नियामक निकाय नभएका कम्पनीहरुले प्रकाशन गर्ने वित्तीय विवरणमा एकरुपमा आउन नसक्दा लगानीकर्तामा गलत सूचना समेत सम्प्रेषण भैरहेको छ ।
रैराङ हाइड्रोपावरले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको चौंथो त्रैमास मात्रै एक लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा तुलनामा कम्पनीले ६९ हजार रुपैयाँले बढाएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा कम्पनीको मुनाफा ४८ हजार रुपैयाँ मात्रै थियो। कम्पनीकाे विद्युत बिक्री आय आधा घटेपनि प्रशासनिक खर्च र आयोजनाकाे लागत घट्दा गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफामा सुधार भएकाे हाे।
यस अवधिमा कम्पनीको प्रशासनिक खर्च ५७ हजारबाट एक हजार रुपैयाँमा सीमित भएको छ। यस्तै आयोजना खर्च समेत ३ लाख ९२ हजार रुपैयाँवाट ३ लाख ३६ हजार रुपैयाँमा झरेको छ। प्रशासनिक र आयोजना खर्च १ लाख १२ हजार रुपैयाँले घट्दा कम्पनीको नाफामा सुधार भएको हो।
पछिल्लो एक त्रैमासमा गरेको मुनाफा मात्र वित्तीय विवरणमा समावेश गर्दा कम्पनीले वर्षभरि कति मुनाफा गर्यो भन्ने विवरण वित्तीय विवरणमा देखिँदैन। पछिल्लो एक त्रैमासको विवरणलाई एक वर्षभरिको विवरण बुझ्दा लगानीकर्ता अन्यौलता बढ्ने त छँदैछ। कम्पनीको साख र शेयरमूल्यमा समेत असर पर्नेतर्फ कम्पनीले सोचविचार पुर्याएको देखिँदैन।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय तेस्रो त्रैमासको तुलनामा चौंथो त्रैमासमा घटेको छ। तेस्रो त्रैमासमा १० लाख ९० हजार कमाएको कम्पनीको विद्युत बिक्री आय चौंथो त्रैमासमा ५ लाख ५६ हजारमा संकुचन आएको छ।
अघिल्लो आवको चौंथो त्रैमासमा पनि कम्पनीले १० लाख ४२ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। गत आवमा भने कम्पनीको आय अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा घटेको हो। कम्पनीले घरभाडाबाट २ लाख ४१ हजार रुपैयाँ गरी ७ लाख ९८ हजार रुपैयाँ कूल आम्दानी गरेको छ।
कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ७१ लाख ७२ हजार ८५८ रुपैयाँ सञ्चित जगेडा तथा कोषमा राखेकोमा चौथो त्रैमासमा आर्जन भएको १ लाख १७ हजार ४५४ रुपैयाँ जोडर ७२ लाख ९० हजार ३१३ रुपैयाँलाई खुद नाफा मानेर प्रतिशेयर आम्दानी गणना गरेको छ। जसअनुसार वित्तीय विवरणमा वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ३० पैसा, प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ८६.८० गुणा उल्लेख गरेको छ।
चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा ७२ लाख ९० हजार रुपैयाँ संचित छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ५२ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।