कमोडिटि एक्सचेन्जको लाइसेन्स पुन: खुलाउने तयारी,मापदण्डसहित नयाँ आवेदन खोलिने

Apr 19, 2021 04:51 PM Merolagani

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले पुन: बस्तु बजार सञ्चालन "कमोडिटि एक्सचेन्ज' को लागि नयाँ लाइसेन्स खुल्ला गर्ने भएको छ। यस पटक बोर्डले निश्चित मापदण्डसहित नयाँ लाइसेन्स खोल्ने अन्तिम तयारी गरिरहेको बोर्ड उच्च स्रोतले बताएको छ।

यस अघि बोर्डले दुई पटक कमोडिटि एक्सचेन्ज सञ्चालनको लागि भन्दै आवेदन खोलिसकेको छ। तर दुई पटक परेका आवेदनमा बोर्डले कुनै निर्णय गरेको थिएन।

यस पटक बोर्डले नेपाली उत्पादनलाई बढी प्राथमिकता दिएर कारोबार गराउने हिसाबले नयाँ लाइसेन्स खोल्ने तयारी गर्दै छ। यस अघि भने विदेशी उत्पादन मात्रै कमोडिटि बजारमा कारोबार हुने गरेका थिए। तर यस पटक भने विदेशी उत्पादन भन्दा स्वदेशी उत्पादनलाई बढी फोकस गर्ने गरी लाइसेन्स खुलाउने तयारी बोर्डको छ। 

बोर्डले यस पटक सञ्चालनमा आउन चाहेका कम्पनीको मापदण्ड सहित नै आवेदन खुलाउने तयारी गरिरहेको छ। यस अघि सञ्चालनमा आउने कम्पनीको मापदण्ड तोकिएको थिएन। कुनै मापदण्ड बेगर नै आवेदन खोलिएको कारण उनीहरुलाई के आधारमा लाइसेन्स दिने भन्ने विवाद बोर्ड बैठकमा बारम्बार हुने गरेको थियो। सोही कारण दुई पटक आवेदन खोलिए पनि बोर्ड सञ्चालक समितिले चित्त नबुझाउँदा उक्त विषयले निकास पाउन सकेको थिएन।

यस पटक भने बोर्ड सञ्चालक समितिले दिएको निर्देशन अनुसार काम अघि बढेकोले पुन: नयाँ लाइसेन्स खुलाउन लागिएको स्रोतको दाबी छ। यस अघिको बोर्ड बैठकले कुनै पनि कम्पनीलाई लाइसेन्स दिनु भन्दा अघि त्यसको आवश्यकता,औचित्य र कम्पनीको मापदण्ड सहित अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशन बमोजिम अध्ययन प्रतिवेदन तयार भएकोले अब लाइसेन्स प्रक्रिया अघि बढ्ने स्रोतको दाबी छ। यसै विषयमा सञ्चालक समितिका सदस्य अशोक पौडेलकाे नेतृत्वमा गठित कमिटीले नै अध्ययन गरेको छ। उसले आवश्यकता,औचित्य र कम्पनीको मापदण्ड सहित रिपोर्ट तयार गरेको छ। सोही रिपोर्टमा औँल्याइएका विषयलाई आधार बनाएर नयाँ लाइसेन्स प्रकिया अघि बढाउने तयारी रहेको स्रोतको भनाई छ। अध्ययन कमिटीमा  बोर्डका कार्यकारी निर्देशक नीरज गिरि र उप निर्देशक डा.नवराज अधिकारी सदस्य छन् । अध्ययन समितिले प्रतिवेदन बोर्ड समक्ष बुझाइ सकेको छ। "हामीले रिपोर्ट बोर्ड अध्यक्षलाई बुझाइ सकेका छौ" कमिटी संयोजक अशोक पौडेलले मेरो लगानीसँग भने। साे प्रतिवेदनमाथि बाेर्डमा छलफल भएपनि बोर्डले अझै पनि कुनै निर्णय भने गरिसकेको छैन। "रिपोर्ट बोर्डमा छलफलकै क्रममा रहेको छ। निर्णय हुन भने बाँकी छ" बोर्ड प्रवक्ता नीरज गिरिले मेरो लगानीसँग भने।

तयार रिपोर्टमा कम्पनीको चुक्ता पूँजीलाई फेर बदल गरिएको छ। यस अघि ५० करोड रुपैयाँ हुनु पर्ने व्यवस्था गरिएको थियो। त्यसैगरी ब्रोकर कम्पनी र विदेशी कम्पनीको हिस्सा,पहिले दिएका कम्पनीको आवेदन,सङ्ख्या समेत सुझाइएको छ। नेपाली बजारकोलागि कम्तीमा दुई एक्सचेन्जको मात्रै आवश्यकता रहेको रिपोर्टमा सुझाइएको छ। सञ्चालक कम्पनी र सञ्चालक सदस्यको मापदण्ड तोकिएको छ। कारोबारमा आउने बस्तुमा निक्कै कडाइ गरिने भएको छ। यस अघिको भन्दा नितान्त फरक र भूगोल अनुसारको कारोबारलाई बोर्डले प्रोत्साहित गर्नु पर्ने रिपोर्टमा उल्लेख छ।

पछिल्लो पटक नेपाल कमोडिटी एक्सचेन्ज,नेपाल मर्केन्टाइल एक्सचेन्ज,कमोडिटी फयुचर्स एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल र रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज गरी पाँच वटा कम्पनीले आवेदन दिएका थिए।

यस अघि आवेदन दिएकाहरूकाे  आवेदनलाई रद्द गर्दै पुन: नयाँ आवेदन खोल्ने बोर्डको योजना छ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।