चौतर्फी रुपमा अनलाइनप्रति बजारका लगानीकर्ता उत्साहित नभएको भन्दै अनलाइन प्रणालीको बिरोध भैरहेका बेला नेप्सेले यस्तो प्रष्टोक्ती दिएको हो । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले सबैको सहयोगमा अनलाइन प्रणालीलाई चुस्त बनाउने काम भैरहेको र सामान्य किसिमका समस्या समाधान गरिएको पनि प्रष्ट पारेको छ ।
पछिल्ला दिनमा आफ्नो शेयरको भाउ नबढे पछि छटपटिएर अनावश्यक रुपमा हल्ला र गलत प्रचार गरिरहेका लगानीकर्ताहरुका नेता तथा संघ संगठनका प्रतिनिधिहरु शेयर मूल्य बढ्ने वाताबरण मिलाइदिन नेप्से धाउन थाले पछि नेप्सेले यस्तो प्रष्टोक्ति दिएको हो ।
नेप्सेले विज्ञप्तिमार्फत भनेको छ, 'शेयरको मूल्यमा हुने घटबढ र अनलाइन कारोबार प्रणाली नितान्त फरक बिषय हो । शेयरको मूल्य निर्धारणमा माग र आपूर्ति सम्बन्धी बजारको नियमले काम गरेको हुन्छ । यसमा सम्बन्धित सूचिकृत कम्पनीको वित्तीय अवस्था, नाफा तथा नोक्सान, भविष्यको संभावना, व्यवस्थापन पक्ष, संचालकहरुको छविले ठूलो भूमिका खेलेको हुन्छ भने ती कम्पनीहरुलाई हेर्ने विद्यमान तथा संभावित लगानीकर्ताको दृष्टिकोणले पनि सेयरको मूल्यमा उतारचढाव ल्याउने गर्छ ।’
यस्तो अवस्थामा अनलाइन कारोबार प्रणाली आउँदैमा कम्पनीहरुको शेयरमूल्य तथा बजार सूचक बढ्नु वा घट्नुमा अनलाइन प्रणालीको कुनै भुमिका नहुने नेप्सेको प्रष्टोक्ति छ ।
'अनलाइन कारोबार प्रणालीले सचिकृत धितोपत्रको कारोबारमा सहजता ल्याउने काम गर्छ । यसबाट कारोबार संख्या र आकारमा मात्र वृद्धि हुन सक्ने भएकोले कसैले अनलाइन कारोबार प्रणाली आएपछि शेयरको भाउ बढ्छ भन्ने किसिमको भ्रामक प्रचार गरिरहेको छ भने त्यसतर्फ सजग हुन लगानीकर्तालाई नेप्से अनुरोध गर्दछ ।' विज्ञप्तिमा भनिएको छ ।
‘नेप्सेले अनलाइन प्रणालीमा देखिएको समस्या क्रमशः समाधान हुँदै गएकोे छ । नेप्सेको नयाँ प्रणालीका २० भाग छन् । यीमध्ये धेरैजसो मुख्य भागहरुलाई संचालनमा ल्याइसकिएको छ । सहायक भागहरुलाई क्रमिक रुपमा एकबद्ध गर्दै प्रणालीको स्तरोन्नति भइरहेको छ ।’ नेप्सेले भनेको छ ।
नेप्सेले लगानीकर्ताहरुबाट विद्युतीय माध्यमबाट शेयर कारोबारको राफसाफ र फछ्र्यौटका सम्बन्धमा आवश्यक गृहकार्य भैरहेको जनाएको छ । यस सम्बन्धमा नेप्सेले भनेको छ, ‘नेप्सेको अनलाइन कारोबार प्रणाली विद्युतीय माध्यमबाट राफसाफ र फछ्र्यौट गर्न सक्षम छ । सोही अनुरुप राफसाफ र फछ्र्यौटमा सामञ्जयस्ता ल्याउने गरी क्लियरिंग बैंकले पनि प्रणालीको विकास गर्नुपर्ने हुन्छ । हाल नेप्सेसँग आबद्ध ४ वटा क्लियरिंग बैंकमध्ये एउटाले त्यस्तो प्रणालीको विकास गरिसकेको छ भने अन्य बैंकहरुले पनि यस सम्बन्धी तयारी गरेका छन् । नेप्सेले यसबाहेक पनि निश्चित मापदण्ड बनाएर क्लियरिंग बैंकहरु थप्ने गृहकार्य समेत थालेको छ । यस सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेडसँग वार्ता भइरहेको छ ।'
साथै नेप्सेले कारोबार प्रणाली तथा अन्य विषयमा गुनासो भएको खण्डमा टोल फ्रि नम्बर १६६० ०१२५०२५ मा सिधै सम्पर्क गर्न पनि लगानीकर्तालाई आग्रह गरेको छ ।