जिल्ला प्रशासन कार्यालय तनहुँमा स्थापना गरिएको फिल्ड कार्यालयमा उपस्थित भएर मन्त्री चुमानले आफ्नो व्यक्तिगत विवरण, तस्वीर, हस्ताक्षर, औंठाछाप लगायतका विवरण भरेका छन् । सोही अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको पनि विवरण दर्ता गरिएको छ ।
कार्यक्रममा मन्त्री चुमानले मुलुक आधुनिक प्रविधितर्फ अघि बढिरहेकाले पुराना सोच र शैलीलाई विस्थापित गर्न र मुलुकमा सुशासन र समृद्धि कायम गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पु¥याउने मन्त्री चुमानले बताए।
जिल्ला समन्वय समितिका प्रमुख वाग्ले र व्यास नगरपालिकाका प्रमुख न्यौपानेले राष्ट्रिय परिचयपत्रले सम्पूर्ण विवरण एकीकृत गर्न सहयोग पुग्ने बताए।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंठाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ।
दर्ताका लागि तीन कर्मचारी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए।। चालू आर्थिक वर्षमा स्थानीय तहसँगको समन्वयमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण सङ्कलन गरिनेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ। यही साउनदेखि प्रदेश नं १ को झापा र सङ्खुवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको छ।
नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निमार्णमा प्रयोग हुनेछ। यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ। सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ। यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ।
राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ।