राष्ट्र बैंकले बनायो विदेश पढ्न जाने विद्यार्थीलाई डलर सटही सुविधा सहज

Jun 09, 2026 02:53 PM Merolagani



विदेशमा पढ्न जाने वा पढिरहेका नेपाली विद्यार्थीहरूका लागि नेपाल राष्ट्र बैंकले डलर सटही सुविधामा नयाँ र खुकुलो व्यवस्था ल्याएको छ। 

राष्ट्र बैंकले जेठ २६ गते नयाँ नियम जारी गर्दै विदेश जाने विद्यार्थीहरूले दूतावास वा कलेजमा बैंक ब्यालेन्स देखाउनुपर्ने प्रक्रियालाई सहज बनाइदिएको हो। अबदेखि विदेशी नियोग वा कलेजहरूले आफ्नो स्थानीय मुद्रामा पैसा देखाउनुपर्ने नियम राखेका छन् भने त्यस्ता मुद्रा साट्न पनि बैंकहरूलाई बाटो खोलिएको छ।

सामान्यतया राष्ट्र बैंकले केही निश्चित र बजारमा चल्तीका विदेशी मुद्राहरू मात्रै साट्न मिल्ने सूची बनाएको हुन्छ। तर अबदेखि विदेश पढ्न जाने विद्यार्थीले भिसा पाउन, नयाँ बनाउन वा त्यहाँ बस्दा लाग्ने खर्चका लागि राष्ट्र बैंकको सूचीमा नभएका अन्य देशका स्थानीय मुद्रामा पनि पैसा देखाउनुपर्ने भयो भने बैंकहरूले सटही सुविधा दिनेछन्। यसका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले आफ्नो स्थानीय मुद्रामा पैसा मागेको पुष्टि हुने कागजात बैंकमा बुझाउनुपर्नेछ। विदेशी मुद्राको भाउ दिनदिनै तलमाथि भइरहने हुनाले विनिमय दरको उतारचढावलाई धान्नका लागि पठाउनुपर्ने रकममा बढीमा ५ प्रतिशतसम्म थप गरेर अमेरिकी डलर वा अन्य चल्तीका विदेशी मुद्रा साट्न पाइने व्यवस्था गरिएको छ।

यसैगरी, राष्ट्र बैंकले डलर साट्ने प्रक्रियामा हुने कागजी झन्झटलाई पनि कम गरिदिएको छ। यसअघि बैंकमा डलर साट्न जाँदा जुनसुकै कागजातको पनि सक्कल प्रति (ओरिजिनल पेपर) नै बुझाउनुपर्ने कडा नियम थियो। तर अब अनलाइन वा विद्युतीय माध्यमबाट डिजिटल हस्ताक्षर (डिजिटल सिग्नेचर) गरी प्रमाणित गरिएका सरकारी वा कलेजका कागजातहरूलाई पनि बैंकहरूले आधिकारिक मान्नुपर्ने नियम बनाइएको छ। यसले गर्दा कागजात बोकेर बैंक धाउनुपर्ने झन्झट हट्नेछ र अनलाइन प्रणालीबाटै काम गर्न सहज हुनेछ।

राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक बुद्धराज शर्माद्वारा हस्ताक्षर गरिएको यो नयाँ नियम तुरुन्तै लागू गर्नका लागि देशका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा निर्देशन पठाइसकिएको छ।