यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो ।
अब विराटनगरले भने इलिमिनेटरमा भिड्दै गरेको काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग पुन फाइनल प्रवेशका लागि खेल्नेछ ।
विराटनगरका ओपनर फाफ डू प्लेसिसले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । मर्चेन्ट डी लांगेले १५ रन जोडे । बसिर अहमेदको नाममा १२ रन रह्यो । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, स्कट कुग्गेलिन र अभिनाश बोहराले ले दुई–दुई विकेट लिए । चार ओभरमा हर्मितले २० रनमात्र खर्चिए । स्कट कुग्गेलिनले तीन ओभरमा नौ रन खर्चिए । हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो । विराटनगर विरुद्ध अर्धशतकपछि उनी सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले ८ खेलबाट २६४ रन बनाएका छन् । पोखरा एभेन्जर्सबाट खेलेका इंग्लिस विकेटकिपर एडम रोसिङटनले लिगमा ७ खेलबाट एक शतकसहित सर्वाधिक ३२३ रन बनाएका थिए ।