तर, ती ब्रान्डका उत्पादक कम्पनीहरूले देखाएको प्रतिक्रियाले भने निजी र सरकारी क्षेत्रबीचको 'मार्केटिङ' चेतको ठूलो अन्तर छर्लङ्ग पारेको छ।
गत शनिबार नेपालका प्रधानमन्त्री बालेन शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) द्वारा उत्पादित 'याक चीज' खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे। उनले तस्बिरसँगै 'से चीज' (Say Cheese) लेखेका थिए, जसलाई सामाजिक सञ्जालमा निकै रुचाइयो। त्यसको केही दिनपछि अर्थात् बुधबार, भारतीय प्रधानमन्त्री मोदीले इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीलाई पारले कम्पनीको 'मेलोडी' टफी उपहार दिएको भिडियो सार्वजनिक भयो।
यी दुई घटनाको समयलाई हेर्दा बालेनले शनिबार पोस्ट गरेका थिए भने मोदीको 'मेलोडी' उपहार बुधबार चर्चामा आयो। यसले गर्दा सामाजिक सञ्जालमा मोदीले बालेनको 'ब्रान्डिङ' शैलीलाई पछ्याएका हुन् कि भन्ने रोचक बहस सुरु भएको छ। यद्यपि, मोदी र मेलोनीको नाम जोडेर 'मेलोडी' ह्यासट्याग एक वर्षदेखि नै इन्टरनेटमा भाइरल थियो, जसलाई मोदीले यो पटक कूटनीतिक रूपमा प्रयोग गरे।
यस प्रकरणमा सबैभन्दा चाखलाग्दो पक्ष उत्पादक कम्पनीको प्रतिक्रिया रहेको छ। मोदीले मेलोडी उपहार दिनासाथ उक्त टफी उत्पादक निजी कम्पनी 'पारले प्रोडक्ट्स'ले तुरुन्तै सामाजिक सञ्जाल 'एक्स'मार्फत प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्यो। पारलेले यसलाई आफ्नो कम्पनीका लागि गर्वको विषय भन्दै उत्कृष्ट 'मार्केटिङ' अवसरका रूपमा उपयोग गर्यो।
यता नेपालमा भने प्रधानमन्त्री बालेनले सरकारी संस्थान डिडिसीको उत्पादनलाई सित्तैमा विश्वव्यापी प्रवर्द्धन गरिदिँदा पनि संस्थानले भने खासै उत्साह देखाएको छैन। डिडिसीले प्रधानमन्त्री बालेनको पोस्टलाई आफ्नो फेसबुक पेजमा 'सेयर' सम्म गरेको छ। तर हालसम्म आधिकारिक रूपमा धन्यवाद ज्ञापन गरेको छैन। एउटा सार्वजनिक व्यक्तित्वले आफ्नै देशको सरकारी उत्पादनको प्रचार गर्दा त्यसलाई ब्रान्डिङको ठूलो अवसर बनाउनुपर्नेमा डिडिसी चुकेको देखिन्छ।

सरकारी संस्थानहरूमा रहेको सुस्त कार्यशैली र बजार प्रवर्द्धनमा कम चासोका कारण डिडिसीले यो सुनौलो मौकामा केवल सेयरमै चित्त बुझाएको देखिन्छ। अर्कोतर्फ, भारतमा पारले जस्ता निजी कम्पनीले प्रधानमन्त्रीको सानो कदमलाई पनि व्यापारिक लाभ र ब्रान्ड भ्यालु बढाउन प्रयोग गरिसकेका छन्।
प्रधानमन्त्री मोदी र मेयर बालेन दुवैले आ–आफ्नो तवरले स्थानीय उत्पादनको चर्चा गराए पनि सरकारी संयन्त्र र निजी कम्पनीबीचको व्यावसायिक सक्रियताले भने दुई देशका संस्थागत सोचको फरक प्रष्ट पारेको छ। बालेन र मोदीको यो 'ब्रान्डिङ' शैलीले स्थानीय उत्पादनलाई माया गर्नुपर्छ भन्ने सन्देश त दिएको छ। तर सम्बन्धित निकायले त्यसलाई कसरी क्यास गर्ने भन्ने कुरा अझै महसुस गर्न सकेको छैन।