कम्पनी नियमावली अनुसार साधारण सभाका लागि चाहिने संख्या अपुग भएपछि साधारण सभा स्थगित गरिएको हो। सातापछि अर्को साधारण सभा आह्वान गरिने सूचना प्रकाशन गरिने बताइएको छ ।
कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा डाकिएको ११ औँ वार्षिक साधारणसभामा सर्वसाधारण ४ जना सञ्चालककोे निर्वाचन सहित सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेको थियो।
यसअघि विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले पनि अपर तामाकोशी जलविद्युत आयोजना र जिल्ला समन्वय समितिलाई बोधार्थ पत्र लेख्दै साधारण सभा रोक्न माग गरेका थिए।
पत्रमा राष्ट्रिय गौरवको आयोजनाका लागि आवश्यक पर्ने हरेक समस्याको समाधानको लागि पुलको काम गर्दै आएकोमा जलविद्युत कम्पनीले भने गाँउपालिकालाई औपचारिक रुपमा लिखित जानकारी नगराई साधारण सभा गर्न लागेकोमा दुख ब्यक्त गरेकाे छ । साथै पत्रमा गाउँपालिकाले साधारण सभाको ३ दिन अगाडि मात्रै मौखिक रुपमा जानकारी पाएकाले साधारणसभा रोक्न आग्रह गरिएकाे छ।