आफ्नै हातले अनलाइन प्रणालीबाट शेयर किनबेच गर्ने हो ? यसरी गर्नुहोस तयारी (कागजात सहित)

Dec 09, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि लगानीकर्ताले नै अनलाइन प्रणालीबाट शेयर किनबेच गर्न सक्ने व्यवस्थाको सुरुवात गरेको छ। तर प्रकृयागत कारणले यसअघि उपलब्ध गराइएको युजर आईडि तथा पासवर्डले काम गर्ने छैन। तसर्थ तपाईले आफ्नो ब्रोकरकोमा एक पटक पुग्नैपर्ने भएको छ। त्यसका लागि आवश्यक प्रकृया सहित कागजात यहाँ उपलब्ध गराइएको छ ।

अनलाइन प्रणालीबाट शेयर कारोबार गर्न इच्छुक लगानीकर्ताका लागि नेप्सेले ब्रोकर कार्यालयबाट युजर नेम र पासवर्ड लिएर अनलाइन कारोबार गर्न सक्ने व्यवस्था गरेको हो ।

नकारात्मक टिका-टिप्पणी र कौतुहलताका साथ अन्तत: लगानीकर्ताले अनलाइन मार्फत शेयर खरिद बिक्री गर्नसक्ने भएका हुन् । यस विषयमा अझै पनि धेरै लगानीकर्ताहरु अन्यौलमा नै छन् । केहि लगानीकर्ताले मात्र आइतबारसम्ममा अनलाइन कारोबार प्रणालीको युजर नेम तथा पासवर्ड लिएका छन् ।

अबदेखि लगानीकर्ताले इन्टरनेट भएको स्थानमा बसेर डेस्कटप वा मोबाइलको माध्यमबाट शेयर कारोबारको खरिद बिक्री आदेश दिनसक्ने भन्दै केवाइसी अपडेट तथा युजर नेम र पासवर्ड लिन नेप्सेले लगानीकर्तालाई आग्रह गेरको छ ।

अनलाइन प्रणाली चलाउन के-के गर्नुपर्छ ? (कागजात सहित)

सबैभन्दा पहिले लगानीकर्ताले आफ्नो ब्रोकर कम्पनीमा आधिकारीक परिचयपत्र सहित उपस्थित भएर युजर नेम र पासवर्ड लागि सम्पर्क गर्नुपर्दछ । यसका लागि लगानीकर्ताले केवाईसी फारम अनिवार्य रुपमा भर्नुपर्ने हुन्छ । शेयर दलालहरुले लोगो सहितको केवाइसी फारम तयार गरेको हुनाले यो फराम सम्बन्धित ब्रोकरमा पुगेर भर्नुपर्ने हुन्छ ।

केवाईसी फारम भर्दा इमेल, फोन नम्बर, नागरिकता नम्बर तथा जारी मिति र स्थायी तथा अस्थायी ठेगाना अनिवार्य रुपमा अद्यावधिक गराएको हुनुपर्ने छ । सक्रिय इमेल ठेगानाको प्रयोग गर्दा कुनै पनि किसिमको समस्या उत्पन्न हुँदैन ।

यो सँगै तपाईले आफ्नो ब्रोकरसँग अनलाइन प्रणालीबाट शेयर कारोबार गर्नका लागि ३९ बुँदाको सम्झौता पत्रमा आफ्नो विबरण भरेर हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

नेप्सेले तयार गरेको सम्झौताको फारम यहाँबाट प्रिण्ट गरेर भर्न सकिन्छ ।

उल्लेखित फारम भरेर ब्रोकरमोमा गइ दोस्रो पक्षको विवरण भर्न सकिन्छ । यसरी गरिएको सम्झौता ब्रोकरले नेप्सेलाई पठाउँछ । तत्पश्चात नेप्सेले ग्राहक (क्लाइण्ट) को डिम्याट खाता र कारोबार खातालाई आफ्नो प्रणालीमा इण्टिग्रेट गरिदिन्छ ।

यसरी नेप्सेले खाता इण्ट्रिग्रेट गरिदिए पश्चात तपाईले इमेलमा अनलाइन कारोबारका लागि लगइन ठेगाना, युजर नेम र पासवर्ड पाउनु हुनेछ । यसरी इमेलमा आएको पासवर्ड आफु अनुकुल परिवतर्न गर्नुपर्ने हुन्छ ।

केवाइसी अद्यावधिक तथा अनलाइनको सम्झौताका बेला तपाईले कति रुपैयाँसम्मको शेयर कारोबार गर्ने हो ? सो रकमको चेक शेयर ब्रोकरलाई बुझाउनुपर्ने हुन्छ । तपाईले ब्रोकरलाई बुझाएको चेकमा उल्लेख गरेको रकम अर्थात लिमीटभन्दा बढी रकमको शेयर किनबेच गर्न सकिँदैन । यस्तो अवस्थामा कारोबार लिमीट घटबढ गर्नु पर्दा ब्रोकरसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

उल्लेखित प्रकृयाका लागि कम्तीमा २ कार्यदिन लाग्नेछ। तपाईले आज ब्रोकरकोमा आवश्यक कागजात बुझाउनु भएको अवस्थामा भोलिपल्ट इमेलमा लगइनको विवरण पाउनु हुनेछ । त्यस पश्चात तपाई अनलाइन प्रणालीबाट शेयर कारोबार गर्नसक्ने अवस्थामा हुनुहुनेछ ।

पहिलो पटक पासवर्ड परिवर्तन गरेपछि पुन लगइन गरी अडर मेनेजमेण्ट बटन क्लिक गरी शेयर खरिद बिक्रीको आदेश दिन सकिन्छ। यहाँ लगानीकर्ताले बाई बटन र सेल बटनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । शेयर खरिद (बाई) बटन निलो रङ्गको हुन्छ भने शेयर बिक्री (सेल) बटन रातो रङ्गको हुन्छ ।

अनलाइन कारोबार प्रणालीका बारेमा नेप्से तथा वाइकोले तयार गरेको यो कागजात पनि अध्ययन गर्न सकिन्छ ।

अनलाइन कारोबार प्रणालीमा अरु के छ ?

अलाइन कारोबार प्रणालीमा लगानीकर्तालाई सहज हुने गरी विभिन्न फिचर्सहरु रहेको वाइको प्रालिको दाबी छ ।

लगानीकर्ताले आफ्नो अनलाइन खाता लगइन गरेर दिने कारोबार आदेश अनलाइन प्रणालीको म्याचिङ्ग अर्डर सफ्टवयरले म्याच गर्नेछ। अर्थात तपाईले दिएको कारोबार आदेश अरु लगानीकर्ताले गरेको आदेशसँग म्याच भएको अवस्थामा मात्र कारोबारले पूर्णता पाउँछ। तपाईले राखेको आदेश अनुसार अर्को पक्ष शेयर किन्न वा बेच्न नआएको खण्डमा तपाईको कारोबार आदेश अनुसारको कारोबार हुँदैन ।

लगानीकर्ताले एलएमटी (LMT) र एमकेटी (MKT) अप्सनमा शेयर कारोबारको आदेश दिन सक्नेछन् ।

एलएमटी अप्सनबाट कारोबार आदेश गर्दा शेयर कारोबारमा तोकिएको अधिकतम र न्युनतम सीमा अनुसार कुनै विकल्पमा आदेश दिन सकिन्छ भने एमकेटी अप्सनबाट कारोबार भइरहेको मूल्यमा नै आदेश दिनुपर्ने हुन्छ ।

त्यसैगरी, लगानीकर्ताले सिस्टममा भएको भ्यालिडिटी शेयर खरिद बिक्रीको आदेशको समय सीमा पनि निर्धारण गर्न सक्नेछन् । जसमा डे भ्यलिडिटि (Day Validity), जिटिसी (GTC) र जिटिडी (GTD) ले लगानीकर्ताको कारोबारको समय सीमा निर्धारण गरेको हुन्छ ।

डे भ्यलिडिटी अनुसार लगानीकर्ताले दिएको खरिद बिक्रीको आदेश एक कारोबार दिन मात्र रहन्छ । लगानीकर्ताले दिएको कारोबारको आदेश कुनै अर्को आदेशसँग म्याच नभएमा बजार बन्द भएपछि आफैँ रद्ध हुनेछ ।

साथै जिटिसि भ्यालिडिटी मार्फत शेयर आदेश गरेमा एक पटक दिएको आदेश १५ दिन सम्म म्याच रहिरन्छ। अर्थात एक पटक दिएको कारोबार आदेशले १५ दिनसम्ममा शेयर कारोबार गराउन सक्छ ।

जिटिडि भ्यालिडिटी अप्सन मार्फत कारोबार आदेश गरेमा २१ दिनसम्म एउटै आदेश कायम रहने छ । लगानीकर्ताले शेयर खरिद बिक्रीको आदेश आफूले चाहे बमोजिम परिमार्जन तथा रद्ध गर्न सक्छन् ।

त्यसैगरी कारोबार दिनको सुरुमा प्रि ओपन (Pre-Open)  सेसन मार्फत शेयर खरिद बिक्रीको आदेश दिन सकिनेछ । प्रि ओपनमा आदेश भएको मूल्यको आधारमा सुरुको मूल्य निधारण भई कारोबार आदेश जारी हुन्छ ।

सधै जस्तै शेयर बजार खुल्ला हुने समय (११ देखि ३ बजे) सम्मलाई कन्टिनीयास (Continious) सेसनबाट कारोबार हुनेछ ।

लगानीकर्ताले दश कित्ताभन्दा कम शेयर पनि अनलाइन मार्फत खरिद बिक्री गर्न सक्नेछन् । लगानीकर्ताले यस्तो कारोबारका लागि अड लट (Odd Lot) अप्सन मार्फत शेयर खरिद बिक्रीको आदेश दिन सक्नेछन् ।

साथै लगानीकर्ताले नेप्सेले समय समयमा प्रकाशन गर्ने सूचनाहरु पनि आफ्नो कारोबार गर्ने पेजमा नै प्राप्त गर्न सक्नेछन् ।

अनलाइन प्रणालीलाई थप सहज बनाउन केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले ईडिआइएस प्रणाली सञ्चालनमा ल्याईसकेको छ। लगानीकर्ताले अनलाइन प्रणाली मार्फत कारोबार सम्पन्न गरेपछि सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर सफ्टवेयरबाट शेयर कारोबारको राफसाफ गराउन सक्छन् ।

याद राख्नुस् ... !

आज शेयर किनेर मूल्य बढ्यो वा घट्यो भनेर भोलिपल्ट नै शेयर किन्ने वा बेच्ने यस अघिको अभ्यास अनलाइन प्रणालीमा गर्न सकिँदैन। किनेको शेयर तपाईको डिम्याट खातामा जम्मा नभई तपाईले त्यो शेयर बिक्री गर्न अनलाइनबाट आदेश दिन सक्नुहुन्न ।

किनकी तपाईले ब्रोकरसँग गरेको सम्झौता नेप्सेमा पुगेर कारोबार खातामा डिम्याट खाता इण्ट्रिग्रेट भएपछि तपाईका हरेक कारोबार आदेशलाई डिम्याट खातामा रुजु गराएर मात्र सिष्टमले तपाईको आदेश जारी गर्छ ।

यसका साथै तपाईको डिम्याट खातामा रहेको शेयर फ्रि व्यालेन्सका रुपमा छैन भने पनि त्यस्तो शेयर बिक्री गर्न सक्नुहुन्न ।

बैंक खातामा पैसा डिम्याट खातामा शेयर अनिवार्य कहिले ?

विद्यमान कानूनी व्यवस्थाका कारण अहिले लगानीकर्ताले अन्तर्राष्ट्रिय बजारमा जसरी पूर्ण रुपमा अनलाइन प्रणालीबाट शेयर कारोबार गर्न पाउने छैनन्। कारोबारको आदेश मात्र अनलाइन प्रणालीबाट हुने र यस्तो आदेशको म्याचिङ्गसम्मको काम मात्र अहिलेको अनलाइन प्रणालीले गर्छ।

कानूनी व्यवस्थाले मार्गप्रशस्त गरेको अवस्थामा आदेश दिने मात्र नभई सबै काम गराउन सक्ने प्रणाली बनाइएको नेप्सेको भनाई छ । तर कानूनले गरेको व्यवस्था अनुसार मात्र प्रणालीलाई चलाइने नेप्सेको भनाई छ ।

लगानीकर्ताको बैंक खाता समेत यो प्रणालीमा इन्ट्रिग्रेट गर्न सकिए पनि विद्युतीय भुक्तानीमा राष्ट्र बैंकले तोकेको सीमाका कारण कारोबारको राफसाफ अनलाइन प्रणालीबाट गराउन सकिँदैन ।

आगामी पुस तेस्रो सातादेखि लगानीकर्ताको बैंक खातालाई अनलाइन कारोबार प्रणालीमा इन्ट्रिग्रेट गर्ने काम सुरु हुने बुझिएको छ ।

यो इन्ट्रिग्रेशनसँगै कानूनी रुपमा तेस्रो पक्ष भुक्तानीको व्यवस्थामा सहता आएको खण्डमा अहिलेको अनलाइन प्रणालीले नै बैंक खातामा भएको पैसा बराबरको शेयर किनाउने तथा डिम्याट खातामा भए बराबरको शेयर बेच्ने र त्यसको राफसाफ स्व:चालित रुपमा गराउन सक्छ ।

यस्तो अवस्था कहिले बन्छ अहिले भन्न सकिन्न । यो व्यवस्था भएको खण्डमा अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न लगानीकर्ताको बैंक खातामा पैसा तथा डिम्याट खातामा अनिवार्य रुपमा शेयर जम्मा भएको हुनुपर्छ । शेयर किन्दा बैंक खातामा पैसा नभएमा र बेच्दा डिम्याट खातामा शेयर नभए अनलाइन मार्फत कारोबार गर्न सकिँदैन ।

अहिले कारोबार भए पश्चात शेयर किनेपछि पैसा तिर्न तथा बेचेपछि पैसा लिन ब्रोकरकोमा धाउनुपर्ने व्यवस्थाको पनि अन्त्य हुनेछ। तर अहिले नै हाम्रो बजारमा यस्तो कल्पना गर्नु धेरै हतारो सावित हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।