क्रमश: दोस्रो, तेस्रो, चौथौ, पाँचौ व्यक्ती एटीएम भित्र छिरेर उही प्रक्रिया अपनाउँछन् पैसा फेरि आउँदैन्। एटीएमले भन्छ 'प्लीज इन्टर द होल रुपी अमाउन्ट म्याक्सीमम् रु बीस हजार' , अप्सनः करेक्ट इनकरेक्ट, तर पैसा आएन ।
एटीएम पैसाकाे अावश्यकता भएपछि निकाल्नका लागि पुग्ने हो । तर एटीएमबाट पैसा आएन नत एटीएमबाट पैसा नआएकोबारे केही सूचना नै आयो । काेही धार्ने हात लगाउँदै निस्कन्छन् त कोही अमिलो मन गरेर बाहिरिन्छन् ।
एक ग्राहक पैसा नआएको झोकमा बैंकको शाखामा छिर्छन् । काउण्टरमा उभिई रहेको पुरुष सुरक्षा गार्डलाई सोध्छन् । दाई एटीएमबाट पैसा किन आएन ?
सुरक्षा गार्डले जवाफ दिँदैनन् । फेरि प्रश्न गरिन्छ एटीएम किन चलेन ? अर्की महिला सुरक्षा गार्डले हातले इसारा गर्दै भन्छिन् उ त्यहाँ पर बिरेन्द्र सरलाई सोध्नुस् ।
उक्त ग्राहक बैंकको चेम्बर अगाडि पुगेर उभिन्छन् र सोध्छन्ः
ग्राहकः बिरेन्द्र सर को हुनुहुन्छ ?
(रातो रसिदमा केही लेख्दै गरेका एक व्यक्तिले सोध्छन्ः भन्नुस् के भयो ?)
ग्राहकः तपाई बिरेन्द्र सर हुनुहुन्छ ?
बिरेन्द्र सरः हो ।
ग्राहकः एटीएम किन नचलेको ?
बिरेन्द्रःपैसा छैन ।
ग्राहकः बाहिर धेरै मानिस फर्कदैँ जाँदै गरेका छन् । पैसा नभएको सूचना किन बाहिर थाहा भएन। कति समयमा चल्छ एटीएम, धेरै पटक यो एटीएमले दुःख दिएको छ । भनेको बैला पैसा दिँदैन किन यस्तो हुन्छ ?
बिरेन्द्रः (अलि झर्किएर) नचलेको भए हामीले राखेको पैसा कहाँ गयो त ? अहिले पैसा सकिएको छ । हामी साट्दैछौं । एक डेढ घण्टा पछि चल्छ ।
ग्राहकः तपाईहरुको सेवा राम्रो भएन सर सुधार गर्नुस् ।
ग्राहक फेरि फर्किएर त्यही एटीएम बुथ पुग्छन् । त्यहाँबाट केही मानिस पैसा नआएको इसारा गर्दै बाहिरिदैँ थिए ।
राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवाबारे धेरै गुनासा आएपछि मेरोलगानी संम्वाददाता सो एटीएम बुथ पुगेको थियो र यो सबै घटना प्रत्यक्ष अवलोकन सम्भव बन्यो ।
........
सरकारी स्वमित्वको सबल मध्ये एक हो राष्ट्रिय वाणिज्य बैंक । बैंकले नेपाल प्रहरीका सबै सदस्यलाई तलब खुवाउने जिम्मेवारी पाएको छ । बैंकले देशभर करिब १० लाख ग्राहकलाई सेवा दिने गरेको बैंकको केन्द्रीय कार्यालयले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंककाे काठमाडौं उपत्यकामा ४२ सहित बैंकका देशभर २११ वटा शाखाहरु सञ्चालनमा छन् । बैंकले आजको मितिसम्म जम्मा १६५ ओटा एटीएम बुथहरु सञ्चालनमा ल्याएको छ । बैंकसँग शाखा भन्दा थोरै एटीएम बुथहरु प्रयोगमा छन् । भएका एटीएममा पनि अनगिन्ती समस्याहरूले ग्राहक हैरानी खेप्न बाध्य छन् ।
बैंकले वितरण गरेको एटीएम तथा भिसा कार्डको संख्या ९ लाख हाराहारी छ । यसको मतलब एउटा एटीएमको दायित्व ५४ हजार ५०० ग्राहकलाई सेवा दिनु रहेको छ ।
बैंकको एटीएममा समस्या रहेको कुरामा बैंकका सूचना अधिकारी पनि सहमत छन्। रकम झिक्ने सिलिङ्ग धेरै भएका कारण पनि बैंकको एटीएममा समस्या आउने गरेको नायब महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले बताए ।
जोशी भन्छन् “सरकारी बिदाका दिन पनि एटीएममा पैसा राख्ने व्यवस्था मिलाएका छौं तर व्यवहारिक कठिनाईले कार्यान्वयन सहज बनेन त्यसैको मार ग्राहकलाई पर्यो ।”
जोशीले अन्य बैंकहरूकाे तुलनामा अाफ्नाे बैंककाे एटीएमबाट धेरै रकम निकाल्न सकिने भएकाले पनि एटीएम मेसिनमा छिटाे रकम सकिने गरेकाे बताए ।
कुनै सार्वजनिक बिदाको दिन अघिल्लो दिन एटीएममा राखिएको पैसा तेस्रो दिनसम्म एटीएममा रहँदैन । सार्वजनकि बिदाको दिन बैंक खुल्दैन कर्मचारीले सबै एटीएममा पैसा राखिदिँदैनन् । फलतः सार्वजनिक बिदा पछिको कार्यदिनमा बैंकिङ्ग समयभन्दा अघि एटीएम पुगेका ग्राहकले पैसा झिक्न पाउँदैनन् ।
वाणिज्य बैंकका धेरै संख्यामा रहेका ग्राहकले थोरै संख्यामा नगद झिक्दा पनि बैंकको एटीएम मेसिनकाे नेटवर्कमा पटक-पटक समस्या देखा पर्ने गरेको छ । एटीएममा देखा परेको समस्या प्राविधिक मात्रै नभई सरकारी काम गराई शैली पनि रहेकाे बैंककै ग्राहक बताउँछन् ।
एटीएममा समस्या राष्ट्रिय वाणिज्य बैंकमा मात्रै सीमित छैन् अन्य धेरै बैंकहरूकाे एटीएममा पनि उस्तै छ तर प्रतिस्पर्धी बैंकहरुको तुलनामा यहाँ धेरै छ । कुनै कुनै बैंककाे एटीएम सम्साँझै बन्द हुन्छन् त कतै क्षणिक समस्या भन्ने सूचक बैंकहरूकाे एटीएममा देखिने गरेकाे छ ।
ग्राहक सुविधा दिनका लागि खाेलिएका एटीएमबाट भनेकाे समयमा नगद निकाल्न पाइँदैन भने बैंकहरूले ग्राहकलार्इ प्रदान गरेकाे सुविधाकाे के अर्थ रह्याे ? अाम एटीएम प्रयाेगकर्ताकाे साझा प्रश्न हाे याे ।