निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ

Dec 09, 2025 01:39 PM Merolagani



भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताएका छन्। मंगलवार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताएका हुन्।

उनले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिए । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाइ पनि कारबाही गरिनुपर्ने बताए । बजेट खर्च गराउने काममा अर्थमन्त्रालय, विभागिय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

 

मन्त्री घिसिङले भने–‘एउटा प्रोजेक्ट म्यानेजर आउछ । त्यसले निर्णय नै नगरेर स्केप हुने, अर्को प्रोजेक्ट म्यानेजर आउछ उसले पनि निर्णय नगर्ने उसले पनि स्केप गर्ने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । जसले निर्णय गर्दैन, कामै गर्दैन त्यस्तालाई कारबाही गर्नुपर्छ । छानविन गरेर कारबाही गर्नुपछ । नत्र भने त कसरी प्रोजेक्ट बन्छ । प्रोजेक्ट बन्दै बन्दैन । निर्माण व्यवसायीकोतर्फबाट हेर्दा करिव २०० ठेक्का रुग्ण रहेको पाइयो । हाम्रो तर्फबाट हामीले बजेट दिन नसकेको यी सबै कारणले पनि धेरै प्रोजेक्टहरु रुग्ण छन् । त्यसलाई हामीले दण्डित गरेका छैनौँं । त्यो पनि छानविनको दायरामा आउनुपर्छ । त्यो पार्ट अझै बाँकी छ । रुग्ण आयोजनाहरु ठेकदारका कारणले मात्रै अलपत्र परेको होइन अरु पनि कारण छन् त्यसलाई पनि हामीले छानविनको दायरामा ल्याउनुपर्छ । होइन एउटा जिम्मेवार प्रोजेक्ट म्यानेजरले जिम्मेवारी नलिने, निर्णय नलिने, आफ्नो पालामा केही पनि नगर्ने प्रवृत्ति बढ्छ । अहिले अख्तियारले पनि निर्णय नगर्नेलाई पनि कारबाही हुनुपर्छ भनेको छ । त्यसैले निर्णय नगर्नेलाई कारबाही हुनुपर्छ । समयमा निर्णय नलिदाँ कति बेफाइदा भयो हेर्नुपर्छ । ४३ करोड घाटा भयो विद्युत प्राधिकरणलाई भनेर आयो । ४३ करोड थिएन् २१ करोड जति घाटा थियो । समयमा निर्णय नगरेपछि अर्को कोटेसन माग्नुपर्यो । तत्कालिन समयमा तत्कालिन कार्यकारी निर्देशकले निर्णय नगर्दा त्यो भएको हो । एकमहीनाभित्र कोटेशन मागेपछि एकमहिना भित्रै निर्णय गर्नुपर्यो नि । आफू निर्णय नगर्ने अनि त्यसको जिम्मेबारी अरुलाई बोकाउने काम गर्नु हुँदैन । त्यसैले निर्णय एकदमै महत्वपूर्ण छ ।’

मन्त्रि घिसिङले निर्माण व्यवसायीहरुमा पनि धेरै समस्या रहेको बताए । उनकाअनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरु ज्वाइन्ट भेन्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भएपनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्याक्टर समिट गर्न जरुरी रहेको बताए । कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरुको प्रगति कमजोर भइरहने उनको भनाइ छ ।

उनले भने, ‘ठेकदारहरु अब एकदमै क्षमता बढाएर आउनुपर्छ । धेरै ठेकदारको क्षमतामा समस्या छ । ठूलठूला कन्ट्याक्टरहरुले अरु साथीहरुलाई ल्याउनुहुन्छ जिम्मा लगाउनुहुन्छ, कामै हुँदैन । अब डुब्नै लाग्यो भनेपछि आफैँ काम गर्नुपर्छ । उहाँहरुलाई पनि घाटा नै छ । मैले देखिरहेको छु धेरै साथीहरुको आफैँले पिकअप समेत गर्नुभएको छ । करोडौँ घाटा खाएर काम गर्नुभएको छ ।’

मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने बताए ।