अपरिपक्व र खेलाडी लगानीकर्ता तथा सरकारको चेपुवामा शेयर बजार

Sep 18, 2019 09:54 AM Merolagani

-आनन्द कुमार भट्टराई।
केही समय पहिले अमेरिकाको कोकाकोला कम्पनीको शेयर मूल्य एकैदिन करिब ६ प्रतिशतले वृद्धि भई ५५ डलर भन्दा माथि पुग्न गयो। त्यसको भोलिपल्ट केहि करेक्सन भई अहिले ५३-५४ को बीचमा छ।

  त्यसो हुनुमा मुख्य कारक यसको दोश्रो त्रैमासिकको आम्दानी अनुमान गरिएको भन्दा राम्रो हुनु तथा यसको उत्पादन कोकाकोला जिरो सुगर (Coca-Cola Zero Sugar) ले लगातार सातौं त्रैमासिकमा दोहरो अंकको वृद्धि हासिल गर्नु थियो ।

कम्पनीको यस्तो आशलाग्दो रिपोर्टले लगानीकर्ताको मनोभावमा सकारात्मक प्रभाव पर्न गई कारोबार मूल्यमा बढोत्तरी हुन गयो। २०१९ जुलाई २६ बिहीबारको अन्तिम मूल्य ५४.०३ डलर रहेको थियो जुन की २ जनवरी २०१९ मा ४६.९३ डलर थियो अर्थात ६ महिनाको अवधिमा १५.१२ प्रतिशतको बृद्धि जुनकी अमेरिकी बैङ्कले दिने अधिकतम ३ प्रतिशतको ब्याज भन्दा निकै बढी हो।

यहाँ भन्न खोजिएको कुरा के हो भने अमेरिकी शेयर बजारमा शेयर मूल्यलाई मूलत: कम्पनीको कार्य सम्पादन तथा विश्व बजारमा हुने उतार चढावले असर गरिरहेको हुन्छ।

शेयर बजार अर्थतन्त्रको ऐना भएकोले सरकारले यसलाई अनावश्यक गिजोल्ने काम पनि गर्दैन बरु आवश्यक पर्दा यसको संरक्षणको उपयुक्त कदम चाली लगानीकर्ताको आत्मविश्वासलाई डगमगाउन दिँदैन।

हालै चाईना संगको ब्यापार युद्धले अमेरिकी शेयर बजार प्रभावित भएपछि तथा सम्भावित मन्दीको डरले शेयर बजार प्रभावित भई डाउ जोन्स एकै दिन ८००.४९ अर्थात ३ प्रतिशत झरेकआ दिनमा अमेरिकी राष्ट्रपति ट्रम्पले JPMorgan Chase, Bank of America and Citigroup जस्ता ठूला बैङ्कका प्रमुखसंग भिडियो कन्फरेन्स मार्फत छलफल गरी अमेरिकी अर्थब्यवस्थाको बारेमा आश्वस्त रहन सार्वजनिक रुपमै भनेका थिए।

राष्ट्र प्रमुखबाट आउने यस्तो कुराले लगानीकर्ताको मनोबललाई कायम राखिराख्न मद्दत गर्दछ। तर हाम्रो देशको कुरा गर्ने हो भने शेयर बजारलाई प्रभाव पार्ने विषयको बारेमा सरकारबाट कुनै पनि प्रतिक्रिया बाहिर आउँदैन र आईहाले पनी निकै ढिलो आउने गर्छ जति बेलासम्म सोझा लगानीकर्ताहरु ठूला खेलाडीको जालमा पसिसकेका हुन्छन् ।

अमेरिकी शेयर बजार र हाम्रो शेयर बजारको परिस्थिति अलि फरक छ। एकातिर यो स्वभाविक मूल्य मान्यता अनुसार चल्न सकेको छैन भने अर्कोतर्फ अपरिपक्व लगानीकर्ताको बाहुल्यताले गर्दा बजारका ठूला खेलाडीले आफू अनुकूल बजारलाई डोर्याईरहेका छन्। लगानीकर्तामा आत्मविश्वासको अत्यधिक कमी रहेको छ। उनीहरु सँधैभरी कतिबेला कहाँबाट शेयर बजारमा कस्तो बज्रपात हुने हो भन्नेमा सँधैभरी सशंकित भईरहेका हुन्छन्।

अघिल्लो आर्थिक वर्षको बजेट पेश भए पछि पूँजीगत लाभ करमा गरिएको वृद्धिलाई बजारले पचाउन नपाउँदै बोनस तथा हकप्रद शेयरको आधार मूल्यको किचलो खडा भयो जुन ब्यवहारमा समाधान भैसके तापनी प्राविधिक रुपमा अझै समाधान भसकेको छैन।

चालु वर्षको बजेटले पूँजीगत लाभकरलाई पुन: ७.५ बाट ५ प्रतिशतमा झार्नुको साथै अन्य कतिपय सकारात्मक नीतिगत ब्यवस्था गर्यो। सरोकारवाला सबैले बजेटले गरेको ब्यवस्थाको खुला दिलले प्रशंसा गरे तापनी बजेटको भोलिपल्ट केही बढेको बजार पुन: घट्न थाल्यो।

त्यो घटाईमा पूँजीगत लाभकर अन्तिम होईन र सरकारले करको दरलाई घटाई घुमाउरो पाराले ३६ प्रतिशतसम्म कर उठाउन खोजेको हल्ला फिँजाइयो। यद्यपी विद्यमान कानूनी ब्यवस्था बमोजिम उक्त कर अन्तिम नै भए तापनी सोझा साझा लगानीकर्ताले हल्लाकोपछि लागि आफूसंग भएको शेयर सस्तो मूल्यमा बिक्री गरेका हामीलाई थाहा भएकै हो।

अन्तिम करको विषयमा लगानीकर्ता आश्वस्त भैसकेपछि पुन: मौद्रिक नीतिलाई अगाडि सारेर शेयर  बजारमा खेल्ने प्रयास भयो । विग मर्जर, मेगा मर्जर, ७ दिनभित्र लगनगांठो कसि-हाल्नुस् तथा प्रतिबद्धतापत्र पेश गरि हाल्नुस् जस्ता समाचारले बजारलाई तरंगित तुल्याई बजारलाई घटाउँदै कारोबार रकमलाई पनि न्यून बिन्दुमा ल्यायो ।

लामो प्रतिक्षापछि मौद्रिक नीति आयो र यसले शेयर बजारको सन्दर्भमा केही नकारात्मक कुरा गरेन तर पनि बजारले त्यसको स्वागत गर्नुको सट्टा उल्टो प्रतिक्रिया देखायो। किनकी खेलाडीले त्यहाँ भित्र पनि बजारलाई प्रभाव पार्ने बुँदालाई टपक्क टिपी आफू अनुकूल ब्याख्या गरी बजारलाई ठूलै अंकले घटाउन सफल भए।

अर्कोतर्फ समाचारको हेडलाईन हेरेर खरीद बिक्री गर्ने लगानीकर्ताको लागि त्रसिद बनाउने तल उल्लेखित समाचाका हेडलाईनले नतर्साउने कुरै भएन । उदाहरणको लागि:-

  • समस्यामा फसेका बैङ्कहरुले समेत मर्जर प्रयास छाडे, अब डिवेन्चर बेच्ने दौडधुप शुरु
  • शेयर मार्केटलाई डिबेन्चर मार्केटले यसरी पार्छ मार
  • शेयर बजारबाट किन भाग्न खोज्दैछन् ठूलो लगानी गर्ने लगानीकर्ता
  • बैङ्कहरुले यसपटक बोनस शेयर नदिने किनकी बोनस शेयर दिँदा बढी डिबेन्चर जारी गर्नु पर्छ ।
  • बैंकबाट ५० लाख कर्जा लिंदा स्थायी लेखा नम्बर अनिवार्य
  • बैङ्कहरुले अझै १.२ प्रतिशत स्प्रेडदर घटाउनुपर्ने मौद्रिक नीतिको यो ब्यवस्थाले यसरी घट्दैछ नाफा

समाचारमा राम्रा विश्लेषण नआएका पनि होईनन्, तर यो मानविय चरित्र नै हो की सम्पत्तिको सम्बन्धमा मानिसको मनोभावनामा प्रभाव पार्ने सन्दर्भमा गुम्ने भन्ने डरले पहिलो प्राथमिकता पाउँछ। त्यसैले मौद्रिक नीतिका राम्रा पक्षहरुले लगानीकर्ताको मनोभावनामा कुनै प्रभाव पार्न सकेन जुन की निम्न बमोजिम रहेका छन् ।

  • मौद्रिक नीतिबाट तरलताको बाटो खोलियो, आन्तरिक ऋणबाटै खर्ब ऋण दिने पैसा उपलब्ध
  • विदेशी बैंक बाहेकका संस्थाबाट समेत ऋण ल्याउन पाईने
  • ऋणपत्र बिक्रीको शतप्रतिशत रकम कर्जा प्रवाह गर्न पाउने आदी-आदी 

साराशंमा भन्ने हो भने लगानीकर्ता तर्साउने त्यस्ता समाचारको हेडलाईन पढेर प्रतिक्रिया ब्यक्त गर्नु भनेको कौवाले कान लग्यो भन्दैमा आफ्नो कान छाम्नुको सट्टा कौवाको पछि लाग्नु जस्तै हो।  

  • बजार किन घटिरहेको छ ?

अहिले शेयर बजारमा बाली भित्र्याउने बेला हो। यस्तो अवस्थामा पनि बजार निरन्तर घटदै जानु निश्चय पनि आम लगानीकर्ताको लागि चिन्ताको विषय हो। बजार घटनुमा विभिन्न छापा तथा अनलाईन पत्रिकामा विभिन्न कारणहरु औल्याईइका छन्।

उदाहरणको लागि – स्प्रेडदरको नयाँ विधिले गर्दा बैंकको नाफा २५ प्रतिशतले कमी आउँछ, सम्पत्तिकरको उठान भएको विषय, बैंकबाट ५० लाखभन्दा बढी ऋण लिनु पर्दा प्यान नम्बर अनिवार्य, सम्पत्ति शुद्धीकरणको विषय, बैंक मर्जरको विषय, सरकारको उदासिन रवैया आदी ।

यी सबै विषयले शेयर बजारमा असर पर्नु स्वभाविक भए तापनि गहनता एकनासको हुँदैन। कुनैले बढी असर गर्ने हुन्छ भने कुनैले कम तथा कुनैको असर नै हुँदैन।

बैंकको नाफा स्प्रेड दरले मात्र नभई लगानीमा हुने वृद्धिले तय गर्दछ। तर यहाँ कसैले अब बैंकको नाफामा २५ प्रतिशतको संकुचन आउँछ भनि दिन्छ र लगानीकर्ता त्यसैको पछि लागि हतार-हतार सस्तोमा शेयर बिक्री गर्न थाल्छ।

सम्पत्ति कर भर्खरै उठान भएको विषय हो। भारतमा पनि नलगाईएको यस्तो कर अन्य मुलुकमा पनि विवादित नै छ। त्यसैले यस्तो कर लगाउनु भन्दा पहिले सरकारले धेरै पटक सोच्नुपर्छ। केही गरि लगाई हालेता पनि न्यूनतम कर नलाग्ने सीमा त तोक्छ नै जसले तल्लो तथा मध्यम वर्गीय परिवारलाई राहत नै हुन्छ। त्यसैले आम लगानीकर्ताले यसलाई लिएर त्रसित हुनुपर्ने अवस्था नै छैन ।

प्यान नम्बर क्रमश: सबैको लागि अनिवार्य हुँदै गईरहेको अवस्थामा ५० लाख भन्दा बढीको ऋण लिँदा प्यान नम्बर अनिवार्य गरिनुलाई पनि लगानीकर्ताले अन्यथा लिनु पर्दैन किनकी शेयर बजारमा ऋण लिएर लगानी गर्ने भनेका आम लगानीकर्ता नभई ठूला लगानीकर्ता बढी छन्।

शेयर बजारमा नगदमा कारोबार नहुने भएकोले सम्पत्ति शुद्धीकरणको उठान भएको विषयबाट डराउनुपर्ने अवस्था रहदैन। किनकी शेयर बजारमा लगानी आउनु पूर्व बैंकमा रकम जम्मा हुँदा नै सम्पत्ति शुद्धीकरण आकर्षित भैसकेको हुन्छ।

सारांशमा भन्नु पर्दा बहुसंख्यक लगानीकर्ताको कम्पनीको आधारभूत सूचकहरुको विश्लेषण नै नगरि हल्लाको पछि लागि निर्णय लिने प्रवृत्तिलाई ठूला तथा खेलाडी लगानीकर्ताले समय-समयमा आफू अनुकूल प्रयोग हिजो पनि गरेका थिए आज पनि गरिरहेका छन् तथा भोलि पनि गर्ने नै छन् ।

  • के चाहन्छन् लगानीकर्ता ?

बिना कुनै ठोस कारण निरन्तर घटीरहेको बजारबाट त्रसित लगानीकर्ता सरकारबाट सकारात्मक सम्बोधनको आश गरेर बसेका हुन्छन् । तर सरकारले कहिले पनि तिमीहरु खरीद गर अब बजार बढ्छ भनेर कहिल्यै भन्दैन ।

नयाँ सरकार गठन भए पछिका शुरुका दिनमा शेयर बजार प्रति सरकारको तर्फबाट केही नकारात्मक प्रतिकृया तथा हकप्रद र बोनस शेयरको आधार मूल्यको ईस्यू निकालिए तापनि प्राविधिक काम बाहेक नीतिगत रुपमा समाधान भैसकेको छ।

सरकारले शेयर बजारलाई मात्र होईन कि समग्र अर्थ ब्यवस्थालाई माथि उकास्ने हिसाबले हेर्ने हो । समग्र  अर्थ ब्यवस्था उँभो लागेमा त्यसको प्रत्यक्ष असर शेयर बजारमा पर्छ नै। ७.१ प्रतिशतको आर्थिक वृद्धिलाई ८.५ प्रतिशत पुर्याउने लक्ष्य सहित सरकार अगाडि बढीरहेकोले सोचे अनुकूलको वृद्धि हासिल भएमा निश्यय नै शेयर बजारले नयाँ उचाई लिने नै छ ।

पछिल्ला दिनमा शेयर बजार प्रति सरकारको निकै राम्रा अभिब्यक्तिहरु न आएका होईनन् तथापि लगानीकर्ताले त्यसलाई आत्मसात गर्न सकिरहेका छैनन्। उदाहरणको लागि – तिर्खाएको घोडालाई पानी भएको ठाँउमा ल्याई दिएको छु अब घोडाले तिर्खा मेटेपछि कुद्छ। यस भित्र लुकेको सन्देशलाई लगानीकर्ताहरुले नबुझ्दा बजार बढनुको सट्टा घटदै गयो।

भदौ ३१ गते मंगलबार सञ्चय कोषको ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई लगानी गर्ने यो उपयुक्त अवसर रहेको मात्र भनेनन् अपितु नेपालका सार्वजनिक कोषहरुको रकम पूँजी बजारमा लगानी गर्नुपर्नेमा जोड दिए।

उनले दोस्रो बजारका लगानीकर्ताको मनोबल कमजोर रहेको स्वीकार्दै बैंक, वित्तीय संस्था तथा सार्वजनिक संस्थानहरुमा लगानी गरेर लगानीकर्ताको मनोबल उकास्ने काम गर्न सार्वजनिक कोषहरुलाइ आग्रह समेत गरे।

सरकारको अर्थमन्त्रीबाट शेयर बजारको सन्दर्भमा यो भन्दा राम्रो अभिब्यक्तिको अपेक्षा गर्नु पनि हुँदैन। सरकारको अभिब्यक्तीमा लुकेको सन्देशलाई लगानीकर्ताले केलाउनु सक्नुपर्छ । आधारभूत सूचकहरुको  विश्लेषणले शेयर मूल्य निकै तल आएको हुनाले अर्थमन्त्रीबाट पनि अहिलेको समय बजार प्रवेशको उपयुक्त समय भएकोले नै उनले सार्वजनिक कोष तथा आम तथा नयाँ लगानीकर्ताहरुको लागि  पूँजी बजारमा प्रवेश गर्ने उपयुक्त समय भएको भनेर ठोकुवा नै गरेका हुन्। त्यसैले यी सब कुरालाई लगानीकर्ताले मनन् गरेर उपयुक्त ब्यवहार गर्न सक्नुपर्छ ।

  • लगानीकर्ताले सचेत हुन के गर्ने ?

समाचारको हेडलाईन पढेर तरून्त प्रतिक्रिया नदिने किनकी अधिकांश त्यस्ता समाचार प्रायोजित पनि हुनसक्छ। समाचारको बारेमा साथीभाई तथा जानकारहरुसंग सरसल्लाह गरि निर्क्यौलमा पुग्नु स्वस्थकर हुन्छ ।

समग्रमा बजार अहिले घटेको अवस्थामा भएकोले हल्लाको पछि लाग्नुको सट्टा राम्रा-राम्रा कम्पनीको शेयरमा लगानी गर्नु उपयुक्त समय हो।

आम लगानीकर्ताको लागि शेयर मूल्य घटी हो वा बढी हो थाहा पाउन सहज छैन। शेयर मूल्य उपयुक्त हो वा होईन पत्ता लगाउने अनेकौ विधिहरु छन् जुन सबै लगानीकर्तालाई थाहा नहुन सक्छ। आफ्नो लगानीलाई सुरक्षित गर्नको लागि कम्तीमा मूल्य आम्दानी अनुपात (पिई रेसियो) लाई मात्र पनि ध्यान दिने हो भने लगानी सुरक्षित रहने कुरामा संशय लिनुपर्ने हुँदैन ।

आकस्मिक किसिमले कुनै ठूलो आम्दानी गरेको अवस्थामा बाहेक नियमित आम्दानीबाट भएको आम्दानीको हिसाबले मूल्य आम्दानी अनुपात १० देखि १२/१३ सम्म भएको कम्पनी शेयर खरीद गर्दा लगानी डुब्ने सम्भावना रहँदैन।

  • सरकार तथा नियामक निकायले कस्तो भूमिका निर्वाह गर्ने

शेयर बजार अति नै संवेदनशील क्षेत्र भएकोले यससंग सम्बन्धित द्धविधाहरुलाई लामो समय सम्म थाँती राख्दा खेलाडी लगानीकर्ताले त्यसलाई अतिरंजित किसिमले प्रवाहित गरि बजारबाट फाईदा लिने सम्भावना रहन्छ त्यसैले त्यस्ता द्धिविधाहरुलाई त्वरित समाधान मात्र गरिदिएमा पनि सोझा तथा आम लगानीकर्ताले गुमाउनुपर्ने अवस्था रहँदैन तथा बजारले पनि स्वस्थ किसिमले ब्यवहार देखाउन सक्छ ।

(लेखक भट्टराई अर्थ मन्त्रालयबाट अवकास प्राप्त उपसचिव हुन्।)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।