शेयर बजारमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न थालेपछि विस्तारै शेयर बजारको चमक फर्कन थालेको हो ।
बजार तल्लो विन्दुमै छँदा लाभांशको लागि बजार प्रवेश गर्ने लगानीकर्ता बढेका छन् भने केही म्युचुअल फण्डहरुले समेत लगानी विस्तार गर्दै लगेका छन् । यसले शेयर कारोबारमा समेत बढोत्तरी ल्याएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुकोसँगको भेटमा शेयर बजारमा देखिएको पूँजीगत लाभकरको दुविधा अन्त्य गर्ने घोषणा, अन्य क्षेत्रमा पनि अनावश्यक कर नलगाउने प्रतिबद्धता लगायतले बजारलाई बढ्न टेवा पुर्याएको देखिन्छ ।
त्यस्तै लगानीकर्ताहरुको सँगको भेटमै बैर्कस संघले सस्तो ब्याजदरमा मार्जिन कर्जा उपलब्ध गराउनुका साथै असोज लागेपछि ब्याजदर समेत घट्ने आश्वासन दिएपछि लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ ।
केही साना बैंकहरुले राष्ट्र बैंकले तोकिएको पूँजी पुर्याएको अवस्थामा बोनस सँगै नगद लाभांश घोषणा गरेकाले पनि लगानीकर्तामा बोनस लाभांश आउँदैन भन्ने भ्रम घट्न गएको देखिन्छ । यसले गर्दा बजारमा वाणिज्य बैंकहरुका शेयरमा लगानीकर्ताको बढी आर्कषण देखिएको छ ।
बैंकिङ्गले बढायो नेप्से, उछाल अाएर ७० करोडको कारोबार हुँदा अरु के-के भयो ?
जसले गर्दा बुधबार २३ अंकले बजार बढ्दा वाणिज्य बैंक समूहको उप-सूचक नै २२ अंकले बढेको छ । त्यस्तै कुल ७० करोड बढीको कारोबार हुँदा ४३ करोड बढीको कारोबार यही समूहमा भएको छ । साथै शेयर संख्या र रकमका हिसाबले पनि धेरै कारोबार हुने उत्कृष्ट दश कम्पनीहरुमा वाणिज्य बैंकहरु नै देखापरेका छन् ।
बुधबारको बजारमा सबैभन्दा धेरै २ लाख १४ हजार ७३० कित्ता शेयर कुमारी बैंकको कारोबार भएको छ । कारोबार रकमका हिसाबले पनि कुमारी बैंकले सबैलाई उछिनेको छ ।
कुमारीको ४ करोड ९० लाख बराबरको कारोबार भयो । यसपछि शेयर संख्याका हिसाबले उच्च कारोबार हुने बैंकहरुमा क्रमश एनएमबि, जनता, मेगा, नेपाल, एनआईसिए, एनसीसीबी, प्रभु, सिद्धार्थ र माछापुच्छ्रे बैंक रहेका छन् ।
कारोबार रकमका हिसाबमा पनि कुमारी बैंकले अग्रता लिएको छ । यो बैंकको चार करोड ९० लाख बराबरको शेयर किनबेच भयो ।
यसपछि उच्च कारोबार गर्नेमा एनएमबि बैंक रहेको छ । एनएमबिको ४ करोड ५१ लाख बराबरको शेयर किनबेच भयो । एनआईसिए, नेपाल, सिद्धार्थ, जनता, एनसीसीबि, प्राइम र मेगा पनि दश उच्च कारोबार हुने कम्पनीमा परेका छ्न् । नेपाल लाइफ समेत उच्च कारोबार हुने दश कम्पनीमा अटाएको छ ।
बुधबार नेप्से २३.८९ अंकले बढेर १२३४.१३ विन्दुमा आइपुगेको छ । कुल १६७ कम्पनीको ७० करोड ८० लाख बराबरको २३ लाख ७२ हजार ३६३ कित्ता सेयर किनबेच भयो ।