नेतृत्वविहीन धितोपत्र बोर्डको वार्षिकोत्सवमा सुनसान कार्यालय, खस्कियो कर्मचारीको मनोबल

Jun 08, 2026 01:21 PM Merolagani



नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) आज जेठ २५ गते आफ्नो स्थापनाको ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको छ। 

विगतका वर्षहरूमा यस विशेष अवसरमा विभिन्न रचनात्मक, औपचारिक तथा विशेष कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा वार्षिकोत्सव मनाउने परम्परा थियो। तर, यस वर्षको वार्षिकोत्सव भने विगतको भन्दा बिल्कुलै फरक र निराशाजनक बनेको छ। बोर्डले आज कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन। केवल आफ्नो आधिकारिक वेबसाइटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको शुभकामना सन्देश प्रकाशित गरेर वार्षिकोत्सवको औपचारिकता पूरा गरिएको छ।

 

धितोपत्र बोर्ड अध्यक्षविहीन अवस्थामा रहँदा यसको दैनिक कार्यसम्पादन मात्र नभई गरिमा र संस्थागत साखमा समेत गम्भीर धक्का लागेको छ। अध्यक्ष नहुँदा बोर्ड आफ्नो वार्षिकोत्सव जस्तो महत्वपूर्ण अवसरमा एउटा सामान्य औपचारिक कार्यक्रम समेत आयोजना गर्न नसक्ने निरीह र शिथिल अवस्थामा पुगेको छ। यस दयनीय अवस्थाले नियामक निकायमा नेतृत्वको शून्यता रहँदा कस्तो प्रशासकीय र नीतिगत संकट निम्तिन सक्छ भन्ने कुरालाई छर्लङ्ग पारेको छ। सरकारले बोर्डको नयाँ अध्यक्ष नियुक्ति प्रक्रियामा गरेको चरम ढिलाइका कारण नै देशको समग्र पूँजी बजारको नियामक यस्तो गतिहीन अवस्थामा पुगेको बजार विश्लेषकहरूको ठहर छ।

यस निराशाजनक परिस्थितिका कारण बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन स्तर र मनोबल अत्यन्तै कमजोर बनेको छ। कर्मचारीको मनोबल कुन हदसम्म खस्किएको छ भन्ने कुरा धितोपत्र बोर्ड कर्मचारी यूनियनका अध्यक्ष अजय ढुङ्गानाले आज सामाजिक सञ्जालमा व्यक्त गरेको विचारले प्रष्ट पार्दछ। ढुङ्गानाले बोर्ड स्थापनाको यस महत्वपूर्ण दिनमा संस्थाको तीव्र गतिमा भइरहेको क्षयीकरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले विगत १० वर्षदेखि आफू यसै संस्थामा कार्यरत रहेको स्मरण गर्दै पछिल्लो समय संस्थाको ओरालो यात्रालाई नजिकबाट नियालिरहेको बताएका छन्।

कर्मचारी यूनियनका अध्यक्ष ढुङ्गानाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "यो संस्था नियामकको रूपमा बढ्दै गरेको र यही संस्था 'पब्लिक इन्ट्रेस्ट थ्योरी अफ रेगुलेसन' (नियमनको जनहित सिद्धान्त) विपरीत कसैको स्वार्थ पूरा गर्ने थलोको रूपमा ढल्दै गरेको नजिकबाट देखेको छु।" उनले बोर्डको नीति राज्यका भुइँमान्छेले स्पर्श गर्न सक्ने हुनुपर्ने र गरिब तथा धनीबीचको खाडल कम गर्नतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका छन्। धितोपत्र बोर्ड एउटा नियामक भएकाले यसले खेल मैदानमा स्वच्छ रेफ्रीको भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ।

गत चैत १३ गते मुलुकमा झन्डै दुई-तिहाइ बहुमतको सरकार गठन हुँदा धितोपत्र बोर्डको समग्र अवस्था र कार्यशैलीमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको थियो। तर, परिस्थितिले त्यस्तो मोड लिन सकेन। अघिल्लो अध्यक्षको राजीनामा पश्चात् झन्डै दुई महिना बितिसक्दा समेत सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न सकेको छैन। ढुङ्गानाले वर्तमान अवस्थाप्रति व्यङ्ग्य गर्दै लेखेका छन्, "परिस्थिति हेर्दा यहाँ समय उही, घडी उही।" उनले नियमित रूपमा हरेक वर्ष हुने विशेष कार्यक्रम, कर्मको समीक्षा र विचार-विमर्शहरू यस पटक वार्षिकोत्सव समेत गर्न नसक्ने गरी रोकिएकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। संस्थाको यस्तो तीव्र गतिको क्षयीकरण डरलाग्दो भएको उल्लेख गर्दै यसलाई समयमै बुझेर बेलैमा रोक्न उनले चेतावनीयुक्त अनुरोध समेत गरेका छन्।

अर्कोतर्फ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रेषित शुभकामना सन्देशमा पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउँदै व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको आकर्षण बढाउनुपर्ने उल्लेख गरिएको छ। अर्थमन्त्रीले सन्देशमार्फत धितोपत्र बोर्डले आफ्नो संस्थागत र नियामक क्षमता सुदृढ गर्दै लैजाने, सेवालाई चुस्त र प्रविधिमैत्री बनाउने तथा प्रणालीगत जोखिम घटाउने विश्वास व्यक्त गरेका छन्। तर, सरकार आफैँले बोर्डलाई नेतृत्वविहीन बनाएर अपाङ्ग बनाइराखेको अवस्थामा अर्थमन्त्रीको यस्तो सुशासन र सुधारको सन्देश केवल कागजी औपचारिकतामा सीमित हुन पुगेको भन्दै कर्मचारी वृत्तमा व्यापक असन्तुष्टि देखिएको छ।

धितोपत्र बोर्डमा नेतृत्व नहुँदा पूँजी बजारमा दर्जनौँ कम्पनीहरूको प्राथमिक शेयर (आईपीओ), हकप्रद शेयर र ऋणपत्र निष्कासन प्रक्रिया महिनौँदेखि ठप्प बनेको छ। यसले गर्दा अर्थतन्त्रमा पूँजी चलायमान हुन सकेको छैन भने लगानीकर्ताहरूको लगानीको अवसर समेत गुमेको छ। नियामक निकाय यसरी अनिर्णयको बन्दी बन्दा समग्र वित्तीय बजारको साख र विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमै कमजोर हुने जोखिम बढेको छ। कर्मचारी यूनियनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको यो सामूहिक आक्रोशले बोर्डभित्र कति ठूलो असन्तुष्टि र निराशा व्याप्त छ भन्ने स्पष्ट पार्छ। सरकारले तत्काल सक्षम र व्यावसायिक नेतृत्व नियुक्त नगरे पूँजी बजारको यो संकट अझै गहिरिएर जाने निश्चित देखिन्छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।