उपत्यका बाहिर शाखा विस्तार गरेका शेयर ब्रोकर मध्ये कसको बेहाल- कसको खुशहाल ?

Aug 27, 2019 11:32 AM Merolagani

- सुधा देवकोटा। 
काठमाडौ उपत्यका बाहिर सञ्चालनमा रहेका अधिकांश ब्रोकर कम्पनीका विस्तारित शाखा (आरडब्लुएस) लाई कार्यालय सञ्चालन खर्च धान्न मुस्किल पर्दै गएको छ। कारोबार रकम दिन–दिनै घट्दै गएसँगै त्यहाँ खटाईएका कर्मचारी र कार्यालय भाडा समेत तिर्न मुस्किल हुन थालेको ब्रोकरहरु बताउँछन्। 

धितोपत्र बोर्डले तोकेको मापदण्ड अनुसारको  उपत्यका बाहिर आरडब्लुएस सञ्चालन गर्न धौ धौ भएकोे ब्रोकर नं ३५ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज सञ्चालक तथा स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष भरत रानाभाटले बताए।

पोखरा जस्तो मुख्य शहरमा शाखा कार्यालय सञ्चालन गर्दै आएका रानाभाटले पनि शाखा कार्यालयको आम्दानीले खर्च धान्न मुस्किल पर्ने गरेको मेरोलगानीलाई बताए।

ब्रोकर नम्बर ३६ सेक्युर सेक्युरिटिजका सञ्चालक सन्तोष मैनालीले झापामा शाखा कार्यालय स्थापनाकाल देखि हालसम्म केन्द्रले नै खर्च पठाउने गरेको बताए । उक्त क्षेत्रका स्थानीयहरुमा शेयर बजार सम्बन्धी जानकारी कम भएको र बजार बिस्तारका कार्यक्रम गर्न अहिले बजारको अवस्था पनि राम्रो नरहेको मैनाली बताउछन् ।

आफूहरु नै घाटामा रहेको अवस्थामा लगानीकर्तालाई शेयर बजारमा लगानी गर्नुस् भन्ने अवस्था नरहेको उनले बताए ।

ब्रोकर नम्बर ४२ सनी सेक्युरिटिजका सञ्चालक सन्तोष पौड्यालले केन्द्रमा जस्तै राम्रो आम्दानी होला भनेर नारायणघाटमा आर डब्लु एस खोलेको तर कार्यालयको खर्च नै धान्न नसकेको बताए ।

दैनिक नयाँ नयाँ लगानीकर्ताहरु शेयरबजारमा लगानी गर्न चासो देखाउदै कार्यालयमा आए पनि एक पटक आएका लगानीकर्ता दोस्रो पटक फर्केर नआउने गरेको उनले बताए ।

ब्रोकर ५२ का सुन्धारा सेक्युरिटिजका फडिन्द्र ढकालले लमजुङ जस्तो पहाडी क्षेत्रमा शेयर बजारको सेवा पु¥याउन पाउँदा आफूलाई खुशी लागेको तर आर डब्लु एसको ब्यापार भने सन्तोषजनक नरहेको गुनासो गरे । 

स्थानीयहरुले आईपिओमा परेको शेयर बिक्री गर्न र केहि स्थानीय व्यापारीहरुले बजारको अवस्था हेरेर कारोबार गर्ने गरेको उनले बताए । तर त्यस्तो कारोबारले कार्यालय खर्च भने धान्न मुस्किल हुदै आइरहेको उनको गुनासो छ ।

त्यसैगरी ब्रोकर नं ४५ इम्पेरिएल सेक्युरिटिज नेपालगञ्ज र ब्रोकर नं ६ अग्रवाल सेक्यूरिटिज जनकपुरले पनि शाखा कार्यालयको खर्च केन्द्रले नै हेर्न परेको बताएका छन् । इम्पेरिएल सेक्युरिटिजले अहिलेको बजार अवस्था राम्रो नहुदा ब्यापार खस्किएको बताएको छ भने अग्रवाल जनकपुरले कार्यालय सञ्चालनमा आएको धेरै समय नभएकाले कारोबार रकम वृद्धि नभएको बताए ।

औसत कारोबार हेर्दा खर्च चलाउनै मुस्किल

ब्रोकरको आर डब्लु एसको औसत कारोबार रकम हेर्दा धितोपत्र बोर्डको सिमा क्षेत्र भित्र रहेर आफ्नो खर्च धान्ने अवस्था नै नरहेको देखिन्छ । राजधानी बाहिर सञ्चालनमा रहेका अधिकांश ब्रोकर कम्पनीहरुको दैनिक औसत कारोबार रकम ५ देखि ६ लाख रुपैयाँ सम्म हुने गरेको ब्रोकरहरुले बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार गत आर्थिक वर्षमा एक खर्ब १० अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । प्रदेश नम्बर तीनमा सबै ब्रोकरहरुको केन्द्रिय कार्यालय रहेको र केहि ब्रोकरहरुको आरडब्लु एस पनि यसै प्रदेशमा रहेकाले तीन नम्बर प्रदेशको कारोबार रकम अन्य प्रदेशको भन्दा उच्च देखिन्छ । गत आर्थिक वर्षमा तीन नम्बर प्रदेशमा अवस्थित ब्रोकरबाट एक खर्ब दुई अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अरु बाँकी ६ प्रदेशको जम्मा कारोबार ७ अर्ब ४९ करोड मात्र हुन आउँछ । 

हाल ब्रोकर कमिसन ०.६ प्रतिशतसम्म रहेकोमा उपत्यका बाहिरका प्रत्येक शाखाको औसत आम्दानी दैनिक  ४ हजार रुपैयाँको हाराहारीमा हुन आउँछ । अग्रिम आयकर वापत १५ प्रतिशत, नेप्सेलाई २० प्रतिशत र धितोपत्र बोर्डलाई बुझाउनु पर्ने रकमलगायतका खर्च कमिशनबाट कट्टा गर्दा ब्रोकरको भागमा निकै थोरै हुन आउँछ । 

यो आम्दानीबाट चार जना कर्मचारी र कार्यालयको भाडासहितका सबै खर्च धान्नु संभव नभएको ब्रोकरहरुको भनाई छ । 

यद्यपी केही शहरहरुमा संचालनमा रहेका ब्रोकरका शाखा कार्यालयले भने राम्रैसँग खर्च धानेका पनि छन् । 
बुटवल, धरान, विराटनगर, पोखरा र धनगढी जस्ता मुख्य शहरमा शाखा कार्यालय रहेका ब्रोकरले राम्रो आम्दानी गर्ने गरेको पाईएको हो ।

 बुटवलमा अवस्थित ब्रोकर नं ५७ आर्यतारा सेक्युरिटिजको शाखाको दैनिक औसत कारोबार एक करोड भन्दा धेरै हुने सेक्युरिटिजका सञ्चालक गुणनिधि भुसालले बताए ।

 बुटवलमा शहरमा नै सञ्चालनमा रहेका अन्य ब्रोकर कम्पनीलाई भने आफ्नो खर्च धान्न हम्मे हम्मे पर्ने गरेको पाईन्छ ।

प्राइमो सेक्युरिटिज स्थापना गरेको दुई वर्ष भयो । दुई वर्षमा पहिलो वर्ष शाखा कार्यलयबाट राम्रो करोबार भयो । तर दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा कारोबार घटे तापनि आफ्नो खर्च धानेको ब्रोकरका सञ्चालकले जानकारी गराए ।

सुदुर पश्चिमको धनगढीमा अवस्थित ब्रोकर नं ३८ दिपशिखा धितोपत्र कारोबारका सञ्चालक दिपकराज ओलीले पनि आरडब्लु एसबाट राम्रो आम्दानी हुने गरेको बताए । अन्य स्थानमा पनि कार्यालय खोल्न बोर्डमा आवेदन दिएको तर बोर्डले रोकिराखेकोमा भने उनले  गुनासो गरेका छन् ।

अग्रवाल सेक्युरिटिज र ब्रोकर नं २८ कृष्ण सेक्युरिटिजले पनि आफ्नो ब्रोकरबाट हुने कारोबारको १० देखि २० प्रतिशत हिस्सा आरडब्लु एस मार्फत नै हुने गरेको बताएको छ । उनिहरुले विराटनगरमा शेयर कारोबार राम्रो हुने गरेकोले अहिलेसम्म घाटामा जानु नपरेको दावी गरे । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।