ज्योतिको गत बर्षको त्रेस्रो त्रैमासमा आठ करोड २० लाख खुद नाफा रहेकोमा यसबेला १९ करोड २६ लाख पुगेको छ । ज्योतिले एक्वायर गरेको राप्तीभेरी विकास बैंकले पनि ६५ लाख ३७ हजारबाट ६५ प्रतिशतले बढाएर एक करोड आठ लाख रुपैयाँ खुद नाफा पुर्याएको छ ।
हाल ज्योतिको चुक्तापुँजी एक अर्ब १० करोड र जगेडा कोषमा ३४ करोड रुपैयाँ सञ्चित रहेको रुपैयाँ छ । राप्तीभेरीले १४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी र तीन करोड २६ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ ।
यस अवधिमा ज्योतिले नौं अर्ब ३५ करोड निक्षेप संकलन र आठ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरि ३५ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी कमाएको छ । राप्तीभेरीले एक अर्ब तीन करोड निक्षेप संकलन र ८८ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरि तीन करोड सात लाख रुपैयाँ खुद व्याज आम्दानी कमाएको हो ।
निष्कृय कर्जा अनुपात ३.४० बाट शुन्य दशमलव ९९ प्रतिशतमा झारेको ज्योतिको प्रतिसेयर आम्दानी २३.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.८६ रुपैयाँ, तरलता अनुपात २४.०५ प्रतिशत र मूल्य आम्दानी अनुपात १७.३३ गुणा रहेको छ ।
उता राप्तीभेरीको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ६० प्रतिशत, प्रतिसेयर आम्दानी १०.०२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.९१ रुपैयाँ, तरलता अनुपात २९.६३ प्रतिशत र मूल्य आम्दानी अनुपात ३६.४२ गुणा रहेको छ ।
दाङ, बाँके र बर्दिया गरि तीन जिल्ला कार्यक्षेत्र भएको राप्ती भेरीलाई ज्योतिले एक बराबर एक स्वापमा एक्वायर गर्ने सम्झौता गरेको छ । साथै बैशाख १३ गतेसम्म सेयर खरिद गरेका लगानीकर्तालाई ज्योतिले यहि बैशाख २८ गतेदेखि एक बराबर एक अनुपातमा हकप्रद बिक्री गर्देछ । हकप्रद र राप्ती भेरीलाई खरिद गरे पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड हाराहारीमा पुग्नेछ ।