अन्यत्रबाट रकमको जोहो गर्नुपर्ने झन्झट केही हदसम्म हटेको छ ।

अलि अलि मूल्य घट्यो कि मार्जिन रकम तिर्न कै लागि शेयर बेच्नुपर्ने झन्झट कम भएको छ । जसको कारण मार्जिन रकम तिर्न शेयर बिक्री गर्ने चाप कम हुनेछ । बिक्री चाप कम भइ बजारमा सकारात्मक पर्नेछ ।

बाणिज्य बैंकहरुको शेयर कर्जामा ऋण प्रवाह गर्ने क्षमता बढ्ने 

पहिला बाणिज्य बैंकहरुको पूँजी २ अर्ब रूपैयाँ मात्र थियो । उक्त समयमा प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयरमा ऋण प्रवाह गर्न पाइन्थ्यो । तर अहिले बैंकहरुको पूँजी वृद्धि भर्इ ८ अर्ब  रूपैयाँ पुगेको छ । बैंकहरुको पूँजी वृद्धि गरेको कारण नै प्राथमिक पूँजीको २५ प्रतिशत सम्म शेयरमा ऋण प्रवाह ब्यवस्था गरिएको हो ।

झट्ट हेर्दा बैंकहरुको प्राथमिक पूँजीको शेयरमा ऋण प्रबाह ४० प्रतिशत बाट २५ प्रतिशतमा झारेको जस्तो देखिएता पनि अहिले बैंकहरुको पूँजीको आकार वृद्धि भएको कारण यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ । ऋण प्रबाहको प्रतिशतमा घटेता पनि ऋण प्रवाह हुने समग्र रकम भने घटेको छैन ।

यसले वाणिज्य बैंकहरुको शेयर कर्जामा ऋण प्रवाह गर्ने क्षमता घट्दैन् । बैंकहरुको पूँजीको आकार र जगेडा कोष लगायत बढ्दो क्रममा रहेकाले प्राथमिक पूँजी बढ्दै जानेछ भने बैंकहरुको शेयर कर्जामा ऋण दिने क्षमता पनि बढ्ने छ । 

नयाँ लघुवित्त कम्पनीका नयाँ शेयरहरु नआउने

लघुवित्त खोल्न नयाँ लाइसेन्स नदिने तर मर्जरमा जान प्रोत्साहन गरिने नीतिका कारण बजारमा नयाँ लघुवित्त कम्पनीका शेयर थपिँदैनन् । बजारमा नयाँ लघुवित्त कम्पनीका नयाँ शेयरहरु नआउने हुँदा बिद्यमान लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा कुनै नकारात्मक असर पर्दैन। बजारमा विद्यमान लघुवित्त कम्पनीहरुको मात्र शेयर कारोबार हुने हो ।

दीर्घकालीन  मुल्याङ्कन गर्नुपर्छ 

आ.व. २०७५/०७६ को मौद्रिक नीति मार्फत लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप शेयर धितो कर्जाको सीमा वृद्धि भएन । वर्तमान ५० प्रतिशतको सीमा वृद्धि होस् भन्ने धेरै लगानीकर्ताहरुको चाहना थियो तर यो चाहना केवल चाहना मै मात्र सीमित रह्यो । लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप मौद्रिक नीति मार्फत यसको प्रत्यक्ष रूपमा सम्बोधन गरिएन ।

मौद्रिक नीति कै कारण बजार तत्काल नै घट्ने वा बढ्ने दृष्टिकोणबाट हेर्नुभन्दा पनि आ.व. २०७५/०७६ को मौद्रिक नीतिले समग्र पूँजी बजारलाई दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्ने छ त त्यो आधारबाट मौद्रिक नीतिको मुल्याङ्कन गर्नुपर्छ ।

दीर्घकालीन रूपमा समग्र पूँजी बजारलाई सकारात्मक प्रभाव

बैंकलाई सहायक कम्पनी मार्फत ब्रोकरको काम गर्ने कुरामा सम्बोधन गर्नु , तरलताको समस्या केही हदसम्म सम्बोधन गर्न सिआरआर ४ प्रतिशतमा झार्नु , ब्याजदर ब्यवस्थित गर्न स्प्रेडदर घटाउनु , मार्जिन कलको तनाव कम गर्न शेयरमूल्य २० प्रतिशत नघटि मार्जिन कल नगर्ने ब्यवस्था गर्नु लगायतका विविध ब्यवस्थाको कारणले पूँजी बजारको दीर्घकालीन हित , पूँजी बजारको विकास एवं विस्तारको लागी आ.व.२०७५/०७६ को मौद्रिक नीतिलाई सकारात्मक रूपमा लिनुपर्छ । यो ब्यवस्थाका कारण दीर्घकालीन रूपमा समग्र पूँजी बजारलाई सकारात्मक प्रभाव पार्नेछ ।

फूलको आँखामा फूलै संसार ,काँडाको आँखामा काँडै संसार !

अत: कुनै पनि कुरालाई हेर्ने मुल्याङ्कन गर्ने कुरा भनेको हेर्नेको दृष्टिकोणमा भर पर्ने कुरा हो । कसैले कोही कालो केटा वा काली केटीलाई छ्या कस्तो कालो वा काली भन्ने गर्छन् भने कसैले वा ओ कस्तो हेन्सी काले वा ब्ल्याक  ब्युटी भन्ने गर्छन् । सबको हेर्ने नजरिया फरक फरक हुनेगर्छ । त्यसैले त भनिन्छ फूलको आँखामा फूलै संसार ,काँडाको आँखामा काँडै संसार !

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।