बैंकले १५ लाख कित्ता जारी गर्नका लागि बैंकले मङ्सिर १९ गते धितोपत्र बोर्डको अनुमति मागेको छ ।
निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित दरको ३ लाख कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित १२ लाख कित्ता व्यक्तिगत तबरबाट निजी संस्थाका लागि बिक्रीमा ल्याउने ग्लोबल आइएमई बैंकले जनाएको छ । बोडर्बाट अनुमति पाएपश्चात बैंकले सर्वसाधारणमा ऋणपत्र बिक्रीमा ल्याउनेछ ।
'१०.५% ग्लोबल आइएमई डिबेञ्चर २०८०' नाम दिइएको पाँच वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १०.५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकको पूँजी कोष अनुपात न्यूनतम ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । पूँजी कोष अनुपात गणना गर्दा ऋणपत्रलाई पुरक पूँजीको रुपमा गणना गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ। यसरी पूँजी कोष अनुपातमा वाणिज्य बैंकहरुलाई ५ प्रतिशत हिस्सा पुरक पूँजीबाट मिलाउन पाउने व्यवस्था छ ।
चालू अार्थिक वर्षकाे प्रथम त्रैमासमा बैंककाे कर्जा निक्षेप अनुपात ७७.६४ प्रतिशत र पूँजी कोष अनुपात ११.२७ रहेकाे छ । व्यवसाय विस्तारका लागि पूँजी कोष अनुपात बढाउनुपर्ने बाध्यताका बीच बैंकले गत अार्थिक वर्षकाे नाफाबाट १६ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव समेत गरेकाे छ ।
बैंकहरुले आफ्नो सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन, वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजी कोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने जस्ता उदेश्यका साथ ऋणपत्र जारी गर्ने गर्दछन् ।
हाल सानिमा बैंकले पुस १ गतेसम्म दुर्इ अर्ब रूपैयाँकाे २० लाख कित्ता ऋणपत्र निष्काशन गरिरहेकाे छ । दश वर्ष अवधिको यस ऋणपत्रमा १० प्रतिशत ब्याज प्राप्त हुनेछ ।
सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि १०.५ प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोड रूपैयाँकाे २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरिरहेकाे छ । ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।
उता सिटिजन्स बैंकले एक हजार अंकित दरका २५ लाख कित्ता “सिटिजन्स बैंक बण्ड २०८५” निष्काशन गर्दैछ। २ अर्ब ५० करोड रुपैयाँको बण्ड जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बैंकले नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् बिक्री खुला गरिने जनाएको छ ।