शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताले बजार सुधार र विस्तारको माग सहित अर्थमन्त्रालयलाई चर्को दबाब दिएपछि गत विहिबार अर्थमन्त्रीले अध्ययन समिति गठन गरेका थिए । जसलाई सुझाब पेश गर्न एक साताको समय दिइएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा नेपाल बैंकर्स संघ र लगानीकर्ताका प्रतिनिधि र अर्थमन्त्रालयका प्रतिनिधि रहेका छन् ।
नेपाल राष्ट्र बैंकका निर्देशक एंवम अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले पहिलो बैठकमा सरोकारवालाहरूका समस्याहरू बारे छलफल मात्र गरिएको जानकारी दिए ।
मंगलबार बस्ने बैठकमा समितिका प्रतिनिधिहरूले सरोकारवालाबाट संकलन गरेका सुझावहरू प्रस्तुत गरिने खरेलले बताए ।
आइतबारको बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले विद्यमान समस्याबारे संक्षिप्त धारणा राखेका थिए।
समितिलाई दिएको सातको दिनको सिमा आगामी विहिबारसम्म रहेको छ । समितिले विहिबारसम्म अर्थमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाउनेछ । त्यसपश्चात अर्थमन्त्रालयले बजार सुधारका लागि थप पहल चाल्नेछ ।