इराकमा १२ नेपाली नागरिक मारिँदा होस् या भारतीय कलाकार रितिक रोशनले नेपालको बारेमा नकारात्मक धारणा व्यक्त गर्दा नेपालमा ठूलो तोडफोडका साथ आगजनी हुने गरेको छ । यस्ता मानव सिर्जित आन्दोलनका कारण देशमा देखा परेको अशान्ति, अस्थिरता र कानुन उल्लंघनका घटना बढ्दै जाँदा यसले अन्तर्राष्ट्रिय छवि नराम्राे हुन्छ जसको असर नेपाली पासपोर्ट लिएर विदेश यात्रा गर्दा समेत नराम्रो पर्ने गरेको छ।

हालै भएको जेनजी आन्दोलनले हिल्टन होटलसहित देशका दर्जनौं होटल तथा रिसोर्टहरुमा तोडफोडका साथै आगजनी भएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय छवि नराम्रो हुन गएको छ । हिल्टन भनेको विश्वको प्रसिद्ध होटल ब्रान्ड हो, प्रसिद्ध ब्रान्ड भित्रिंदा जति सकारात्मक प्रचार भयो, त्यही मात्रामा नकारात्मक कुराको लागि पनि नेपालको कुप्रचार हुने देखिएको छ । नेपाली आफैंले गर्दा नेपाली पासपोर्ट बोकेर विदेश भ्रमणमा जाँदा समेत कमजोर रेटिङका कारण धेरै केरकार हुने गरेको अनुभव धेरै विदेश यात्रामा हिडिंरहने यात्रुहरु बताउँछन् ।
नेपालको पासपोर्टको साख विस्तारै गिर्दै जानुमा नेपालीहरुकै कारण रहेको बताउँछन् पूर्व परराष्ट्र सचिव समेत भइसकेको पूर्वजर्मन राजदुत डा. मदन भट्टराई । विगत ३० वर्षदेखि नेपाली पासपोर्टको साख घट्दै गएको उनको अनुभव छ । ‘सन् १९९२ सम्म जर्मनीले नेपाललाई अन अराइभल भिसा दिन्थ्यो । अहिले अन अराइभल भिसाको कुरै छोडौं । समय दिएर भिसा आवेदन गर्दा पनि रिजेक्ट हुन्छ ।’–उनले बताए ।
हामीले विदेशमा जाँदा आफ्नो पासपोर्टको इज्जत राख्न नसक्दा नै यस्तो भएको बताउँछन् अनुभवीहरु । भिजिट भिसामा कुनै देश गएर त्यही लुकेर काम गरिदिने, कुटनीतिक राहदानीमा भ्रमणमा गएर पनि हराउने जस्ता घट्ना हुन थालेपछि भने नेपालीहरुलाई धेरै देशले भिसा टाइट गर्न थालेको हो । ‘अहिले सामान्य राहदानी मात्रै होइन, कुटनीतिक राहदानीलाई समेत विदेशीले पत्याउन छोडेको छ ।’–पूर्वपरराष्ट्र सचिव डा. भट्टराईले भने ।
नेपालको पासपोर्ट धेरै दुरुपयोग भएपछि सन् २०१० बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरियो । त्यो भन्दा अगाडि पनि धेरै पासपोर्ट दुरुपयोग भएको थियो । मेसिन रिडेबल पासपोर्ट जारी गरेर खासमा पासपोर्टको दुरुपयोगलाई नियन्त्रण गर्न खोजिएको थियो र अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि त्यो बेला नेपालले मेसिन रिडेबल पासपोर्ट जारी गर्नै पर्ने बाध्यता थियो।
हरेक देशले ट्राभल एड्भाइजरी जारी गरेको हुन्छ जसले सम्बन्धित देशको तत्कालीन अवस्था कस्तो छ भन्ने सामान्य जानकारी हुन्छ । नेपाललाई सन् २००७ तिर जर्मनले नेपालमा सावधानीपूर्वक मात्रै भ्रमण गर्न भनेर ट्राभल एड्भाइजरीमा राख्यो । डा. भट्टराईले यसले नेपालको पर्यटनमा असर पार्ने सम्झेर हटाउन अनुरोध गर्ने मनसायले सम्बन्धित कार्यालय गए तर उनले त्यहाँ सम्झाउनुको सट्टा देशमा भएका नकारात्मक क्रियाकलापहरुको लामो सूची दिएको उनले स्मरण गरे । उनकाअनुसार समय समयमा हवाई दुर्घटना, सडक दुर्घटना तथा सडकको अवस्था, अस्पतालको अवस्थालगायतका कुराहरु उल्लेख हुँदा त्यसलाई तत्काल नकार्न सकिने अवस्था नभएको उनले बताए । कुनै निश्चित समय तोकेर यति अवधिमा यति हवाई दुर्घटन, यति सवारी दुर्घटना भएको रेकर्डसहित कुनै ठाउँमा दुर्घटना हुँदा काठमाडौं, पोखरा या अन्य ठूला शहरहरुमा उपचारको लागि लैजानुपर्ने बाध्यता रहेको समेत उल्लेख गरेको उनले बताए ।
जर्मनीमा हुँदा नेपालमा ट्राभल गर्दा विचार गरेर मात्रै भ्रमण गर भनेर ट्राभल एड्भाइजरीमा राखिदियो । २००७ देखि २००९ सम्म म त्यो हटाउन भनेर तिनीहरको परराष्ट्र मन्त्रालय गरे । तिनीहरुले मलाई एउटा लामो सूची दियो जसमा तिमीहरुको देशमा बेला बेलामा विमान दुर्घटना हुन्छ । ती विमानहरुको राम्रो मर्मत सम्भार हुँदैन । विगत यति अवधिमा यति वटा विमान दुर्घटना भयो ।
मानव सिर्जित मात्र होइन, प्राकृतिक कारणले पनि नेपालमा भ्रमणको लागि सुरक्षित नभएको कुराहरु ट्राभल एड्भाइजरीमा उल्लेख गर्ने गरिएको उनले बताए। ट्राभल एड्भाइजरीमा नकारात्मक कुराहरु नलेखिनका लागि भने नेपाल आफैं संयमित हुनुपर्छ । अहिले जस्तो बन्द हड्ताल निरन्तर भइरहे भने नेपालमा पर्यटक नआउने मात्रै होइन, नेपालीहरुलाई विदेशका धेरै देशहरुले भिसा दिन समेत आनाकानी गर्ने क्रम झन बढ्नेछ । नेपाल भ्रमणको लागि सुरक्षित हो, नेपाल राम्रो छ भन्ने सन्देश फैलाउन नेपालले एयरपोर्टदेखि नै सुधारको कामहरु गर्नुपर्ने डा. भट्टराईले बताए । विमानस्थलमा तीन चार वटा हवाईजहाज एकैपटक ल्यान्ड भए ट्रली नपाउने समस्या छ भने एयरपोर्ट बाहिर पनि ट्याक्सी चालकहरुले तानातान गर्ने अवस्था छ । एयरपोर्टबाटै सार्वजनिक सवारी साधनहरु राखेर व्यवस्थित बनाउनु पर्ने उनले बताए ।
अन्तर्राष्ट्रिय छवि कमजोर हुँदा नेपालको पासपोर्टको साख समेत विस्तारै गिर्दै गइरहेको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ हरेक वर्ष सार्वजिनक गर्ने पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपालको स्तर १ सयौं स्थानमा रहेको छ । हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०० औं स्थानमा रहेको छ । नेपाल सन् २०२४ मा ९८ औं, सन् २०२२३ मा १०३ औं, २०२२ मा १०५ औं थियो ।
सिंगापुर, दक्षिण कोरिया, जापान, जर्मनी, इटाली जस्ता देशहरु पार्सपोर्ट इन्डेक्सको शीर्ष स्थानमा रहेका छन् । २०२५ को पासपोर्ट इन्डेक्समा भारत छिमेकी देश भारत ८१ औं नम्बरमा रहेको छ ।
नेपाल भन्दा तल्लो वरियतामा द्वन्दग्रस्त देश सोमालिया देखि पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्टले कुन देशलाई कहाँ भिसा दिन्छ वा दिन्न भन्ने आधारमा वरीयता निकाल्छ ।
हेन्लीले १९९ विभिन्न राहदानी र २२७ विभिन्न यात्रा गन्तव्यको आधारमा अध्ययन गरिएको जनाएको छ। मासिक रूपमा अद्यावधिक गरिएको द हेन्ली पासपोर्ट सूचांक आफैंमा बलियो र भरपर्दो वरीयताका रूपमा लिइँदै आएको छ ।