तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३ खर्ब ४१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष असोजसम्म ३ खर्ब १९ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ६.८१ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकमा महाप्रसाद अधिकारीको कार्यकाल सकेर डा. विश्व पौडेल गभर्नर भएर आएपछि उनले पहिलो घरको हकमा व्यक्तिगत आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याएका थिए । ऋणको माग खासै नहुनु तर प्रणालीमा तरलता थपेको थप्यै हुँदा ऋणको माग बढाउने उद्देश्यले गभर्नर पौडेलले आवासीय घर कर्जाको सीमा बढाएर ३ करोड रुपैयाँ पुर्याएका छन् । त्यति मात्रै होइन, अत्यधिक तरलताको असर स्वरुप बैंकहरुले अहिले स्थिर ब्याज दरमै बहुवर्षीय घर कर्जा प्रवाह गरिरहेका छन् । बेस रेट सस्तो भएका बैंकहरुले अहिले साढे ५ प्रतिशतसम्मै पनि घरकर्जा उपलब्ध गराइरहेका छन् । सस्तो ब्याज दरमा घर कर्जा उपलब्ध भएकाले पछिल्लो समय स–साना घर कर्जाको माग भने बढिरहेको एक बैंकरले मेरो लगानीलाई बताए । राष्ट्र बैंकको ऋण प्रवाहमा खुकुलाे नीति अपनाए पनि ऋणको माग भने अझै पनि बेस्सरी नबढेको उनले बताए ।
चालु आवको असोज मसान्तसम्म सबैभन्दा बढी घर कर्जा एनआईसी एसिया बैंकबाट ४४ अर्ब ४८ करोड रुपैयाँ बराबरको घर कर्जा गएको छ । यद्यपि एनआईसीको घर कर्जा अघिल्लो वर्ष सोही अवधिको भन्दा २०.६२ प्रतिशतले कम हो ।
एनआईसी एसिया पछि धेरै घर कर्जा प्रदान गर्ने बैंकको दोस्रो सूचीमा ग्लोबल आईएमई बैंक परेको छ । कम्पनीले ४३ अर्ब ९५ करोड रुपैयाँ बराबरको घर कर्जा प्रवाह गरेको छ । त्यसपछि क्रमशः राष्ट्रिय वाणिज्य बैंकले ३१ अर्ब २० करोड, नबिल बैंकले २९ अर्ब ९८ करोड, एभरेष्ट बैंकले २४ अर्ब ९३ करोड, एनएमबी बैंकले २० अर्ब ९ कराेड, लक्ष्मी सनराइज बैंकले १९ अर्ब, सिद्धार्थ बैंकले १६ अर्ब २२ करोड, प्रभु बैंकले १३ अर्ब ५९ करोड, कुमारी बैंकले १२ अर्ब ३३ करोड, सिटिजन्स बैंक इन्टरनेशनलले १२ अर्ब २० करोड र नेपाल बैंकले १२ अर्ब ९ करोड रुपैयाँ घर कर्जा प्रदान गरेको छ ।
यता सानिमा बैंकले ११ अर्ब १ करोड, कृषि विकास बैंकले १९ अर्ब २६ करोड, प्राइम कमर्सियल बैंकले ९ अर्ब १० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ८१ करोड, माछापुच्छे् बैंकले ६ अर्ब ५६ करोड, हिमालयन बैंकले ५ अर्ब ३८ करोड र नेपाल एसबीआई बैंकले सबैभन्दा कम २ अर्ब ७५ करोड रुपैयाँ घर कर्जा दिएका छन् ।
चालु आवको प्रथम त्रैमासमा सबैभन्दा धेरै व्यक्तिगत आवासीय घर कर्जा बढाउने बैंकमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थ बैंकले गत वर्ष १२ अर्ब ५५ करोड रहेको घर कर्जा २९.२७ प्रतिशतले बढार १६ अर्ब २२ करोड पुर्याएको छ । त्यस्तै एनएमबी बैंकले १५ अर्ब ९७ करोडबाट २५ प्रतिशतले बढाएर २० अर्ब ९ करोड रुपैयाँ पुर्याएकाे छ ।
त्यस्तै सानिमा बैकले २३.७१ प्रतिशत, ग्लोबल आईएमई बैंकले २२.८६ प्रतिशत, राष्ट्रिय वाणिज्य बै.कले २०.२६ प्रतिशत, नेपाल बैंकले २०.१६ प्रतिशतले घर कर्जा बढाएका छन् । सिटिजन्स बैंकले १८.५७ प्रतिशतले घर कर्जा बढाउँदा नेपाल एसबीआई बैंकले १७.३३ प्रतिशत, नबिल बैंंकले १३.१६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ११.३१ प्रतिशतले घर कर्जा बढाएका छन्। एभरेष्ट बैंकले ९.१३ प्रतिशत र हिमालयन बैंकले ५.८५ प्रतिशतले घर कर्जा बढाउँदा लक्ष्मी सनराइज बैंक, माछापुच्छे् बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैकको घर कर्जा नगन्य मात्रामा मात्रै बढेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैक र एनआईसी एसिया बैंकको घर कर्जा समीक्षा अवधिमा घटेको छ ।