अढाई वर्षको बैंकको बेस रेट VS नेप्से इण्डेक्स, यस्तो देखिन्छ संकेत

Jan 31, 2019 Merolagani

- परमेश्वर अधिकारी
बैंकहरुको व्याजदरको सिधा असर समग्र वित्तीय क्षेत्रमा पर्दै गर्दा शेयर बजारमा पनि उत्तिकै पर्दै आएको छ । झण्डै अढाई वर्ष पहिलेदेखि वाणिज्य बैंकहरुको बेस रेट क्रमिक रुपमा बढ्दै जाँदा शेयर बजारमा त्यसको नकरात्मक असर परेको तथ्यांकले देखाएको छ । तर झण्डै १ वर्ष यताबाट भने यो तथ्य पनि उल्टो गतिमा चलेको देखिन्छ ।

अहिलेसम्म आई पुग्दा बैंकहरुको बेस रेटको उतारचढावसँग शेयर बजारको गतिले मेल नखाएको भान हुन्छ । यद्यपी वित्तीय बजारमा बैंकको बेस रेटमा देखिएको उतारचढावले आगामी दिनमा सकरात्मक अवस्थाको अपेक्षा गर्न नसकिने तथ्यले देखाएको छ ।

यहाँ अढाई वर्ष अवधि अर्थात आर्थिक वर्ष २०७३/ ७४ को पहिलो त्रैमासदेखि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको बैंकहरुको बेस रेटको औसत र बजार परिसुचक नेप्सेको गतिलाई तुलना गर्ने जमर्को गरिएको छ । बैंकहरुले निकालेको त्रैमासिक वित्तीय विबरणमा उल्लेख गरिएको बेस रेटलाई आधार बनाएर बजार सुचक नेप्सेको उतारचढावसँग तुलना गरिएको छ ।

आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको बेस रेट ६.४० प्रतिशत हुँदा बजार परिसुचक नेप्से १५८५.४८ अंकमा थियो ।

सोही आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको बेस रेटको औसत ७.०९ प्रतिशतमा उक्लिँदा बजार परिसुचक नेप्से १४३२.०८ अंकमा ओर्लिएको तथ्यले देखाउँछ ।

उल्लेखित अवधिमा बैंकहरुको बेस रेटको औसत १०.८१ प्रतिशतले बढेको देखिन्छ । जसका कारण व्याजदरमा आएको बढोत्तरीको सिधा असर शेयर बजारमा पर्दा सुचक ९.६८ प्रतिशतले तल झरेको हो ।

उल्टो गतिको सुरुवात

बेस रेट बढोत्तरीको यो यात्रा सोही आर्थिक वर्षको तेस्रो त्रैमासमा आई पुग्दा २२.१४ प्रतिशतले बढेर ८.६६ प्रतिशत कायम हुन पुग्यो । यो बेला भने बजार परिसुचक नेप्से पनि १२.५३ प्रतिशतले बढेर १६११.५२ प्रतिशतमा पुग्यो । यो अवधिमा नेपालको शेयर बजार बैंकहरुको बेस रेटको गति अनुरुप नचलेको देखिन्छ ।

उल्लेखित उल्टो गतिका बेला बजार सुधारोन्मुख थियो । बेस रेट बढेको मौकामा बजारमा भविष्य नदेख्नेहरुले धमाधम नवप्रवेशी लगानीकर्ताहरुलाई शेयर बिक्री गरे । बजार अझै बढ्ने आशमा लगानी बढाएका लगानीकर्ता पनि यसै बेलामा भए भरको लगानी खन्याएर फसेको तथ्यांकले प्रष्ट पारेको छ ।

शेयर बजारमा त्रैमासिक रुपमा आएको यो बढोत्तरी नै अहिलेसम्मको अन्तिम बढोत्तरी भएको पनि तथ्यांकले देखाएको छ । 

यो अवधिदेखि २ वटा त्रैमाससम्म बेस रेट बढ्दा बजार घटेको देखिए पनि त्यस पछिका दिनमा बैंकहरुको बेस रेटको गति र बजार परिसुचकको गति उल्टो चल्ने क्रम अहिलेसम्म जारी छ । भन्न खोजिएको के हो भने बेस रेट बढ्दा व्याजदर पनि बढ्ने भएकाले शेयर बजारमा नकरात्मक असर पर्ने अवस्था रहे पनि त्यस पछिका दिनमा यो शिद्धान्तमा बजार चलेको देखिँदैन ।

आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा आईपुग्दा बैंकहरुको बेस रेटको औसत १३.३२ प्रतिशतले बढेर ९.८२ प्रतिशतमा उक्लिन पुग्यो । जसको असर बजारमा पर्दा सुचक १.३६ प्रतिशतले घटेर १५८९.६२ अंकमा झरेको थियो ।

त्यस पछि आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा बैंकहरुको बेस रेट १.३९ प्रतिशतले बढेर ९.९५ प्रतिशतमा उक्लियो भने बजार परिसुचक नेप्से ६.०७ प्रतिशतले घटेर १४९३.२० अंकमा ओर्लियो ।

उल्टो गतिको निरन्तरता

सोही आर्थिक वर्षको दोस्रो त्रैमासमा भने उल्लेखित गति उल्टो यात्रामा गएको देखिन्छ । बढ्दो अवस्थामा रहेको बैंकहरुको बेस रेटको औसत यो त्रैमासमा ०.१८ प्रतिशतले घटेर ९.९३ प्रतिशतमा आएको थियो । तर बजार परिसुचक नेप्से पनि यस बेला ११.२८ प्रतिशतले घटेर १३२४.८१ अंकमा ओर्लिन पुग्यो ।

यो त्रैमासमा बेस रेटमा चमत्कारिक सुधार नदेखिए पछि साना ठुला सबै किसिमका लगानीकर्ता व्याजदर बढ्ने डरमा धमाधम नोक्सानमा समेत शेयर बेचेर बजारबाट बाहिरिए । जसका कारण शेयरको बिक्री चाप अधिक आउँदा बेस रेट सुधारोन्मुख भए पनि बजार परिसुचकमा अधिक गिरावट आयो ।

सोही आर्थिक वर्षको तेस्रो त्रैमासमा पुग्दा दोस्रो त्रैमासमा डरका कारण शेयर बेच्नेहरुले 'जितेको' तथ्यांकले देखाउँछ । अर्थात यो त्रैमासमा बैंकहरुको बेस रेटको औसत फेरी ५.१६ प्रतिशतले बढेर दोहोरो अंक अर्थात १०.४५ प्रतिशतमा पुग्यो । यो समयमा बैंकहरु लगानी योग्य रकमको चरम अभावमा थिए । जसका कारण बजार ३.१० प्रतिशतले घटेर १२८३.७० अंकमा ओर्लियो ।

त्यस पछिका ३ वटा त्रैमासमा बैंकहरुको बेस रेटमा झिनो अंकको सुधार देखिँदै आए पनि शेयर बजार भने उकालो लाग्न सकेको छैन । बजार पनि बेस रेटको औसत घटाईको अनुपातमा नै ओरालो लागि रहेको छ ।

आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकहरुको बेस रेटको औसत ०.३५ प्रतिशतले घटेर १०.४१ प्रतिशत कायम हुँदा बजार पनि ५.६२ प्रतिशतले घटेर १२११.५४ अंकमा ओलिएको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७५/७६ अर्थात चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अवधिमा बैंकको बेस रेटको अ‍ैसत फेरी १.८४ प्रतिशतले घटेर १०.२२ प्रतिशतमा ओर्लिँदा पनि बजारको उल्टो गति कायम छ । यो अवधिमा बजार पसिुचक नेप्से २.१६ अंकले घटेर ११८५.३४ अंकमा ओर्लिन पुग्यो ।

अहिले दोस्रो त्रैमासमा आई पुग्दा बिहीबारसम्म वित्तीय विबरण सार्वजनिक गरेका १५ वाणिज्य बैंकहरुको बेस रेटको औसत ३.८२ प्रतिशतले घटेर ९.८३ प्रतिशतमा झरेको छ । यो अवधिमा पनि शेयर बजार भने अझै ओरालो लागिरहेको छ । यो अवधिमा बजार १ प्रतिशतले घटेर ११७३.४७ अंकमा ओर्लिएको छ ।

उल्लेखित सबै तथ्यांकहरु त्रैमासको औसतमा गणना गरिएको छ । बिहीबारको बजारलाई मात्र हेर्ने हो भने १६६१ अंकमा बन्द भएको छ ।

निश्ष्कर्ष

अर्कातिर वाणिज्य बैंकहरु लगानी गर्ने रकमको अभावमा आफ्नो छाता संगठनमा भएको भद्र सहमतिलाई तोडेर चर्को व्याजदरमा निक्षेप तान्ने होडमा उत्रिएका छन् । यसले लगातार ३ वटा त्रैमाससम्म घटेको बैंकहरुको बेस रेट बढ्ने आँकलन गर्न सकिन्छ ।

बेस रेट घटिरहेको अवस्थामा समेत बढ्न नसकेको शेयर बजार अबका दिनमा फेरी बेस रेट बढ्न थाल्दा क्रमिक रुपमा झनै ओरालो लाग्ने देखिन्छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकलाई मात्र हेर्ने हो भने पनि पुस महिनामा बैंकहरुमा बढेको निक्षेपको आकारलाई माघ महिना लाग्ना साथ कर्जाको वृद्धि आकारले उछिनिसकेको छ । यसले घट्दो क्रममा रहेको बैंकहरुको बेस रेट अबका दिनमा घट्न बन्द हुने वा बढ्ने संकेत गर्छ ।

कर्जा निक्षेप वृद्धिको अनुपातलाई चित्रमा हेर्नुहोस् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।