बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको व्याजदर तत्काल घटाउने अवस्थामा बैंकहरु नरहेको बताएका थिए । ब्याजदर घटाउन बैंकसँग पर्याप्त लगानी नभएको तथा बैंकको आन्तरिक खर्चपनि बढेको उनको भनाई थियो । अध्यक्ष ढुंगानाले असोजबाट भने कर्जाको व्याजदर घटाउन सकिने जानकारी गराएका थिए ।
तत्काल ब्याजदर नघट्ने संकेत आएसँगै निरन्तर ओरालो लागेको शेयर बजारमा थप गिरावट आएको हो । बिहीबार नेप्से ६.६९ अंकले घटेर ११८०.६३ अंकमा झरेको छ । १६३ कम्पनीको कारोबार भएको बजारमा करिब २० करोड बराबरको शेयर किनबेच भयो ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड १९ लाख बराबरको शेयर किनबेच हुँदा अन्य कुनै कम्पनीको कारोबार रकम करोड नाघेन । यसदिन कारोबार आएका उत्पादन समूह बाहेक सबै समूहको सूचक नकारात्मक रह्यो । उत्पादन समूहको सूचक २.११ अंकले बढेको छ ।
मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै नौ प्रतिशत बढीले गुमाएको बजारमा सपोर्ट माइक्रो तथा खानिखोला हाइड्रो लगायतको शेयर मूल्य उच्च घट्यो ।
सबैभन्दा धेरै कमाउने आरम्भ माइक्रोफाइनान्स, साल्ट टेड्रिङ, एनएमबि हाईब्रिड फण्ड तथा राष्ट्रिय बीमा संस्थानको संस्थापक शेयरको मूल्य तीन प्रतिशत बढीले उकालो लागेको छ ।