सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी विश्वव्यापी चासो

Sep 18, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा सरोकारवाला सबैले सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी विश्वव्यापी चासोको विषय भएको बताएका छन्।अन्तक्रियामा कसले के भने हेर्नुहोस्:-

धितोपत्र व्यवसायीहरु इमान्दार र सतर्क भए सम्पत्ति शुद्धीकरण शुरुवात चरणमै निरुत्साहित हुन्छ : राजश्व सचिव ढुंगाना

राजश्व सचिव शिशिर कुमार ढुंगानाले धितोपत्र व्यवसायीहरु विशेष इमान्दार र सतर्क हुनसके सम्पत्ति शुद्धीकरण शुरुवात चरणमै निरुत्साहित हुने बताएका छन् । धितोपत्र बोर्डले आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा उनले सो बताएका हुन् ।

सचिव ढुंगानाले सम्पत्ति शुद्धीकरणको मुद्धा सरकारको मात्र वा नियमनकारी निकाय वा वित्तीय प्रणालीका सहभागीहरुको मात्र नभएर सर्वसाधारण समेतको चिन्ता र चासोको विषय भएको बताउँंदै धितोपत्र व्यवसायीहरु कारोबारको प्रवेश बिन्दु भएकाले उनीहरु इमान्दार र सतर्क हुनुपर्ने बताए ।

ढुंगानाले सन् २०२० सम्ममा सम्पत्ति शुद्धीकरणका विश्वव्यापी मापदण्डहरुमा नेपालको मूल्याङ्कन हुने हुँदा सोका लागि सबैपक्ष गम्भीर भई हातेमालो गर्न जरुरी रहेको उल्लेख गरे ।

वित्तीय प्रणाली सुरक्षित नहुँदा प्रणालीमा संलग्न सबैपक्ष र आम जनजीवन समेत प्रभावित हुने बताउँदै सुदृढ अर्थतन्त्रका लागि वित्तीय प्रणालीको दीर्घकालीन स्वस्थता आवश्यक रहने उनको भनाई थियो

ग्राहकको जोखिम मूल्याङ्कनमा व्यवसायीहरु गम्भीर हुनुपर्छ : हरि नेपाल

सम्पत्ति शुद्धीकरण इकाईका प्रमुख हरि नेपालले धितोपत्र व्यवसायीहरु ग्राहकको जोखिम मूल्याङ्कनमा व्यवसायीहरु गम्भीर हुनुपर्ने बताएका छन् । उनले धितोपत्र व्यवसायीहरुले अहिले पनि ग्राहक पहिचान विवरणमा उल्लेख गरिएको पेशा र ग्राहकको कारोबार बीच तादाम्य रहे नरहेको हेर्ने नगरेको बताए ।

नेपालमा सम्पत्ति शुद्धीकरण निवारण र धितोपत्र व्यवसायीको भूमिका तथा अभ्यास विषयमा कार्यपत्र पेश गरेको नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारणमा विगतका प्रयासहरु सकारात्मक रहेपनि पर्याप्त नभएको उल्लेख गरे ।

सम्पत्ति शुद्धीकरण निवारणको मुद्धालाई सबैले अपनत्व लिई जिम्मेवार बन्नुपर्ने तथा बोर्डले सम्पत्ति शुद्धीकरण सम्बन्धमा बजार सुपरीवेक्षणलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने कुरा बताए ।

 

बजार सुपरीवेक्षण कार्यलाई अझ परिणाममुखी बनाउँछौं : बोर्ड अध्यक्ष कार्की

कार्यक्रमका सभापती एवं बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले सम्पत्ति शुद्धीकरणलाई प्रभावकारी बनाउन आगामी दिनमा बोर्डले बजार सुपरीेवेक्षण कार्यलाई अझ परिणाममुखी बनाउँदै लैजाने बताए ।

कार्कीले सम्पत्ति शुद्धीकरण निवारणलाई बोर्डले विशेष जोड दिँंदै आएको र विगतमा यसै मुद्धामा व्यवसायीहरुलाई कारवाही समेत गरेको बताए ।

तोकिएको समयमा गर्नुपर्ने काम सो समयमा हुन नसकेमा त्यसले ल्याउने जोखिम समय बितेपश्चात न्यूनीकरण गर्न नसकिने कार्कीको भनाई रहेको थियो ।

 

वित्तीय प्रणालीमा आबद्ध सबै पक्षहरुबीच सहकार्य हुनुपर्छ : परिष्टनाथ पौड्याल

अन्तक्रिया कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले सबल वित्तीय प्रणालीको विश्वसनीयतामा सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय प्रणालीमा आवद्ध सबै पक्षहरुबीच सहकार्य हुनुपर्ने बताएका थिए ।

उनले पछिल्लो समय सम्पत्ति शुद्धीकरण निवारणको विषय सरकार र समग्र वित्तीय प्रणालीको चासोको विषय बन्न पुगेको उल्लेख गरे ।

शंकास्पद कारोबारको रिपोर्टिङ्ग कमजोर : रामु पौडेल

नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईका प्रमुख एवं निर्देशक रामु पौडेलले सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी विश्वव्यापी चासो भएको बताउँदै गत आ.व.मा दुईवटा मात्र शंकास्पद कारोवारको रिपोर्टिङ्ग आउनुले धितोपत्र बजारमा शंकास्पद कारोवारको रिपोर्टिङ्ग कमजोर रहेको बताए ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीहरुले वित्तीय जानकारी इकाईमा गर्नुपर्ने सूचना प्रवाह सम्बन्धी व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका पौडेलले विश्वमा वार्षिक रुपमा जिडिपिको २–५ प्रतिशत सम्पत्ति शुद्धीकरण भएको आइएमएफको तथ्याङ्क रहेको उल्लेख गरे ।

पौडेलले धितोपत्र व्यवसायीहरुले ग्राहकको जोखिम आफूले लिन नहुने भन्दै ग्राहकको जोखिम मूल्यांकनमा विशेष चनाखो र जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कानून कार्यान्वयनको अवस्थामा: मुक्तिनाथ श्रेष्ठ

अन्तरक्रियामा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बोर्डको भूमिका विषयमा कार्यपत्र पेश गरेका बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले गत आर्थिक वर्षमा व्यवसायीक स्तरको पालना नगरेका धितोपत्र दलाल व्यवसायीलाई ७५ हजार रुपैयाँ जरिवाना र ग्राहक पहिचान विवरणको स्पष्ट अभिलेख नराखेका दुई धितोपत्र दलाल व्यवसायीका कार्यकारी प्रमुखलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

निर्देशक श्रेष्ठले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलपामा वित्तीय लगानी सम्बन्धी कसूर, धितोपत्र बजारमा शंकास्पद कारोबारको पहिचान, अभिलेख, रिपोर्टिङ्ग सम्बन्धि विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

धितोपत्र तथा वस्तु विनिमय बजारमा सम्पत्ति शुद्धीकरण निवारणमा भईरहेका नीतिगत व्यवस्थाहरुको सुधार र प्रचलित अभ्यासको जानकारी दिँदै धितोपत्र व्यवसायीको भूमिकाका सम्बन्धमा स्पष्ट पार्नु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले जलविद्युतको शेयरमा गरिने लगानीको श्रोतको अभिलेख, लगानी व्यवस्थापनमा हुने रकम लगानीमा श्रोतको अभिलेख, शंकास्पद कारोबार रिपोर्टिङ्ग र सो को समयावधि, जोखिम मूल्याङ्कन गर्ने तरिका लगायतका विषयहरुमा जिज्ञासा राखेका थिए ।

साथै ग्राहकको जोखिम मूल्याङ्कन सम्बन्धमा अर्थ मन्त्रालय र बोर्डले समन्वयात्मक रुपमा तालिम, गोष्ठीको आयोजना गर्नुपर्ने माग सहभागिहरुको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।