चैतको दोस्रो साताबाट शेयर बजारमा तिब्र उतारचढाबको सुरुवात भएको थियो ।
छोटो समयमै बजार उच्च अंकले बढ्ने र घट्ने क्रम चल्दै गर्दा कारोबार रकममा भएको उच्च सुधारले पनि अल्पकालिन बजारबाट लाभ लिन चलाख लगानीकर्ताहरु सक्रिय भएको बुझिन्छ ।
झण्डै दुई महिना यता बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको शेयर बढ्दै आएकोमा पछिल्ला दिनहरुमा बैंकिङ समूहमा सुस्तता आएको छ । लगानीकर्ताहरु बीमा, जलविद्युत हुँदै उत्पादन तथा प्रशोधन तथा होटल समूहका कम्पनीको शेयरमा खेल्न पुगेका छन् ।
पछिल्लो समय शिवम सिमेन्ट र हिमालयन डिस्टिलरीको मूल्यसँगै कारोबार रकम समेत बढ्नुले पनि यो संकेत गर्छ । तेस्रो त्रैमासको नाफाका सूचनाहरुका हल्लाका आधारमा विवरण प्रकाशित नगर्ने कम्पनीहरु चलाख लगानीकर्ताका छोटो समयमा कमाउने औजार बनेका छन् ।
बजार र मूल्य बढ्ने वित्तीकै बढेका शेयरहरु बेचेर समूह फेरेर शेयर खरिद गर्ने क्रम चलेको बजारले देखाउँछ । यस्तो अवस्थामा चलाख र बजारको अध्ययन गरेका लगानीकर्ताले छोटो समयमै बजारबाट लाभ लिन सक्छन् । तर हल्लाको पछि दौडने लगानीकर्ताको लगानी जोखिममा पर्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
मंगलबारको बजारमा हिमालयन डिस्टिलरीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य १५० रुपैयाँले बढेर १६५० रुपैयाँ पुगेको छ । पछिल्लो चार दिनमा शिवम् सिमेन्ट शेयरमा उछाल आए पनि मंगलबार भने ९ रुपैयाँले घटेको छ। केहिदिन अघि केही जलविद्युत र बीमा कम्पनीहरुमा यस्तै देखिएको थियो । त्यो भन्दा अघि वाणिज्य बैंकहरुको शेयरमा उछाल आएको थियो ।
मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक १.८७ अंकले बढेर १३०१.२८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर ७२ करोड ८८ लाख रुपैयाँमा खरिद बिक्री भयो ।
सोमबारको तुलनामा मंगलबार ९ करोड ५२ लाख रुपैयाँले कारोबार रकममा सुधार भएको हो । सोमबार ६३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका दश उपसमूह मध्ये ८ वटा समूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा समूहको सूचक नकारात्मक रहे ।
यस दिन होटल समूहको सूचक सबै भन्दा धेरै अर्थात १०१.०७ अंकले बढेको छ । उत्पान तथा प्रशोधन १५.८१, अन्य ९.४७, र्निजीवन बीमा ५.२३, लघुवित्त ४.१२, विकास बैंक २.०२, जलविद्युत १.३७ र जीवन बीमा समूहको सूचक १.०८ अंकले सुधार भएको हो ।
यता बैंकिङ्ग समूहको सूचक २.५६ अंक बढेको छ भने वित्त समूहको सूचक १.९३ अंकले गिरावट भएको हो ।
मंगलबार नेपाल क्रेडिट एण्ड कर्मसियल बैंकको शेयर सबै भन्दा धेरै करोबार भएको छ । बैंकको दुई लाख ४४ अजार ७९३ कित्ता शेयर ५ करोड ९४ लाख रुपैयाँमा किनबेच भयो ।
यस दिन हिमालयन डिस्टिलरीको शेयर मूल्य बढेर सक्रिट ब्रेक लागेको छ । यता पाचँथर पावर कम्पनीको सबै भन्दा धेरै अथार्त ९.६२ प्रतिशतले घटेको छ ।