केन्द्रीय बैंकको बैंक तथा वीत्तीय संस्था नीयमन विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा गरेको व्यवस्था अनुसार राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अनुसार योग्य र इच्छुक सर्वसाधारणलाई तत्काल कर्जा उपलब्ध गराउन मातहतका बैंक तथा वित्तीय संस्थालाई गत असोजमा परिपत्र गरेको थियो ।
शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ ।
तर सरकारको योजनालाई बैंक तथा वित्तीय संस्थाले बारम्बार अटेरी गरे पछि राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर सचेत गराएको छ । व्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमबाट फाइदा लिन नसकेको गुनासो पछि गत माघ १६ गते पनि केन्द्रीय बैंकले कर्जा प्रबाह सहज बनाउन मातहतका निकायमा निर्देशन गरेको थियो ।
उक्त कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ ।
यसैगरी महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था कार्यविधिमा छ । जसका लागि पाँच प्रतिशत व्याज अनुदान तोकिएको छ ।
राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि सर्वसाधारणहरु नजिकको बैंक तथा वित्तीय संस्थामा सहुलित दरको कर्जा लिनका लागि सम्पर्क राख्दा बैंक तथा वीत्तीय संस्थाहरु उदासिन भएको गूनासो बारम्बार आउने गरेको केन्द्रीय बैंकले जनाएको छ।