बजार बुलिस भएकै हो त ? साना ठूला लगानीकर्ता सबै सक्रिय

Sep 17, 2018 Merolagani

केहि दिनदेखि निरन्तर उकालो लाग्न थालेको सेयर बजारप्रति लगानीकर्ता आशावादी बन्न थालेका छन् । निरन्तर घटेर नोक्सानी व्यहोर्दै आएका लगानीकर्ता बजार वृद्धिले राहत महसुस गरिरहेका छन् । अहिले लगानीकर्तामा देखिएको याे उत्साहले पनि बजारलाई बढाउन टेवा पुर्याइरहेको छ ।

एनआईसी एशिया बैंकको सेयर मूल्य एकाएक एक सय रुपैयाँभन्दा बढीले उकालो लागेर ४ सय रुपैयाँ नाघेपछि बजार एकाएक सुधारको बाटोमा होमिएको थियो । 

चार गुणा पूँजी वृद्दि गरेर पनि बैंकहरूले गत अार्थिक बर्षमा राम्रै नाफा अार्जन गरे । आक्रमक रुपमा बजार विस्तारमा लागेको बैंकको कमाई बजारले अपेक्षा गरेभन्दा बढी आउने आशामा केही लगानीकर्ता अहिले त्यस्ता बैंकमा हाेमिएका छन् । त्यसपछि एनएमबि, प्राइम हुँदै सबै बैंकहरुको सेयर मूल्यमा राम्रो सुधार हुन थाल्दा अरु वाणिज्य बैंकहरूको सेयर मूल्य पनि निरन्तर सकारात्मक बनिरहेको छ ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याएपछि बोनस नभई नगद लाभांस मात्र पाइने डरले कतिपय लगानीकर्ता लगानी गर्न पछि हटिरहेका थिए । तर धेरैजसो कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा बढाएर बोनस तथा लाभांश प्रस्ताव गर्ने क्रम बढ्दै गएको छ । यसले पनि लगानीकर्तामा सकरात्मक सन्देश प्रवाह गराई रहेको छ ।

बैंकहरु पनि अहिलेकै अवस्थामा बस्छन् भन्ने अवस्थालाई लगानीकर्ताले आत्मसाथ गर्नु उचित नहुन सक्छ । अर्थात आफ्नो आकार बढाउँदै त्यसै अनुसार व्यवसाय विस्तारमा बैंकहरु अघि बढ्न तल्लिन रहेको पछिल्ला दिनमा बैंकहरुको कृयाकलापले देखाई रहेको छ ।

एकै पटक धेरै पूँजी बढाएका कारण कुनै बैंकले यो वर्ष आकर्षक लाभांश वितरण गर्न नसक्लान कि भन्ने मात्र हो। अन्यथा सबै बैंकहरु पूँजी वृद्धिलाई निरन्तरता दिने पक्षमा देखिन्छन्। यसले लगानीकर्ता हतास हुनुपर्ने अवस्था देखिन्न।

यसका साथै बैंकहरुको व्यवसाय तथा कमाई हरेक वर्ष फराकिलो अन्तरले बढि रहेको छ । यदि आजको अवस्थामा बैंकहरुको कमाई तथा लाभांश क्षमता विगत वर्षको तुलनामा घटेको हुन्थ्यो भने बल्ल लगानीकर्ता संकुचित हुनुपर्ने अवस्था बन्थ्यो । तर यो अवस्था अहिले कुनै पनि बैंकहरुमा देखिएको छैन । धेरै वा थोरै बढ्ने कुरा अलग विषय हो ।

अन्य मुलुकको दाँजोमा नेपालका बैंकहरुको आकार सानो भएको विषय बैंकहरुबाट नै उठ्नुले पनि बैंकहरु अझै आकार बढाउन तल्लिन रहेको कुरालाई नकार्न सकिन्न । किनकी केही दिन अघि मात्र ८० प्रतिशत चिनियाँ लगानीमा सञ्चालित शिवम् सिमेन्टलाई उद्योग सञ्चालनका लागि ७ वटा बैंक मिलेर कर्जा प्रवाह गर्नु परेको अवस्था सबैका सामू छ ।

यसले नेपाली बैंकको अहिलेको आकार अझै बढ्नुपर्ने आवश्यक्तालाई औंल्याएको छ । बैंकहरुले पनि आफ्नो आकार बढ्दाको महत्वलाई बुझेका छन् । यो अवस्थामा बैंकहरुको लाभांश योजनाप्रति लगानीकर्ता नकारात्मक बन्नुपर्ने अवस्था देखिन्न ।

बीमा कम्पनीहरुमा पनि एकाध बाहेकले बीमा समितिको पूँजी योजना अनुसार पूँजी जुटाएका छैनन् । धेरै बीमा कम्पनीहरुले व्यवसायको आकार बढाउँदै गर्दा कमाई पनि वर्षेनी बढाउँदै लगिरहेका छन् । यस क्रममा बीमा कम्पनीहरुले पूँजी विस्तारका लागि बोनसलाई प्राथमिकतामा राख्न सक्ने अवस्था पनि देखिन्छ ।

एकाध बाहेकलाई बोनस बितरण गरेर पूँजी बढाउन समस्या नपर्ने अवस्थामा हकप्रदलाई बढी प्राथमिकतामा नराखिदिए हुन्थ्यो भन्ने आशा लगानीकर्तामा जाग्नु स्वभाविक हो । कतिपयले पूँजी योजना अनुसार पूँजी वृद्धिको काम तिब्र बनाई रहेका छन् ।

बीमा कम्पनीहरुको वित्तीय विबरणको लेखापरीक्षणको क्रम पनि चलिरहेको छ । बैंकहरुमा जस्तै बीमा कम्पनीले पनि वर्षे आफ्नो कमाई बढाउँदै लगेका छन् । यसबाट पनि लगानीकर्तामा सकरात्मक सन्देश प्रवाह भैरहेको छ ।

अघिल्लो सातासम्म पनि सेयर बेच्ने कुरा गर्दै हिड्नेहरु अहिले कम्पनी छनौट गर्दै धमाधम सेयर किनिरहेका छन् । बजारमा संलग्न धेरै लगानीकर्ताहरु अहिले सक्रिय बनेका कारण नै कारोबारीहरुले गर्ने खेलो पनि बन्द हुन पुगेको छ ।

एक दिन बढ्ने अनि अरु २ दिन घट्ने अवस्थालाई मौका बनाउनेहरु पनि अहिले सस्तो मूल्यमा सेयर बेचेर फेरी त्यही सेयर महङ्गोमा किनिरहेका छन् ।

यसले एकै पटक बजारमा सेयरको बिक्री चाप आउने क्रम रोकिएको छ । साथै बैंकमा निक्षेप जम्मा गरेर बसेका सामूहिक लगानी कोषहरु पनि विस्तारै बजार प्रवेश गरिरहेका छन् । एकै पटक ठूलो रकम यस्ता कोषहरुबाट नभित्रिए पनि त्यो क्रमिक रुपमा आउने अवस्थालाई अहिलेको बजारको गतिले चित्रित गरेको छ । केहि दिन भित्रमा आउने सामूहिक लगानी कोषहरुको मासिक वित्तीय विबरणले पनि यसलाई पुष्टि गर्नेछ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिन अब धेरै समय छैन । सूचीकृत कम्पनीहरुले विगत वर्षहरुमा जस्तै यस पटक पनि पहिलो त्रैमासमा प्रगति गरेको वित्तीय विबरण निकाल्ने निश्चित छ । एकाध कम्पनीहरु विभिन्न कारणले स्थिर अवस्थामा रहे पनि कमजोर अवस्था कसैले देखाउने सम्भावना देखिन्न ।

गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा हुँदै गर्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पस्किने आश लाग्दो वित्तीय विबरणले पनि लगानीकर्तालाई थप उत्साहित बनाउने छ ।

अहिले सबैले समस्याका रुपमा हेरिरहेको व्याजदरका सम्बन्धमा पनि सकरात्मक खबरहरु बाहिरिने समय आएको बैंकहरुले नै बताउन थालेका छन् । पहिलो त्रैमासदेखि व्याजदर घट्ने भनाईहरु बैंकका प्रमुख कार्यकारीहरुले सार्वजनिक गर्दै गर्दा राष्ट्र बैंकले व्याजदर घटाउन त्रैमास पर्खिनु नपर्ने व्यवस्था गरेको छ ।

यसले पनि बैंकहरुमा रहेको तरलताको आधारमा व्याजदर घटाउनमा बैंकहरुका बीचमा प्रतिस्पर्धा हुने निश्चित छ । व्याजदर घट्न थालेपछि सेयर बजारका लगानीकर्ता मात्र नभई अर्थतन्त्रका सबै पक्षलाई ठूलो राहत पुग्नेछ भने समग्र क्षेत्रको लागत बढ्ने क्रम रोकिँदा त्यसको असर पूँजी बजारमा पनि पर्नेछ ।

मार्जिन कलबाट आजित भएकाहरु पनि अहिले राहत पाउने अवस्थामा पुग्ने आशमा छन् । सबै सूचकहरु सकारात्मक बन्दै गर्दा सेयरको बिक्री चापभन्दा माग बढेको कुरालाई पछिल्ला दिनको कारोबार रकमले पनि पुष्टि गर्छ ।

यसरी सबै विषय अनुकुल बन्दै गईरहेको छ । यस्तो बेला धेरै कमाउने लोभभन्दा पनि बजारको अवस्था अनुसार कमाईको सम्भावित आंकलन गरेर लगानीको योजना बनाउन उत्तम हुन्छ ।

बजार घटेर तल्लो बिन्दुमा पुगेपछि धेरै नोक्सान भयो भनेर सेयर बेच्ने अनि बजार बढेर माथिल्लो बिन्दुमा पुगेपछि सेयर किन्ने काम नगर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने अहिले बजारले तपाईलाई राम्रो अवसर दिएको छ ।

आफ्नो वित्तीय अवस्था अनुसार लगानीको योजना बनाएर विस्तारै लगानी बढाउँदै जाने हो भने त्यसलाई अवसरमा रुपान्तरण गर्न सकिन्छ । तर लगानी योजनाको मुख्य आधार भने तपाईले अध्ययनलाई बनाउनैपर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।