इप्पानमा ‘सिन्डिकेट’को अन्त्यः वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान खारेज, अध्यक्ष छान्न अब चुनावै लड्नु पर्ने

Jun 08, 2026 12:31 PM Merolagani



स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन जेठ २९ गते हुने भएको छ।

संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो। यस पटकको साधारणसभाले इप्पानको विधानमा महत्त्वपूर्ण संशोधन समेत गरेको छ। जेठ २५ गते बसेको कार्यसमितिको २०३ औं बैठकले इप्पान विधान २०७८ लाई संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विद्यमान व्यवस्थालाई खारेज गरेको छ। अबदेखि विधान अनुसार योग्य भएका व्यक्तिहरूले अध्यक्षलगायत सबै पदमा खुला रूपमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको इप्पानले जनाएको छ।

विज्ञप्ति अनुसार, यसअघि इप्पानलाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावमाथि छलफल भए पनि वैशाख ४ गतेको कार्यसमिति बैठकले हाललाई सो प्रक्रिया अघि नबढाउने र साविककै विधान अनुसार साधारणसभा गर्ने निर्णय गरेको थियो।

भ्रामक प्रचारको खण्डन

इप्पानले संस्थाका उप-महासचिव प्रकाशचन्द्र दुलालले लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दुलालले विधान संशोधनको मस्यौदा गायब भएको र विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको भन्दै सार्वजनिक रूपमा प्रचार गरेकोमा इप्पानले त्यसको कडा शब्दमा भर्त्सना गरेको छ।

संस्थाका अनुसार विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित छ। ‘संस्थाकै जिम्मेवार पदमा रहेका व्यक्तिबाट संस्थाको विरुद्धमा अनर्गल र कपोलकल्पित प्रचार हुनु खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी जेठ २९ गते हुने साधारणसभा र अधिवेशनलाई भव्य रूपमा सफल पार्न सम्पूर्ण ऊर्जा व्यवसायीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ। इप्पानमा हाल ७०० भन्दा बढी ऊर्जा उत्पादक कम्पनीहरू सदस्यका रूपमा आबद्ध रहेका छन्।

 




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।