लाभांशको सिजनमा राम्रा कम्पनीको शेयर सस्तोमा किन्ने अवसर, कम्पनी छनौट कसरी गर्ने ?

Aug 19, 2018 Merolagani

शेयर बजारमा सूचीकृत अधिकांश कम्पनीहरुले गतबर्षको प्रगति विवरण सार्वजनिक गरीसकेका छन् । अब कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्ने क्रम सुरु हुन्छ । केही कम्पनीहरुले लाभांश घोषणा मात्र होईन साधारण सभा समेत आह्वान गरिसकेका छन् । यस्तो अवस्थामा शेयर किन्दा ध्यानपूर्याउन जरुरी छ ।

केही महिनादेखि कहिले केही अंक तल त कहिले केही अंक माथि हुँदै शेयरबजार १२ सय अंककै हाराहारीमा घुमिरहेको छ । शेयर बजारमा लाभांशको घोषणाको सिजन सुरु भएकाले लगानीकर्तामा बजार केही बढ्ला भन्ने आशा जगाएको छ ।

गत साताको बजार र कारोबार रकमले पनि यहि संकेत गर्छ । तर लाभांशको सिजनमा जस्ता पायो त्यस्तै जुन पायो त्यही कम्पनीको शेयर खरिद गर्दा प्रतिफल होईन नोक्सान सहुनुपर्ने पनि हुनसक्छ । 

यतिबेला शेयर बजारमा कम्पनीको शेयर मूल्य पनि तुलनात्मक रुपमा सस्तो नै छ ।कुनै वाणिज्य बैंकको शेयर मूल्य हजार माथि छैन । अधिकांस कम्पनीहरुको शेयरमूल्य पाँच सय रुपैयाँ तल नै छ । केही कम्पनीहरुको त आइपिओकै हाराहारीमा नै पाइन थालेको छ । लाभांश घोषणाको मुखमा सस्तो बजारबाट राम्रा कम्पनीहरु छनौट गर्न सकेमा लगानीकर्ताले बजारबाट राम्रो प्रतिफल लिन सक्ने अवस्था समेत देखिन्छ । 

राम्रो लाभांश दिनसक्ने बलिया कम्पनीहरुको शेयर किन्ने अवसर

 बजार न्यून विन्दुमै भएको अवस्थामा लगानीकर्तालाई राम्रो लाभांश दिनसक्ने बलिया कम्पनीहरुको शेयर किन्ने अवसर समेत दिएको छ । तर लगानीकर्ताले कम्पनीको विश्लेषण गर्न भने जरुरी छ । यो समय भने नेप्सेको इन्डेक्स हेरेर भन्दा पनि कम्पनीहरुको वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने समय हो ।

सेयर बजारको घटबढमा सबैभन्दा धेरै प्रभाव पार्ने कुरा माग र आपुर्तिको नियम हो । किन्नेहरु धेरै आएर बेच्नेहरु बजारबाट भाग्दा वा कम सेयर आपुर्ति हुँदा सेयर बजार बढ्छ र बेच्नेहरु ओईरिए र किन्नेहरु कम भए भने सेयर बजार वा कुनै कम्पनीको मूल्य घट्छ । सामान्यतया लाभांशको सिजनमा शेयर माग बढ्ने गरेको छ । यो समयमा शेयर बजारमा नयाँ लगानीकर्ता पनि प्रवेश गर्ने गर्छन् ।

बजारको वृद्धि र गिरावटमा लगानीकर्ताको मनोबल र मनोबिज्ञानले पनि ठूलो भुमिका खेलेको हुन्छ । सबै कुरा सामान्य ढंगले चलेको बेलामा पनि लगानीकर्ताको मनोबल उच्च भईदियो भने खरिद आदेश दिनेहरु बढ्न सक्छन र बजार बढ्नलाई सहयोग पुग्छ । एकाएक कुनै हल्ला सेयर बजारमा चल्यो भने त्यसले पनि बजारलाई छिनको छिनमै तलमाथि गराईदिन्छ । यसकारण कुनै हल्ला भन्दा पनि बजार र कम्पनीहरुको अवस्था विश्लेषण गरेर गरेको लगानी नै कम जोखिमयुक्त हुनसक्छ ।

कम्पनीको वित्तीय अवस्था अध्ययन

सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस्तो अवस्थामा कम्पनीले विगत दुई तीन बर्ष यतादेखि गरेको प्रगतिको अध्ययन गर्ने । उनीहरुको व्यवसायको विस्तार, लाभांश लगायतका तथ्यहरु केलाउने । निरन्तर व्यवसाय, नाफा बढाउँदै लाभांश दिदै आइरहेको कम्पनीहरुले बलिया हुन्छन् । गत बर्ष खुद नाफा र प्रति सेयर आम्दानी बढाउन नसकेर जगेडा कोष रित्तो रहेका वा निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी भएका कम्पनीहरुले लाभांश दिन सक्दैनन् । यस्ता कम्पनीहरुको शेयर किन्नु राम्रो नहुनसक्छ ।

यस्ता कम्पनी राम्रा हुनसक्छन्

सेयर किन्दा अघिल्लो बर्ष भन्दा गत बर्ष खुद नाफा र प्रति सेयर आम्दानी उल्लेखनीय रुपमा बढाएका (प्रति सेयर कम्तिमा २० देखि ३० रुपैयाँ), चुक्ता पूँजी धेरै भएका, जगेडा कोष चुक्ता पूँजीको हाराहारी वा त्यसको आघा कम भए पनि ठीकै छ, निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएका, सेयरको भाऊ समेत कम भएका, मूल्य आम्दानी अनुपात २५ गुणा भन्दा कम भएका, डुबेको ऋण उठाएर र सम्पति बेचेर हैन, ब्याज आम्दानी, संचालन मुनाफा र नियमित कारोबारबाट धेरै कमाएका, पूँजीकोष ११ प्रतिशत भन्दा माथि भएका, बोनस सेयरबाटै पूँजी बृद्धि गर्ने क्षमता राख्ने, अघिल्ला बर्षहरुमा लाभांश बितरणको दर बढाउँदै आएका र गत बर्षको लाभांश पनि बढाएरै दिने संकेत दिएका, संचालकहरु राम्रा र संस्थागत सुशासन भएका, मर्जमा गएर लामो समय सेयर कारोबार रोकिने संभावना नभएका कम्पनीहरुको सेयर किन्नुहोस् । जोखिम बहन क्षमता भएका यस्ता राम्रा र सस्ता कम्पनीहरु सेयर बजारमा थुप्रै छन् ।

कम्पनी छनौट गर्दा के कुरामा ध्यान दिने ?

सबै कम्पनीहरुले गत आर्थिक वर्षको बित्तीय बिबरण प्रकाशित गरिसकेका छन् । त्यस्ता बित्तीय बिबरणहरु अध्ययन गर्नुहोस् र आफुले लगानी गरेको कम्पनीको बारेमा जानकारी हासिल गर्नुहोस् । अघिल्ला बर्षहरुको बित्तीय बिबरणसँग तुलना गर्नुहोस् । यदि अघिल्लो बर्ष भन्दा खुद नाफा बढाएको छैन, निस्क्रिय कर्जा बढेको छ, प्रति सेयर आम्दानी घटेको छ, जगेडा कोष घटेको छ, नाफा बाड्नसक्ने हैसियत छैन भने त्यो सेयर बेचिदिनुहोस् ।

सेयर बजार घटेको बेला नयाँ लगानीकर्ता प्रबेश गर्ने समय पनि हो । लगानीकर्ताले कम्तिमा १२/१५ वटा राम्रा कम्पनी छनौट गरी लगानी गर्न सकेमा जोखि कम हुनसक्छ । समूहगत रुपमा लगानीकर्ताले बजारबाट राम्रा कम्पनीहरु छनौट गर्न सक्नुपर्छ ।

बिगतमा खराब अबस्थामा पुगेर क्रमशः सुधार हुँदै गरेका कम्पनीहरुको सेयर मूल्य तल छ भने त्यस्ता कम्पनीहरुमा पनि थोरै लगानी गरेर राख्दा भबिष्यमा फाईदा हुनसक्छ ।

हकप्रद भन्दा बोनस दिने कम्पनीहरु

सेयर किन्दा हकप्रद भन्दा बोनस दिने कम्पनीहरु छान्नुहोस् । हकप्रद जारी गर्ने भनेको कम्पनीले तपाइँबाट पैसा लिने हो तर बोनस सेयर कम्पनीले तपाइँलाई दिने हो । राम्रा कम्पनीले धेरै बोनस सेयर दिएर र थोरै हकप्रद जारी गरेर वा अरु संस्थालाई किनेर पूँजी बढाउँछन् तर नराम्राले हकप्रदकै सहारा लिने हो । राम्रा कम्पनीको हकप्रद किन्दा फाईदै हुन्छ तर खराब कम्पनीहरुको हकप्रदले खासै लाभ दिदैन त्यसैले हकप्रदको हल्लामा नकुद्ने राम्रो हुन्छ ।

एउटै कम्पनीको सेयर नकिन्नुहोस्

आफुसँग भएको सबै पैसा लगाएर एकैचोटी एउटै कम्पनीको सेयर नकिन्नुहोस् । केही राम्रा कम्पनीहरु छानेर पोर्टफोलियो बनाउनुहोस् र त्यस्ता कम्पनीहरुको सेयर थोरै थोरै किन्नुहोस् । एउटा कम्पनी घाटामा गयो भने पनि अर्को कम्पनीले दिने प्रतिफलले तपाईलाई नाफामा लैजानसक्छ । सेयर किनेर पनि केही पैसा आफुसँग सधै जगेडा राख्नुहोस् । सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने मौका बजारमा जहिले पनि आईरहन्छ ।

नेप्से कतिले घट्यो र बढ्यो भन्ने बेकारको चिन्ता नलिने

नेप्से कतिले घट्यो र बढ्यो भन्ने बेकारको चिन्ता छाडी आफुले कस्ता कम्पनीको सेयर कति मूल्यमा किनिएको छ र त्यसको अबस्थामा कस्तो परिवर्तन भयो भन्ने कुरा ज्यादै महत्वपूर्ण छ । कतिपय बेला सेयर बजारको सूचक नेप्से घटिरहेको बेला पनि तपाइँले किनेको सेयरको भाऊ बढिरहेको हुन्छ र नेप्से बढिरहेको बेला पनि तपाइँको सेयरको भाऊ घटिरहेको पनि हुनसक्छ । शेयर बजार अस्थिर जस्तो देखिएको छ । अब कति घट्ला वा बढ्ला, के गर्ने भन्ने अन्योल सामान्य लगानीकर्तामा देखिनु स्वभाविक हो । तर सामान्य लगानीकर्ता अन्योलग्रस्त हुनु पर्दैन । विवेकपूर्ण निर्णय गर्ने बेला आएको छ ।

राष्ट्रिय अर्थतन्त्र अबस्था बारे अध्ययन

विश्व र राष्ट्रिय अर्थतन्त्रको अवस्था र त्यसमा हुने परिवर्तन, कम्पनीहरुको अबस्थामा परिवर्तन, सेयर बजारमा सूचीकृत कम्पनीहरु र उनीहरुको सेयर संख्या, उनीहरुको सेयर बजारमा सेयर थपिने वा घट्ने कुरा, बजार सुधार तथा बिस्तारका लागि नियमनकारी निकायहरुले चालेका कदम, बैंक तथा बित्तीय संस्थामा तरलताको अबस्था, कर्जाको ब्याज सस्तो वा महंगो हुने कुरा पनि धेरै महत्वपूर्ण हुन्छन् । त्यसले पनि बजारलाई तलमाथि गराउनमा ठूलो भुमिका खेल्छ । कुनै दिन कुनै पनि कारण नहुँदा सेयर बजार तलमाथि भईदिन्छ, यही कारणले हो कसैले भन्न सक्दैन । यी बिषयमा पनि सचेत हुन आवश्यक देखिन्छ ।

दीर्घकालीन तथा लगानी विविधिकरण

शेयर बजारको लगानी जति विविधिकरण गर्न सकियो त्यत्ती नै जोखिम कम हुनेगर्छ । कम्पनीमा विविधिकरण गरी गरिएको लगानी तलुनात्मक रुपमा सुरक्षित हुनसक्छ । सेयर बजारमा गर्ने लगानी धेरै थोरै जोखिमकै कुरा हो, सेयर किनिसकेपछि केही घट्न पनि सक्छ । कम्तिमा तीन बर्षसम्म लगानी थेग्नसक्छु भनेर गरेको लगानी सुरक्षित हुन्छ ।

अफवाहको पछि नकुद्ने

नेपालको सेयर बजार कम्पनीहरुको आधारभुत अबस्था, अर्थतन्त्रको बृद्धि र बिकाससँग भन्दा पनि हल्ला र अफवाहमा बढी आधारित भएर घटबढ हुने गरेको छ । अर्थतन्त्र राम्रो हुँदै गएको बेलामा पनि सेयर बजार बढ्छ नै भन्ने छैन भने अर्थतन्त्रले सबैभन्दा खराब अवस्थाबाट गुज्रेको बेलामा पनि सेयर बजार घट्छ नै भन्ने ग्यारेन्टी पनि कसैले गर्न सक्दैन । कसैको उक्साहटमा लाग्दै नलाग्नुहोस, हल्लाले डुवाएका धेरै लगानीकर्ताहरु छन, आफैँले तथ्य बिश्लेषण गरेर सेयर किनबेच गर्नुहोस् ।

शेयर बजारमा सुरक्षित लगानी गर्नेहरुको दिन सुनौलो छ । तर असुरक्षित लगानी गरिए बर्षौसम्म पछुताएर बस्नुपर्ने कुरामा पनि उत्तिकै ध्यान दिनु आबश्यक देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।