धितोपत्र बोर्ड सञ्चालक समितिकाे बैठकले केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्दै छ। उक्त निर्देशिका स्वीकृत भए लगत्तै आउने दिनमा कुनै पनि कम्पनीको आइजिन डबल हुने छ। एकथरी आइजिन संस्थापक शेयरको हुने छ भने अर्कोथरी आइजिन पब्लिकको हुने छ।
नेपाल धितोपत्र बोर्डले सिडिएससीले पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ को अध्ययन गरिरहेको थियो। गएको साउन महिनामा नै सिडिएससीले निर्देशिका स्वीकृतिको लागि बोर्ड पठाएको हो। बोर्डले उक्त निर्देशिका कानुन प्रबलीकरण शाखा मार्फत अध्ययन गराइरहेको थियो। उक्त निर्देशिका अध्ययन गर्न एक समिति नै गठन गरिएको थियो। कानुन मन्त्रालयका सहसचिव तथा बोर्ड सञ्चालक सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा रहेको समितिले सो निर्देशिका अध्ययन गरिरहेको थियो। जुन अध्ययन समितिले टुङ्ग्याएको छ।
अध्ययन प्रतिवेदन आउने बोर्ड बैठकमा राखेर उक्त निर्देशिका पास गर्दै कार्यान्वयनको लागि सिडिएससी पठाइने छ। “गठित समितिले अध्ययन सकाएको छ। आउने बोर्ड बैठकबाट पास गरेर हामी कार्यान्वयनको लागि पठाउँछौ,” नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मेरो लगानीसँग भने।
सिडिएससीले पठाएको निर्देशिकामा कुनै पनि कम्पनीको आइजिन नम्बर दुई हुनु पर्ने उल्लेख छ। जसलाई बोर्डले जस्ताको त्यस्तै पास गर्ने भएको छ। “निर्देशिका सिडिएससीले पठाएको हो। त्यसले गर्दा उसले पठाएको निर्देशिका स्वीकृत गर्ने जिम्मा हाम्रो हो। उसले पठाएको निर्देशिका नबिगारी हामी स्वीकृत गर्दै छौ,” श्रेष्ठले भने।
श्रेष्ठले नबिगारी हामी स्वीकृत गर्दै छौ भन्नुको आशय भनेको आउने दिनमा कुनै पनि कम्पनीको आइजिन दुई वटा हुने छ। एक संस्थापक र अर्को पब्लिक।
बोर्डले समयमा नै आइजिनको लफडा नसल्टाइदिएका कारण संस्थापकको खातामा शेयर जान सकेको छैन। आइजिनको लफडाले गर्दा पछिल्लो समय जारी भएका प्राथमिक निष्कासनका संस्थापक शेयर खातामा जान नसकेका हुन्। गत आर्थिक वर्षको चैत महिना देखि नै कुनै पनि कम्पनीको संस्थापक शेयर डिम्याट खातामा गएका छैनन्।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत नगरिदिएका कारण कुनै पनि कम्पनीको शेयर खातामा नगएको सिडिएससीले जनाएको छ। “हाम्रो साउन ११ गते आइतबार बसेको बोर्ड बैठकले निर्देशिका पारित गरेर स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको छौ। उक्त निर्देशिका नआएको कारण ती कम्पनीको शेयर खातामा पठाउन नसकिएको हो,” सिडिएससीका एक उच्च अधिकारीले मेरो लगानीसँग भने।
कुनै पनि कम्पनीको संस्थापक शेयर र पब्लिक शेयरको आइजिन फरक फरक हुनुपर्छ भनेर निर्देशिकामा उल्लेख छ। निर्देशिका स्वीकृत भएर नआउन्जेल पठाउनै नसकिने तर्क सिडिएससीको छ। “कुनै पनि कम्पनीको संस्थापक र पब्लिक शेयरको फरक फरक आइजिन हुने व्यवस्था निर्देशिकामा छ। जसले गर्दा उक्त निर्देशिका नआएसम्म खातामा पठाउनै सकिँदैन,” ती अधिकारीले भने।
एउटै आइजिन हुने या दोहोरो हुने भन्ने अन्तिम निर्णय धितोपत्र बोर्डले गर्ने छ। त्यसपछि सबै कुरा क्लियर हुन्छ। अनि शेयर खातामा जाने ती अधिकारीले बताए।
बोर्डले निर्देशिका स्वीकृत गरे लगत्तै सबै कम्पनीको संस्थापक शेयर शेयरधनीको खातामा पठाइने सिडिएससीको भनाई छ। अहिले १५ कम्पनीको संस्थापक शेयर खातामा जान बाँकी छन्।
यस अघि संस्थापकले लकइन अवधि अघि नै शेयर बिक्री गर्ने अवस्था सिर्जना हुन थालेपछि त्यसलाई निस्तेज गर्न भन्दै सिडिएससीले डबल आइजिनको अवधारणा अघि सारेको थियो। जसको चर्को विरोध र स्वागत दुवै हुँदै आएको छ। खासगरि विद्युत् उत्पादकहरूको छाता सङ्गठन “इप्पान”ले डबल आइजिनको संस्थागत रुपमा नै विरोध गर्दै आइरहेको छ। तर केही अगुवा लगानीकर्ताहरूले भने यसको पक्षमा वकालत गर्दै आइरहेका छन्। अगुवा लगानीकर्ता केशव कोइराला डबल आइजिन मात्रै नभएर कारोबार समेत दुई सिम्बोल मार्फत हुनु पर्ने बताउँछन्। “आइजिन मात्रै डबल होइन सिम्बोल पनि डबल गर्नु पर्छ। दुई थरी सिम्बोल मार्फत कारोबार हुने व्यवस्था मिलाउनु पर्छ,” कोइरालाले भने।
डबल आइजिन कै कारणले गर्दा इमर्जिङ् नेपालको लक इन पिरियड सकिए पनि संस्थापक शेयर कारोबारमा आउन सकेको छैन। निर्देशिका आए लगत्तै कम्पनीको लफडा पनि समाप्त हुने छ।