पूँजी बजारका लगानीकर्तामा निराशा, कारोबार २० करोडभन्दा तल खुम्चियो

Sep 23, 2019 04:26 PM Merolagani

पछिल्लो समय शेयर बजारमा देखिएको अवस्थाले पूँजी बजारका लगानीकर्तालाई निराश बनाएको छ।  बजारप्रति विश्वास गर्नसक्ने वातावरण सिर्जना हुन नसक्दा शेयर कारोबार रकम घट्दै गएर २० करोडभन्दा तल कारोबार हुने अवस्थाको सिर्जना भएको छ।

अर्थमन्त्रीले  शेयर बजार घटेर न्यून बिन्दुमा आएको भन्दै गत मंगलबार लगानीका लागि उत्तम अवसर आएको सकारात्मक अभिव्यक्ति दिएपश्चात गत मंगलबार र बुधबार दुई दिन उच्च अंकले सुधार भएको नेप्से सूचक पछिल्लो दुई कारोबार दिनमा फेरि सोही अनुपातमा ओरालो लागेपछि लगानीकर्ता शेयर बजारमा लगानी गर्न डराएका हुन्।

अर्कोतर्फ नेपालीहरुको वडा दशैं नजिकिँदै गर्दा साना लगानीकर्ताहरु शेयर बजारमा गरिएको लगानी बढाउन भन्दा  बढेको बजारमा बिक्री गरेर दशैं खर्च निकाल्ने दाउमा छन्।

पुतलीसडकमा रहेको एक ब्रोकर कम्पनीमा भेटिएका एक लगानीकर्ताले भने:- 'नेप्से बढ्छ र सो को उचाईसँगै मुनाफा आर्जन गर्ने सोचमा लगानी गरेका लगानीकर्ताहरु उल्टो घाटा ब्यहोर्नुपर्ने अवस्था आएपछि थप लगानी गर्न सकेका छैनन् भने ठूला लगानीकर्ताहरुपनि सरकारले पूँजी बजारलाई वेवास्ता गरेपछि लगानी बढाउने अवस्थामा छैनन्। '

धितोपत्र बोर्डले पछिल्लो समय पूँजी बजारको विकासमा ध्यान दिएपनि त्यसको प्रभाव लगानीकर्तामा पर्न सकेको छैन। एक सातामा टुङ्गिने भनिएको भारित औसत लागत गणना विधिबाट लाभकर गणनाको झण्झटिलो पक्ष अझै सुल्झन सकेको छैन, अरुको के विकासका के कुरा ? उनले भने।

उनको भनाईजस्तै साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम १७ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ।कारोबारमा आएका अधिकांश कम्पनीहरुको शेयरमूल्य घट्दा बजारप्रति लगानीकर्ताको विकर्षण भई कारोबार रकम घट्दै गएको हो। 

नेप्से सूचक सामान्य सकारात्मक रहेपनि कारोबार रकम घट्दै जानु राम्रो संकेत होइन। यसले लगानीकर्ता शेयर बजारमा आकर्षित हुन नसकेको जनाउँछ। अधिकांश कम्पनीहरुके मूल्य आम्दानी अनुपात १० गुणा हाराहारीमा आइपुग्दा समेत  लगानीकर्ताले बजारमा लगानी बढाउन  उत्साहित देखिएका छैनन्।

कतिपय लाभांश वितरण गरिरहेका कम्पनीको शेयरमूल्य घटेर आईपीओ कै हाराहारीमा झरिसकेको छ। शेयर बजारको बाली भित्र्याउने मौसम अर्थात लाभांश सिजनमा यस्तो अवस्था देखिनुले नै लगानीकर्ताहरु बजारप्रति आकर्षित छैनन् भन्ने हो। कारोबारमा आएका कम्पनीहरुको शेयरमूल्य घटेर कारोबार रकम समेत १७ करोड रुपैयाँमा खुम्चिँदा लगानीकर्ता झनै निराश बनेका छन्। अल्पकालीन लगानीकर्ताहरुले छोटो समयको शेयर बजारबाट नाफा सुरक्षित गर्न थालेपछि नेप्से घट्दो क्रममा देखिएको हो।

 

सोमबार बजार खुलेदेखि केहि सुधार देखिएको नेप्से सूचक १.७३ अंकले बढेर ११४०.९८ बिन्दुमा बन्द भएको छ। कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये सोमबार ३ वटा उपसमूहको सूचक नकारात्मक देखिए भने अन्य ९ वटा उपसमूहको सूचक सकारात्मक रह्यो।

सोमबार कारोबार रकम अघिल्लो दिनको तुलनामा निकै घटेको छ। अघिल्लो दिन आइतबार २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम झण्डै ५ करोड रुपैयाँले घटेको हो । यस दिन १७० वटा कम्पनीको ७ लाख ४३ हजार कित्ता शेयर १७ करोड ७२ लाख रुपैयाँमा खरीद बिक्री भयो।

 

यस दिन प्रभु बैंकको सबभन्दा धेरै १ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने शिवम सिमेन्टसको पनि १ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएर उच्च कारोबार गर्ने शिर्ष कम्पनकिो दोस्रो स्थानमा छ। अन्य सबै कम्पनीहरुको एक करोडभन्दा कम कारोबार भएको छ । 

कारोबार रकमकै आधारमा सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स, र कृषि विकास बैंक पनि क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।

सोमबार साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ भने सृजना फाइनान्सको ३.९० प्रतिशत, जोशी हाइड्रोपावरको ३.५१ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३.२७ प्रतिशत, हिमालयन पावर पार्टनरको ३.०८ प्रतिशत र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको ३.०२ प्रतिशतले बढेको छ ।

 

 

त्यसैगरी युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.७७ प्रतिशतले घटेको छ भने माउन्टेन हाइड्रोको शेयरमूल्य पनि ३.७० प्रतिशतले घटेको छ। त्यस्तै आँखुखोला हाइड्रोपावरको शेयरमूल्य ३.४४ प्रतिशत, ग्लोबल आइएमई समुन्नत स्किम १ को ३.३६ प्रतिशत र पञ्चकन्य माइ हाइड्रोपावरको ३.२६ प्रतिशतले घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।