बजारको वृद्धि यसकारण टिक्न सकेन, फेरि १२ सय अंक मुनी झर्यो नेप्से

Aug 19, 2018 Merolagani

गएको साताको पछिल्लो चार दिन लगातार बढेको शेयर बजारमा यो साताको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ । कारोबारमा आएका सबै समूह राताम्मे बनेपछि नेप्से सूचक फेरि १२ सय अंक मुनी झरेको छ ।

निरन्तर घटेर लगानीकर्तालाई निराश बनाएको बजारमा फेरिपनि नाफा सुरक्षित गर्ने होडबाजी चल्दा बजारले नकारात्मक बाटो समातेको छ । गएको साता बजार बढ्नु भन्दा पहिला शेयर खरिद गर्नेहरुले नाफा सुरक्षित गर्दा बजार घटेको आंकलन गरिएको छ । जसले गर्दा कारोबार समेत केही घटेको छ ।

गत साताको आइतबार बाहेक चारै दिन शेयर बजार बढेको थियो । चार दिनको बीचमा नेप्से ४६.३८ अंकले उकालो लागेको थियो । अस्थिर बजारमा सामान्य नाफा आएको अवस्थामा अल्पकालीन कारोबार गर्नेहरु नाफा सुरक्षित गर्न हतारिने गरेका छन् । यसले गर्दा बिक्री चाप पर्दा बजार खस्कने गरेको छ । 

गत बर्षको वित्तीय विवरण सार्वजनिक भईसकेको र लाभांश घोषणा गर्ने क्रम चल्दै गर्दा कम्पनीलेहरुले बोनश भन्दा पनि नगदमा जोड दिएपछि लगानीकर्ताहरु बजारप्रति त्यत्ती आशावादी हुन सकेका छैनन् । अर्कातर्फ चुक्ता पूँजी पुगेको अवस्थामा नयाँ मोडलमा वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुले दिने लाभांश के कस्तो हुने भन्ने दुविधा पनि लगानीकर्तामा रहेको छ ।

बजार खुलेदेखि नै घट्न थालेको नेप्से आइतबार १४.०३ अंकले घटेर ११९६.२९ अंकमा आईपुगेको छ । कूल १६० कम्पनीका कारोबार भएको बजारमा ३२ करोड ५२ लाख बराबरको कारोबार भयो । कारोबार रकम गत विहीबारको तुलनामा १३ करोड कम हो ।

यसदिन कारोबारमा आएका सबै समूहका सूचक राताम्मे रहे । सबैभन्दा धेरै ग्रामिण विकास बैंकको ३ करोड ४५ लाख बराबरको कारोबार भयो । बैंकले ५० प्रतिशत हकप्रद प्रस्ताव गरेपछि शेयर मूल्य घटेर कारोबार बढ्न थालेको छ ।

 

यसदिन सबैभन्दा धेरै खानीखोला हाइड्रोका लगानीकर्ताले पाँच प्रतिशत बढी कमाए । नगबेली लघुवित्त, आर्इसिएफसी फाइनान्स, शाईन रेसुङ्गा तथा लुम्बिनी विकास लगायतको शेयरमूल्य धेरै घटेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।