बुधबार मात्र सिभिल बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरको सूचनामा विभिन्न शिर्षकका निक्षेपको व्याजदर तथा कर्जाको प्रिमियम दर उल्लेख गरेको छ ।
बैंकले कर्जाको व्याजदरका हरेक शिर्षकमा आधार दरमा थप गरिने प्रिमियम प्रतिशत उल्लेख गरेको छ । तर ठुलो आकारमा सार्वजनिक गरिएको सूचनामा कतै पनि आधार दरमा कति परिवर्तन भयो वा बैंकको हालको आधार दर कति हो भन्ने खुलाएको छैन ।
यसले बैंकबाट कर्जा लिएकाहरु व लिन चाहनेहरु बैंकको कर्जाको वास्तविक व्याजदर कति हो भनेर ठ्म्याउन नसक्ने अवस्थामा पुगेका छन् । यसरी जे विषयको सूचना निकालिएको हो, त्यसको जरोलाई नै सूचनामा समावेश नगर्दा बैंकहरुले नियोजित रुपमा यस्ता सूचनामा सेवाग्राहीलाई झुक्याउन खोजि रहेका छन् वा भुलबस यस्तो भैरहेको छ भन्ने चासो बढेको छ ।
सिभिल बैंक एउटा उदाहरण मात्र हो । कतिपय बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर सार्वजनिक गर्दा यस्ता कमजोरीहरु देखिने गरेका छन् । यसले जुन उद्धेश्यका लागि सूचना सार्वजनिक गरिएको हो, त्यो नै प्रष्ट हुन नसक्ने अवस्थाले व्याजदरको सूचना झारो टार्ने मेलो मात्र हो कि भन्न सक्ने अवस्था रहन्छ ।
सिभिल बैंकको सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०.९८ प्रतिशत रहेको आधार दर अहिले ११.३१ प्रतिशतमा उक्लिएको त्रैमासिक वित्तीय विबरणमा देखिन्छ । जुन विबरण बैंकले गत जनवरी २१ का दिन सार्वजनिक गरेको व्याजदरको सूचनामा भने खुलाएको छ ।
अघिल्लो पटक बैंकले सार्वजनिक गरेको व्याजदरको सूचना यहाँ क्लिक गरेर हेर्नुहोस् ।
बुधबार सार्वजनिक भएको व्याजदरको सूचना यहाँ क्लिक गरेर हेर्नुहोस् ।
उल्लेखित २ वटा सूचना सार्वजनिक भएको अवधिमा बैंकको ओभरड्राफ्ट कार्ड शिर्षकमा सामान्य परिमार्जन भएको छ भने संस्थागत मुद्धती निक्षेप नविकरणको शिर्षक पछिल्लो पटक हटाइएको छ । अरु सूचकहरुमा खासै परिवर्तन भएको देखिँदैन ।
तर सेवाग्राहीले भने वास्तविक व्याजदर हिसाव गर्नका लागि विगतमा बैंकले सर्वजनिक गरेको आधार दरको दस्थावेज खोज्नु पर्ने अवस्था देखिन्छ ।