नेपालको पूँजी बजार बिकासको लागि अग्रगामी कदमहरु चालिनुपर्नेमा उल्टै बजारमा तीब्र क्षयीकरण भईरहेको र लगानीकर्ताहरु बजारबाट भागिरहेको बेला हामीले थप क्षति रोक्ने र पूँजी बजारमा लगानी गर्नेहरुको लगानीलाई सुरक्षित बनाउने महाअभियान शुरु गरेका हौं । यो अभियान शेयरको मूल्य बढाउँने, घटाउँने, कुनै बाद र प्रतिबादमा आधारित, कुनै गोप्य एजेण्डाबाट निर्देशित नभई बजारको स्वच्छ बिकास र बिस्तारका लागि हो भन्ने कुरा आगामी गतिबिधिबाट प्रष्ट हुँदै जाने नै छन् । पूँजी बजार बिकास र बिस्तारका लागि सरकार, उसका कयौं निकायहरु,ं आ आफ्नै नियत र उद्धेश्य बोकेका लगानीकर्ता संघहरु क्रियाशील रहेकै अबस्थामा किन यो नयाँ अभियान आबश्यक पर्यो भन्ने प्रश्न गर्नेहरुलाई यसले कामबाटै जवाफ दिनेछ । त्यस्ता प्रश्नहरुको उत्तर दिने फुर्सद पनि अहिले हामीलाई छैन तर त्यस्ता प्रश्नहरुको सम्मान भने गर्छौ ।
हामीले नगरे, कसले गर्ने ? अहिले नगरे कहिले गर्ने भन्ने भावनाबाट प्रेरित भएर यो अभियान शुरु गरिएको हो ।
हामीलाई कुनै साली वा भिनाजु संघ, कुनै ब्यक्तिको पकेट संघ वा कुनै अमूक संघ संगठनको रुपमा ब्याख्या नगरिदिनु हुन् विनम्र अनुरोध छ किनभने हामी कुनै युनियनबाजी गर्न अभियान संचालन गरिरहेका छैनौ । धन्यवाद बक्तब्य जारी गरेर आफ्नो जिम्मेवारी र जवाफदेहिताबाट भाग्ने हामी "धन्यबाद बक्तब्यवाला" पनि हैनौं । कुनै ब्यक्तिगत स्वार्थ पुरा गर्न अभियान लक्षित रहेको प्रमाण भेटिएमा वा कुनै अवांछित गतिबिधि हाम्रोतर्फबाट भएमा प्रमाणसहित भण्डाफोर गर्ने छुट हरेक लगानीकर्तालाई छ तर नक्कली नाम (फेक आईडी) बाट हाम्रो अभियान र पूँजी बजारका बारेमा आधारहिन टिप्पणी गर्नेहरुलाई साईवर क्राईमको मुद्धाबाट न्यायको कठघरामा उभ्याउने हिम्मत हामीमा रहेको ब्यहोरा पनि बिनम्र जानकारी गराउँछौ ।
पूँजी बजारलाई ध्वस्त पार्ने गरी घोषित र अघोषित रुपमा विभिन्न खेलहरु भईरहेको भन्ने जगजाहेर स्थितिका बीच बर्तमान सरकारलाई बजार बिकास र सुधारमा सहयोग गर्न, गल्तिहरुलाई सच्याएर तत्काल परिणाममुखी कामहरु सम्पन्न गर्न झक्झक्याउँन हामीले पहलकदमी लिएका हौं । पूँजी बजार एकपटक महासंकटमा फस्यो भने त्यसबाट उद्धार गर्न फेरि लामो समय लाग्ने र भागेका लगानीकर्ताहरुलाई फर्काउँन असंभव हुने विगतका घटनाक्रमहरुबाट पाठ सिक्नैपर्छ । कसैले पनि पूँजी बजारको सुधार र बिस्तारमा खेलाँची गरेर लगानीकर्तालाई आत्महत्या गर्न विवश बनाई "आत्महत्या दुरुस्तसाहन"को मुद्धा खेप्न नपरोस भन्ने कुरा सचेत पार्दै हामी अगाडि बढेका छौ किनभने अवस्था निकै भयावह छ ।
पूँजी बजारमा संकट आउँदा लगानीकर्ताहरुले दिनहुँ अर्बौको सम्पति गुमाएका छन्, सरकारले कर गुमाएको छ, शेयर दलालहरु संकटमा फसेका छन् र कतिपय चल्नै नसकिने अबस्थामा पुगेका छन् । यसबाट बैंकबाट प्रबाह भएको कर्जामा मार्जिन कलको सामना गर्नुपर्ने बाध्यता कयौंलाई परेको छ र अर्थतन्त्रका अरु क्षेत्रमा पनि संकट गहिरिँदा पूँजी बजार आगामी दिनमा अरु चापमा पर्नसक्ने खतरा बढेको छ । ठूला कित्ता शेयर धारणा गर्नेहरु बजारबाट लगभग बाहिरिई सकेका बाहिरिन नसकेकाहरु प्रयास गरिरहेको अबस्थामा साना लगानीकर्ताहरु अरु धेरै चेपुवामा पर्ने र उनीहरुले सर्बस्व गुमाउने खतरालाई कसैले ढाकछोप गरेर अब स्थितिलाई नियन्त्रणमा लिनसक्ने अबस्था छैन । सरकारको माथिल्लो तहबाटै पूँजी बजारमा देखिएको संकट समाधानको पहल नभए दुई तिहाई बहुमतको सरकार नै ठूलो संकटमा फस्ने स्पष्ट संकेत देखिईसकेको छ । त्यसैले अब यसलाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाएर पुरै देशलाई संकटको भुमरीमा पार्ने घृष्टता जारी राख्नु हुन्न भन्ने हाम्रो स्पष्ट मान्यता छ ।
सरकार, निमायक निकायहरु, शेयर दलालहरु वा अरु कोही कसैलाई हामीले दुष्मन किटान गरेका छैनौ र कसैलाई चोर भनेर आरोपित गर्दै हामी आफ्नो महान उद्धेश्यबाट पछि हट्नुपर्ने वातावरण बनाउँन चाहन्नौ । तर बजार सुधार र बिकासमा बाधा सिर्जना गर्नेहरुलाई हामी छाड्ने पनि छैनौ । पूँजी बजार बिकास र बिस्तारका कुनै पनि अबरोधक हाम्रा चुनौति हुन् र त्यस्ता चुनौतिहरुको सामना गर्न हामी सामुहिक स्वार्थको जगमा अगाडि बढेका छौ ।
हामी प्रतिबद्धता ब्यक्त गर्दछौ कि यो अभियानको माध्यमबाट पूँजी बजारमा कम्तिमा १० वटा रणनीतिक कामहरु गर्न हामी सरकार र नियमनकारी निकायहरुलाई अभिप्रेरित गर्नेछौ । ती कामहरुले तत्कालै परिणाम दिन पनि सक्छन् वा केही लामो समय लाग्न पनि सक्छ । अबरुद्ध बजार बिस्तार तथा बिकासका ढोकाहरु खोल्ले, भाग्दै गरेका लगानीकर्ताहरुलाई रोक्ने, पुराना लगानीकर्ताहरुलाई बजारमा फर्काउने, नयाँ लगानीकर्ताहरुलाई भित्र्याउने, पूँजी बजारबाट पूँजी संकलन गरी देश बिकासका लागि आबश्यक स्रोत जुटाउने सरकारको घोषित लक्ष्यलाई सार्थक बनाउँन पहल गर्ने हाम्रो तत्कालीन लक्ष्यहरु हुन् । दीर्घकालीन कामहरु परिभाषित हुने नै छन् ।
नेप्से बढ्यो भन्दैमा सबै अभियान छाडेर दौडिने र घट्यो भने रुवाबासी गरेर बस्ने प्रबृत्तिबाट विल्कुल अलग रहँदै दीर्घकालीन बजार बिकासका एजेण्डाहरुमा हामी निरन्तर क्रियाशील भई खबरदारी गरिरहने छौ । आम लगानीकर्ताहरुलाई कुनै हल्ला, बहकाउ र लहै लहैमा नलागी कम्पनीको आधारभुत अवस्था विश्लेषण गरेर लाभांशमा आधारित दीर्घकालीन लगानी गन, आफ्नो लगानी र जोखिमबहन क्षमतालाई मुख्य रुपमा ध्यान दिन सचेत र प्रोत्साहित गरिरहने छौ ।
शेयर बजारमा नियमनकारी निकाय र धेरै लगानीकर्ताहरु हुँदाहुँदै एउटा संचारकर्मी नै किन अगुवा बन्नु परेको हो भन्ने प्रश्नहरु पनि उठाईला तर सबैभन्दा पहिले हामी यो देशका नागरिक हौं, त्यसपछि लगानीकर्ता र अरु पेशा ब्यवसायी हौं । एउटा सचेत नागरिकले आबश्यक परेको बेला सही कामको नेतृत्व गर्नेपर्छ, अहिले यो अभियानको नेतृत्व गर्नु समयको माग र आबश्यकता हो । पूँजी बजार रहे र राम्रो भए न सारा देशको अबस्था राम्रो हुन्छ, लगानीकर्ताहरुको भविष्य उज्जवल हुन्छ, ब्रोकर, नियमनकारी निकायहरु र संचार माध्यमहरु रहन्छन्, सरकारले पनि कर बढी पाउँछ, देश बिकास हुछ । पूँजी बजार नै सबल नभए अर्थतन्त्र नै रोगी भएर हामी बर्षौ पछाडि धकेलिएर फेरि दरिद्रताको पराकाष्ठा ब्यहोर्न बाध्य हुनुपर्छ ।
त्यसैले कुनै पनि खराब अबस्था आउँन नदिन बेलैमा उद्धार गर्ने अभिप्रायका साथ पूँजी बजार बिकास अभियान शुरु भएको हो । यस पवित्र कार्यमा सबै सम्बद्ध निकाय र लगानीकर्ताहरुबाट सकारात्मक सहयोग र सक्रियता सर्वाधिक अपेक्षित छ । अभियानमा सहभागी हुन र नेतृत्त्व गर्न जो कोही लगानीकर्ताका लागि पनि ढोका खुला रहेकाले पूँजी बजार बिकासको जिम्मेवारीबोध गर्नेहरु सबैलाई यस महाअभियानमा स्वागत छ ।