ओपेकको नोभेम्बर महिनाको रिपोर्टले सन् २०१९ मा विश्वभरी तेलको माग उत्पादनको तुलनामा घट्न सक्ने प्रक्षेपण गरेको छ ।
ओपकको प्रक्षेपण लगत्तै विश्वमा कच्चा तेलको उत्पादन बढ्ने तर माग नबढ्ने भयले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ७ प्रतिशतले गिरावट आएको छ ।
बुधबार प्रति ब्यारेल अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६५.४७ सेन्ट डलर पुगेको छ । यस अघि विश्व बजारमा कच्चा तेलको मूल्य ८० डलरको हाराहारी पुगेको थियो । कच्चा तेलको ओरालो लाग्ने क्रम तत्कालै रोकिन नसक्ने अन्तराष्टिय सञ्चार संस्थाहरुले जनाएका छन् ।
मूल्य घट्नुको कारण
कच्चा तेलको मूल्य घट्नुको एउटा कारण ओपेकको नयाँ रिपोर्ट भएको बताईए पनि अर्को प्रमुख कारण विश्व राजनीति पनि रहेको विश्लेषण गरिएको छ ।
पछिल्लो समय जर्मनी, जापान र चीनसंग अमेरिकाको व्यापार सम्बन्ध सुमधुर छैन् । व्यापारिक युद्धका कारण अमेरिकाको अर्थतन्त्र कमजोर तर स्थीर छ । जसको दबाब विश्व तेल बजारमा परेको छ र केही समय रहिरहनेछ ।
यता आफ्नो सात वटा मूख्य तेल उत्पादकमार्फत अमेरिकाले कच्चा तेलको उत्पादन ब्यापक बनाई रहेको छ । निकट भविष्यमै अमेरिका विश्वको सबै भन्दा ठूलो तेल उत्पादक बन्ने निश्चितप्राय छ ।
ओपेकमा संलग्न राष्टहरु पनि तत्काल तेलको उत्पादन घटाउने पक्षमा देखिएका छैनन् । फलतःमागको तुलनामा उत्पादन उच्च रहने निश्चित छ ।
त्यसोत मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै तेलको मूल्य अझै तल झर्न सक्ने संकेत गरेका छन् । ट्रम्पले भनेका छन् साउदी अरेविया र ओपेकले तेलको उत्पादन कटौती गर्ने छैनन् ।
उत्पादन भएर स्टोर गरिएका कच्चा तेल भन्दा तत्काल उत्पादित तेलको मूल्य महंगो बनेका कारण पनि तेलको मूल्यमा उतार चढाब देखिएको छ ।
कच्चा तेलको उत्पादनबारे तत्काल कुनै निर्णय नभए पनि विषय गंभिर बनेको र आफूहरुले सोचीरहेको ओपेकले जनाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट निरन्तर जारी छ ।
नेपालमा कस्तो असर पर्छ ?
अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा र घट्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ । कच्चा तेलको मूल्य अन्तराष्ट्रिय घटेको समाचारले नेपाली उपभोक्ता तेलको मूल्य घट्ने आसमा पक्कै छन् ।
निगमलाई तेल निर्यात गर्ने भारतीय आयल निगमले हरेक महिनाको १६ तारिख नेपाललाई इन्धनको नयाँ मूल्य पठाउने गर्दछ । तत्काल कस्तो मूल्य आईओसीबाट प्राप्त हुने भन्ने कुरामै इन्धनको मूल्य समायोजनबारे निर्णय हुने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार पछिल्लो तीन दिन देखिको अन्तराष्टिय मूल्य गिरावट केही दिन निरन्तर नरहे नेपालमा तेलको मूल्य घट्ने सम्भावना न्यून छ ।
हाल मासिक १ अर्ब ६० करोड घाटा ब्याहोरी रहेको निगमले तत्कालको अन्तराष्टिय मूल्य गिरावट नेपालका लागि घाटा घटाउने अवसर मात्रै हुन सक्ने आकंलन गरेको छ ।