मसान्तकै दिन यस कारण चम्कियो शेयर बजार, दोहोरो अंकले बढ्दा ९१ करोडको कारोबार

Sep 16, 2018 Merolagani

वाणिज्य बैंक समूहमा लगानीकर्ता झुम्मिदाँ शेयर बजारमा एकैदिन ९१ करोड बढीको शेयर किनबेच भएको छ भने नेप्सेमा समेत दोहोरो अंकको सुधार आएको छ । लाभांश घोषणा गर्नेक्रम चलिरहँदा बजारमा नयाँ तथा ठूला लगानीकर्ता सक्रिय हुन थालेपछि शेयर बजारको चमक फर्किएको हो ।

आइतबार नेप्से ११.६९ अंकले बढेर १२५६.५३ अंकमा पुगेको छ । बजार खुलेदेखि नै निरन्तर बढेको नेप्से २५ अंक माथिसम्म पुगेको थियो । त्यसपछि केही करेक्सन भएर बजार बन्द हुने समयसम्म आइपुग्दा ११ अंक माथि पुगेको हो ।

आइतबार नेप्से दोहोरो अंकले बढ्दा सबै समुहका परिसूचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४८ अंकले बढेको छ । पछिल्लो समय लगातार उकालो लागेको बैंकिङ्ग समुहको परिसुचक आइतबार पनि १३ दशमलव ७१ अंकले बढ्न पुगेको छ । यसदिन वाणिज्य बैंक समूहको मात्रै झण्डै ६२ करोड बराबरको कारोबार भएको छ । 

निरन्तर बजार बढ्दै जादा लगानीकर्तामा मार्जिन कलको त्रास कम हुँदै गएको देखिन्छ भने बैंकहरुले शेयर कर्जाका आर्कषक विज्ञापनहरु गर्दे यस क्षेत्रमा कर्जा बढाउने संकेत गरेकाले पनि बैकिङ्ग समूहमा सुधार देखिएको छ ।

असोज लागेपछि बैंकको ब्याजदर घट्ने आशा पनि लगानीकर्तामा छ । बैंकरहरुले यसअघि नै असोज लागेपछि कर्जाको ब्याजदर घट्ने संकेत गरेका थिए ।

आइतबार लामो समययता कारोबार रकम बढेर ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । दिनभर १६६ कम्पनीको ३० लाख ७० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा सबैभन्दा बढी एनएमबि बैंकको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

कारोबार रकम र नेप्से सूचक दुबैमा लगातार सुधार भइरहँदा लगानीकर्ता थप उत्साहित देखिएका छन् । दैनिक औसत २० करोडमा खुम्चिएको कारोबार रकम झन्डै एक अर्ब नजिक पुगेको छ ।

यसले आगामी दिनमा लगानीकर्ता बजारप्रति थप आशावादी बनेको देखिन्छ । बजारले बुलिस ट्रेण्ड समात्दै गर्दा नयाँ र ठूला लगानीकर्ता बजार प्रवेश गरेको संकेत समेत देखिएको छ । लाभांशको सिजन सुरु भएकाले पनि नयाँ लगानीकर्ता बजार प्रवेश गर्नुका साथै संस्थागत र नियमित लगानीकर्ताले समेत लगानी बढाएको देखिन्छ ।

 

आइतबारको बजारमा भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । नेरुडे लघुवित्तको मूल्य ६.७२ प्रतिशतले बढ्यो भने मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६४ प्रतिशतले वृद्धि भयो ।

३५ कम्पनीको शेयरमूल्य घटेको बजारमा एक्सेल डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सी होटलको मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यी दुवै बैंकको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।