ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्ने अमेरिकाको घोषणा

May 24, 2026 11:09 AM Merolagani



अमेरिकाले ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। अब ग्रीन कार्डका लागि आवेदन दिने अधिकांश आप्रवासीले अमेरिका छोडेर आफ्नै देशमा रहेको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्ने भएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) का अनुसार केही विशेष अवस्थाबाहेक अमेरिकाभित्र बसेर ग्रीन कार्डका लागि ‘स्टाटस परिवर्तन’ गर्न पाइने व्यवस्था हटाइनेछ। यो कदम ट्रम्प प्रशासनको अवैध आप्रवासन नियन्त्रण प्रयासको हिस्सा मानिएको छ।

यस नीतिको आलोचना गर्दै केही पक्षले यसले लाखौँ आप्रवासीलाई समस्या पार्न सक्ने बताएका छन्। उनीहरुका अनुसार आवेदन प्रक्रिया लामो हुने भएकाले परिवार छुट्टिन सक्ने र देश छोडेपछि पुनः अमेरिका फर्किन पाइन्छ कि पाइँदैन भन्ने अन्योल बढ्न सक्छ।

ग्रीन कार्डले अमेरिकामा स्थायी बसोबास, काम गर्ने र स्वतन्त्र रूपमा यात्रा गर्ने अधिकार दिन्छ। यद्यपि, ग्रीन कार्डधारकले मतदान गर्न भने पाउँदैनन्। यो कार्ड १० वर्षका लागि जारी गरिन्छ र पछि नवीकरण गर्न सकिन्छ।