आँखु खोला हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार असोज २५ गते बिहीबारसम्म साढे ६१ हजार आवेदकबाट करिब ४४ करोड रुपैयाँ बराबरको साधारण शेयर माग भएको छ । यो कम्पनीले माग गरेको भन्दा करिब साढे तीन गुणा बढी हो ।
आँखु खोलाले कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । बिहीबारसम्ममा सर्वसाधारणबाट ४४ लाख कित्ताकाे माग भैसकेकाे छ ।
इच्छुक आवेदकले शुक्रबार कार्यालय समयभित्र धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आर्इपिओमा आवेदन गर्न सक्नेछन् । मेराे शेयर प्रयाेगकर्ताले घरमै बसेर अावेदन गर्न सक्नेछन् ।
यस आर्इपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।
आयोजनाको कूल लागत २४२.७३ करोड रहेको छ । जसको प्रतिमेगावाट लागत २८.८९ करोड रहेको छ । आयोजनाले साधारण लगानी फिर्ता हुने समयवधि करिब ९ बर्ष राखेको छ ।
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीमा एक हजार १४९ जना संस्थापक शेयरधनीको ७५ प्रतिशत लगानी रहेका छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले भविष्यमा अन्य आयोजना बनाउने उदेश्य राखेको छ भने सिङ्गटी साना जलविद्युत आयोजनामा ६५ हजार कित्ता अर्थात ६५ लाख रुपैयाँ लगानी गरेको छ । आर्थिक सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट यो आयोजना आकर्षक देखिएकोले आयोजनामा लगानी गरेको कम्पनीले जनाएको छ ।