योसँगै दुवै पार्टीहरु र काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहसमेतलाई मिलाएर बलियो बैकल्पिक पार्टी बनाउने अभियानमा रहेका पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठलगायतका नेताहरु भने यता न उताको अवस्थामा पुगेका छन् । केही समय अघि रास्वपा त्यागेकी श्रेष्ठ रास्वपा, उनेपा र साहसमेतका स्वतन्त्र भनिएका व्यक्तिहरुलाई सकेसम्म एउटै पार्टी बनाउने, नसके चुनावी तालमेल गराउने प्रयास गर्दै आएकी छन् । तर, अहिले उनेपा र रास्वपाका नेताहरुको साथै कुनै पनि विषयमा खुलेर कुरा नगर्ने मेयर बालेनको शैलीबाट पनि आजित भएको उनी निकट स्रोतको भनाइ छ ।
उर्जा मन्त्री कुलमान घिसिङ ‘डिफ्याक्टो लिडर’ रहेको उनेपाले आफ्नो पार्टीको लोकप्रियताबाट तर्सिएर रास्वपाले एकता र सहकार्यको नाममा आफूहरुलाई अल्मलाएको ठहर उनेपाको गत बिहीवारको केन्द्रीय समितिको ५औँ बैठकले गरेको थियो । पार्टीको उक्त निर्णयको बारेमा उनेपाले रास्वपालाई समेत जानकारी गराएपछि दुई पार्टी बीचको वार्ता र सहकार्य पूर्णरुपमा भाँडिएको हो ।
यद्धपी रास्वपाका केही नेताहरु भने पार्टी एकता सम्भव नभए पनि उम्मेद्वारले मनोनयन पत्र दर्ता गर्ने दिनसम्म चुनावी तालमेलको सम्भावना रहेको बताउँछन् । तर, उनेपाले भने रास्वपा उनेपाको लोकप्रियताबाट आत्तिएको निष्कर्षसहित अब उसँगको एकता र तालमेलको लागि वार्ता गर्ने नाममा समय बर्बाद नगर्ने बताएको छ ।

रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल र पुकार बम साथै उनेपाबाट गणेश घिसिङ, तारा जोशी र जिता लामालगायतका नेता निरन्तर संवादमा थिए ।
सहकारी ठगी प्रकरणमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले कुलमानको उदयसँगै आफू ओझेलमा पर्ने भयले सहकार्य गर्न नदिएको उनेपाका नेताहरु बताउँछन् । ‘आफू ठगी प्रकरणमा जेल पर्नु भएको छ । र त्यो मुद्दामा अदालतले के निर्णय दिने हो थाहा छैन, यस्तो अवस्थामा पनि उहाँलाई म भन्दा अरु लोकप्रिय होलान कि भन्ने भय देखियो । त्यसैले हामीलाई उम्मेद्वारको मनोनयन पत्र हुने दिनसम्मै अल्मलाउन हाल्ने र सँगठन विस्तारमा पनि अप्रत्यक्षरुपमा अवरोध सृजना गर्ने नियत देखेपछि हामी झस्किएका हौं,’ उनेपाका एक केन्द्रिय सदस्यले मेरो लगानीसँग भने, 'कुलमानजी हदैसम्म लचक हुनुभएको थियो । रविजीलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक बस्न तयार हुनुभएको हो । रविजी सभापति र कुलमानजी भावी प्रधानमन्त्री बन्ने गरी एकता गर्न रास्वपाकै थुप्रै साथीहरू पनि तयार हुनुहुन्थ्यो । तर, सहमति नजिक पुगेर पनि रास्वपाभित्रैबाट बिथोल्ने काम भयो।'
‘काठमाडौंका मेयर बालेन साहले पनि रवि र कुलमानलाई मिल्न सुझाव दिँदै आफ्नो समर्थन रहने बताएका थिए । पूर्व मन्त्री श्रेष्ठको मध्यस्ततामा बालेनले कुलमान र रविबीच एकता गराउने र आफूले पर्दा पछाडिबाट भूमिका खेल्ने प्रयास गरेका थिए । तर, रवि र कुलमानबीचको शक्तिको बाँडफाँडमै कुरा नमिलेपछि अब बालेनले कस्लाई समर्थन गर्ने हुन् भन्ने चासो उत्पन्न भएको छ । बाहिरबाट हेर्दा उनको समर्थन रविको तुलनामा कुलमानलाई हुने सम्भावना देखिन्छ । तर, ‘टीनएजरको जस्तो’ बेला बेलामा ‘मुड स्विङ’ भैरहने बालेनको ‘मुड’ चुनावको दिनसम्म कतातर्फ ढल्केला यसै भन्न सकिने अवस्था छैन । तर, रास्वपा र उनेपाका नेताहरुबीच भने बालेनको ‘आर्शिवाद’ लिन चुनावको दिनसम्म नै हानथाप हुने देखिएको छ ।