बैंकलाई ब्रोकर लाइसेन्स “इन्साइडर ट्रेडिङ्गलाई मलजल”

Dec 30, 2018 Merolagani

- नवीन ढुंगाना।
हाल शेयर खरिद बिक्रीको सेवा प्रदान गरिरहेका दलाल व्यवसायीहरूले बैंकलाई ब्रोकरको काम गर्ने अनुमति प्रदान गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

लामो समय देखि शेयर दलाल व्यवसायीको रुपमा काम गरिरहेकाहरुको क्षमता विस्तारमा कुनै चासो नदिइएको, सूचनाको दुरुपयोगबाट हुने क्षतिबारे आंकलन नगरी बैंकलाई ब्रोकर अनुमति प्रदान गर्न नियामक निकाय हतारिएको उनीहरुको आरोप छ । 

हालका ब्रोकरलाई सहज ढङ्गबाट दुर्गममा पुग्ने वातावरण बनाउन रोकेर बैंकलाई ब्रोकर सेवा सुरु गर्न लगाउनु अन्यायपूर्ण भएको व्यवसायीले बताएका छन् ।

पछिल्लो एक वर्षदेखि जिल्लामा शाखा विस्तारका लागि दिइएको निवेदनमा कुनै कारबाही नगरी धितोपत्र बोर्डले बैंकलाई ब्रोकर अनुमति दिन राजी हुनु शंकास्पद रहेको शेयर दलाल व्यवसायी बताउँछन् ।

शेयर दलाल व्यवसायी भन्छन् “हालका शेयर दलाल व्यवसायीलाई शाखा विस्तारमा प्रोत्साह नगर्नु र बैंकको सेवा दुरदराजसम्म पुग्छ भन्ने स्पष्ट आधार बिनै अनुमति दिइनुमा प्रश्न गर्ने ठाउँ खडा भएको छ ।”

हतारमा गरिएको गलत निर्णयः भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एसोशिएसन

बैंक तथा वित्तिय संस्थाका महत्वपूर्ण सूचनाले शेयर बजारलाई प्रभावित बनाउँछ । त्यसैले ब्रोकरका प्रमुखहरु बैंक, इन्स्योरेन्स, फाइनान्स जस्ता सूचीकृत संस्थाको निर्देशक वा अध्यक्ष हुन नपाइने व्यवस्था छ ।

शेयर किनबेच गर्नेले सूचनाको दुरुपयोग गरेर बजारमा अवाञ्छित चलखेल गर्न सक्ने भएकाले यो प्रावधानको व्यवस्था भएको हो ।

यही प्रावधान हालका शेयर दलाल व्यवसायीलाई लागू हुने तर बैंकको हकमा मौन बस्ने सरकारको नियत शंकास्पद छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका कम्पनीहरुको संख्या, शेयर कारोबार, शेयर संख्या, कारोबार रकम एवं बजार पूँजीकरणका हिसाबले उल्लेख्य हिस्सा ओगट्ने बैंकहरुलाई नै ब्रोकर अनुमति प्रदान गर्दा शेयर बजार सुरक्षित र पारदर्शी रहला भन्ने आधार नै छैन ।

बैंकलाई ब्रोकर अनुमति हतारमा गरिएको गलत निर्णय हो । सूचीकृत कम्पनीको महत्वपूर्ण निर्णयमा आफै साक्षी बस्ने अनि आफ्नै बहुमत हिस्सा शेयर भएको सहायक कम्पनीले शेयर ब्रोकर व्यवसायीको काम गर्ने अनुमति पाउने ?

नेप्सेमा सूचीकृत एवं शेयर संख्या र कारोबार रकममा पनि बहुमत हिस्सा बैंक तथा वित्तिय संस्था कै रहेको अवस्थामा उनीहरुलाई ब्रोकरको काम गर भन्नु र हालका व्यवसायीलाई उपेक्षा गर्नु दुर्घटना निम्त्याउनु हो । 

ढङ्ग नपु¥याई गरिएको राम्रो कामः आनन्द कुमार भट्टराई, सहायक प्रमुख कार्यकारी अधिकृत, निभ सेक्युरेटिज

शेयर किन–बेचको पहुँच आम नागरिकमा पुग्नुपर्ने कुरा सकारात्मक भए पनि नियामक निकायको काम गराईमा ढङ्ग पुगेको देखिएन ।

शेयर बजारमा नागरिकको पहुँच विस्तारमा अहिले भएकै शेयर दलाल व्यवसायीबाट पनि प्रशस्त काम हुन सक्थ्यो। प्रविधिको युगमा पूर्वाधारको अङ्कुश लगाएर हालका शेयर दलाल व्यवसायीलाई शिथिल पार्ने काम भयो । एउटै प्रकृतिको व्यवसायमा एउटालाई अंकुस लगाएर अर्कोलाई काखी च्याप्ने काम गरियो यो गलत छ ।

हाल कै दलाल व्यवसाीलाई सव ब्रोकर एजेन्ट मार्फत काम गर्न अनुमति दिइएको भए पारदर्शीताको विषयमा धेरै प्रश्न उब्जने थिएन । तर एक हजार स्क्वायर फिटको कार्यालय र पाँच जना कर्मचारी लगायतको पूर्वाधार सीमाले गर्दा स्थानीय तह वा विकट जिल्लामा ब्रोकरहरु जान सक्ने वातावरण नै सरकारी तवरबाटै बनाउन खोजिएन ।

हामीले देखेको सत्य के हो भने मुगु जिल्लामा एउटा ब्रोकरले एक हजार स्क्वायर फीटको कार्यालय र पाँच जना कर्मचारी राखेर आफ्नो शाखा विस्तार गर्न सक्दैन्। कारोबारको दायरा हेरेर त्यसै अनुसारको पूर्वाधार विकास गर्दै अगाडि बढाउन हामीहरुलाई प्रोत्साहन गर्नु पर्दथ्यो। तर लहैलहैमा बैंकलाई शेयर दलाल व्यवसायको जिम्मा दिने कार्य भयो ।

अब सबै बैंकहरुले आफ्ना शाखा भएका दुर्गम स्थानमा एक हजार स्क्वायर फीटको कार्यालय र पाँच जना कर्मचारीमार्फत शेयर दलाल व्यवसाय सञ्चालन गर्छन वा बैंकको एउटा शाखामा एउटा कर्मचारीले काम चलाउँछन् अथवा ठूला सहरमा मात्रै बैंकहरुले यो सेवा सुरु गर्छन त्यो हेर्न बाँकी छ ।

पक्कै पनि शेयर कारोबार निकै कम हुने दुर्गम स्थानहरुमा बैंकहरुले त्यो जोखिम मोल्ने छैनन् । फेरि शहरमै बैंकहरुले सेवा दिन थाल्ने हो भने हालका ब्रोकरहरुको औचित्य नरहने वातावरण बन्छ । धितोपत्र बोर्ड आफैँले जन्माएको ब्रोकर व्यवसाय मासिने वातावरण बन्नु दुःखद छ ।

निश्चित अवधिसम्म बैंकलाई ब्रोकर लाइसेन्स जरुरी छ : अनलराज भट्टराई, विश्लेसक

बैंकको दायरा के हुने र के नहुने भन्नेबारे अन्तर्राष्ट्रिय प्रचलन अनुसार निर्णय गर्दा उचित हुन्थ्यो । शेयर दलाल व्यवसाय बैंकको साहायक कम्पनी मार्फत गरिदा कुशल कार्य सम्पदन हुने कुरामा दुईमत छैन ।

हालका शेयर दलाल व्यवसायीको तुलनामा पूँजी बजार विस्तारमा बैंकको भूमिका महत्वपूर्ण र धेरै हुन सक्छ । तर ५ वर्ष वा १० वर्ष भन्दा बढी बैंकलाई ब्रोकरको कामको जिम्मा दिनु उचित हुँदैन ।

पूँजी बजारको विकास एक तहसम्म पुगे पछि बैंकहरुको अनुमतिबारे सोच्नु पर्ने हुन्छ।

जहाँसम्म इन्साइडर ट्रेडिङ्गको कुरा छ बैंक आफैँमा एउटा विश्वासिलो संस्था हो । एउटा संस्थाले सूचना दुरुपयोग गर्छ भन्ने कुरामा म विश्वास गर्दिन ।

सूचनाको दुरुपयोग व्यक्तिले गर्ने हो । त्यो अहिले पनि नभएको होइन। जनताको अरबौँ लगानी रहेको कम्पनीमा व्यक्तिले बदमासी गर्छ भने उसलाई निकाल्नु पर्छ।

बैंकलाई ब्रोकर लाइसेन्स दिदैंमा शेयर दलाल व्यवसायीहरु आत्तिनु पर्ने जरुरी छैन। पुजारी नफेर्ने नेपाली प्रचलन भएजस्तै लगानीकर्ताहरुले दलाल व्यवसायीलाई फेरेर बैंकबाट शेयर कारोबार गर्लान भन्नेमा म विश्वास गर्दिन । आफ्नो सेवा सुविधा र क्षमता अभिवृद्धि गरेर उनीहरुले सेवा अझै बढाउन सक्नेछन् ।

पुष एघार गते एक निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शेयर दलाल व्यवसायी (ब्रोकर) को काम गर्न पाउने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई ब्रोक्रर सेवा दिन यस्तो गर्यो नीतिगत व्यवस्था

कम्तिमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनी खोलेर वाणिज्य बैंकहरुले ब्रोकरको काम गर्न पाउने राष्ट्र बैंकको निर्देशिकामा उल्लेख छ ।

तर वाणिज्य बैंकलाई ब्रोकरको काम गर्न जारी गरिएको आठ बुँदे नीतिगत व्यवस्थामा सूचनाको दुरुपयोग गरि शेयर बजारमा हुने भित्री कारोबार, ब्रोकर सेवा प्रदान गर्न बैंकहरुको पूर्वाधार र बैंकहरुले प्रदान गर्ने ब्रोकर सेवाको क्षेत्र वा तहबारे राष्ट्र बैंक बोलेको छैन ।

केही लगानीकर्ताको दवावका कारण स्पष्ट कानुनी व्यवस्था नै नगरी केन्द्रीय बैंकले गरेको निर्णय र धितोपत्र बोर्डको मौनताले शेयर बजारमा खतराको संकेत देखा परेको हाल ब्रोकर सेवा प्रदान गरि–रहेकाहरुको तर्क छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।