धितोपत्र बोर्डका अनुसार थप २० स्थानमा नयाँ शाखा कार्यालय (आरडब्लुएस) विस्तारको लागि १३ ब्रोकर कम्पनीले निवेदन दिएका छन् । अधिकांश कम्पनीले वैशाख अगाडि नै बोर्डमा शाखा विस्तारको माग गर्दै आवेदन गरेका थिए ।
दाङ्गको तुलसिपुर, जनकपुर, दमक, विरेन्द्रनगर, भक्तपुर, भैरहवा, पोखरा, टाँडी, कावासोती, भरतपुर, विराटनगर, विरगञ्ज, वुटवल, धरान, विर्तामोड, महेन्द्रनगर, हेटौंडा, चितवन, स्याङजा र चरिकोटमा शाखा (आरडब्लुएस) कार्यालयको सञ्चालनको लागि १३ ब्रोकर कम्पनीहरुले बोर्डसँग माग गरेका छन् ।
नयाँ शाखा कार्यालयको स्थापनको लागि एक ब्रोकर कम्पनीले एक भन्दा धेरै स्थानमा शाखा विस्तारको समेत माग गर्दै आवेदन गरेका छन्। तर धितोपत्र बोर्डले भने थप ब्रोकर शाखा विस्तारको लागि स्वीकृति प्रदान गर्न आलटाल गर्दै आएको छ ।
बोर्डका प्रवक्ता निरज गिरीका अनुसार धितोपत्र बोर्डमा नयाँ आरडब्लुएस विस्तारको माग गरिएको भएपनि यस बिषयमा कुनै छलफल भएको छैन । आरडब्लुएस स्वीकृत गर्ने वा नगर्ने विषयमा बोर्डमा छलफल नभई केहि भन्न नमिल्ने प्रवक्ता गिरीले बताए ।
शेयर बजारलाई छोएन संघियताले ,कर्णाली प्रदेश पहुँच बाहिर हुँदा अन्यमा के छ अवस्था ?
हाल सञ्चालनमा रहेका ५० मध्ये ४३ ब्रोकर कम्पनीले उपत्यका बाहिर ४३ स्थानमा (आरडब्लुएस) मार्फत सेयर कारोबार गराउँदै आएका छन् ।
यता ब्रोकरहरु भने शाखा कार्यालय विस्तार गर्न आफूहरु तयार रहेको बताउँछन् । शाखा विस्तारको माग गर्दै बोर्डमा आवेदन गरेका अनलाईन सक्युरिटीजका अध्यक्ष दिनेश शर्माले धितोपत्र बोर्डले अनुमति नदिँदा शाखा विस्तार हुन नसकेको बताए ।
त्यस्तै भिजन सेक्युरिटीजका प्रबन्ध निर्देशक राजकुमार तिमिल्सीना शाखा खोल्न मापदण्ड पुर्याएका इच्छुक ब्रोकरहरुलाई तत्काल अनुमति दिनुपर्ने बताउँछन् ।
नेप्सेले पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिरहेकाले बोर्डले ब्रोकर शाखा विस्तारको अनुमति नदिएको हुनसक्ने ब्रोकरहरुको बुझाई छ । ब्रोकर कम्पनीहरुको कार्य क्षेत्र विस्तारले सेयर बजारको पहुँच भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई सेयर बजारमा भित्राउन सहयोग पुग्ने उनीहरुको भनाई छ ।
नेपाल राष्ट्र बैंकले मौद्रीक नीति मार्फत वाणिज्य बैंकहरुले नयाँ छुट्टै कम्पनी खोलेर ब्रोकेजको सुविधा दिन सक्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म कुनै वाणिज्य बैंकहरुले ब्रोकेज सेवा सञ्चालनकै लागि भनेर नयाँ कम्पनी खोलेका छैनन् ।
बैंकहरुले ब्रोकर सेवा सञ्चालन गर्ने पहल कदमी नचालिरहेको अवस्थामा ब्रोकर शाखा विस्तार रोकिनुले पूँजी बजार विस्तारको काममा अवरोध पुगेको देखिन्छ ।