म्युचुएल फन्ड बाहेक १९ कम्पनीले गरे लाभांश घोषणा, नगद भन्दा बाेनसमा जाेड, कसकाे कति ? (सूचीसहित)

Oct 05, 2024 06:13 PM MeroLagani



दशैं नजिकिएसँगै सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । म्युचुएल फन्डपछि विस्तारै अन्य सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणाको रफ्तार बढाउन थालेका हुन ।

अहिलेसम्म क्षेत्रगत रुपमा सबैभन्दा धेरै ९ वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने त्यसपछि माइक्रोफाइनान्सका ४ वटा कम्पनी, इन्भेष्टमेन्ट समूहका दुई वटा कम्पनी, बैंक समूहका २ वटा, होटल समूहका एक र उत्पादनमूलक समूहको एक वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

अहिलेसम्म उत्पादन तथा प्रशोधन समूहमा रहेको युनिलिभर नेपालले सबैभन्दा बढी १७ सय १४ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । कम्पनीले हरेक वर्ष प्रति कित्ता १ हजार भन्दा बढी नगद लाभांश दिँदै आएकोमा यस वर्ष भने अहिलेसम्मकै सबैभन्दा बढी नगद लाभांश घोषणा गरेको हो ।

दोस्रो धेरै लाभांश दिने कम्पनीमा हाइड्रोपावर समूहबाट रुरु जलविद्युत परियोजना लिमिटेड परेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने शून्य दशमलब ७८९ प्रतिशत नगद लाभांश गरेर कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

त्यसैगरी एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश गरेर कुल १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

वित्तीय क्षेत्रअन्तर्गतकै गुराँस लघुवित्त, आशा लघुवित्त, स्वावलम्बन लघुविरुत्त र फवार्ड लघुवित्तले भने राष्ट्र बैंकले तोकेको अधिकतम सीमाको अधिनमा रहेर लाभांश घोषणा गरेका छन् । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न छुट दिएको छ । १५ प्रतिशतभन्दा बढी लाभांश बाँडनु परेमा ग्राहक संरक्षण कोष, सामािजक उत्तरदायित्व कोषलगायतका विविध कोषहरुमा तोकिएको रकम छुट्याएपछि मात्रै वितरण गर्न पाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

गुराँस, आशा र स्वावलम्बन लघुवित्त तीनै कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका हुन । त्यसैगरी फवार्ड माइक्रोफाइनान्सले १३.३ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हाइड्रोपावर कम्पनीहरुले ३ देखि १५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन् । अधिकांश हाइड्रोपावर कम्पनीले बोनस शेयरमै जोड दिएका छन् । लाभांश घोषणा गरेका ५ वटा हाइड्रोपावर कम्पनीमध्ये १ वटा कम्पनीले मात्रै नगद लाभांशमा जोड दिएको छ । माण्डु हाइड्रोपावर १२ प्रतिशत नगद लाभांश मात्रै घोषणा गरेको छ । अपि पावरले ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलब ४७३७ प्रतिशत नगद लाभांश घोषणा गरेको भए पनि विद्युत नियमन आयोगले स्वीकृति नदिएकाले अहिलेलाई लाभांश स्थगित भएको छ । अपि पावरले एक सू्चना प्रकाशित गरी साधारण सभा समेत स्थगित गरेको छ ।

त्यस्तै सुरपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने भगवती हाइड्रोपावरले पनि ४ प्रतिशत बोनस र १०.७३ प्रतिशत नगद लाभांश गरेर कुल १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो । यता साहस ऊर्जाले भने ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साहस ऊर्जाले ८ प्रतिशत बोनस शेयर ०.४२१ नगद लाभांश दिएको छ भने अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिशत बोनस र त्यसमा लाग्ने ०.१५७ नगद लाभांश गरी ३.१५ प्रतिशत लाभांश घोषणा गरेको छ।

इन्भेष्टमेन्ट समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपाल र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । दुवै कम्पनीले बोनस शेयरमै जोड दिएका छन् । हाथवेले १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस शेयर मात्रै घोषणा गरेको छ । त्यसमा लाग्ने कर आफैले व्यवहोर्ने सूचना कम्पनीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।

होटल समूहबाट अहिलेसम्म ओरियन्टल होटल्स लिमिटेडले मात्रै लाभांश घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।