व्यवस्थापकीय कमजोरीले अधिकांश म्युचुअल फण्डको लगानी घाटामा, कुन फण्डसँग कति छ लगानीयोग्य रकम ?

Nov 14, 2019 05:52 PM Merolagani

सुधा देवकोटा ।

नेपालमा सञ्चालित अधिकांश म्युचुअल फण्डहरुको लगानी असोज महिनासम्ममा घाटामा गएको छ। म्युचुअल फण्ड सञ्चालन गर्ने योजना व्यवस्थापकको कमजोर व्यवस्थापनका कारण म्युचुअल फण्डको इकाईमा लगानी गर्ने अधिकांश लगानीकर्ताको सम्पत्ति घटेर प्रतिईकाई खुद सम्पत्ति मूल्य अंकित मूल्यभन्दा तल झरेको लगानीकर्ताहरु आरोप छ।

यसरी विज्ञ व्यक्तिहरुलाई पालेर विभिन्न प्राविधिक तथा वित्तीय विश्लेषणका आधारमा शेयर बजारमा लगानी गर्ने म्युचुअल फण्डहरुको लगानी नै लामो समयसम्म घाटामा जानु योजना व्यवस्थापकको कमजोरी रहेको  उनीहरुको भनाई छ।

समयक्रममा कहिले नाफा, कहिले घाटा हुन स्वभाविक मान्न सकिएपनि लामो समयसम्म फण्डहरु नोक्सानीमा रहनु र पछिल्ला दिनमा नोक्सानी अझ बढ्दै जानुलाई फण्डहरुको योजना व्यवस्थापन नै ठीक नभएको मान्न सकिने फण्डको इकाईमा लगानी गरेका लगानीकर्ताहरु बताउँछन्। व्यवस्थापन कुशल र सक्षम भएको भए शेयर बजारको सुक्ष्म विश्लेषण गरेर लगानी गर्ने फण्डले कसरी यति धेरै नोक्सानी ब्यहोर्न पुग्छ ? एक लगानीकर्ताले आक्रोश पोखे।

मर्चेन्ट बैंकर तथा योजना व्यवस्थापकहरु भने शेयर बजारमा आउने गिरावटसँगै म्युचुअल फण्डहरुको लगानी रहेको सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा लगानीबाट नोक्सानी भएको बताउँछन्। विगतमा यहि व्यवस्थापकले इकाईधनीलाई राम्रो प्रतिफल वितरण गरेका पनि छन्। म्युचुअल फण्डहरुले शेयर बजार सूचक नेप्से उच्च बिन्दुमा लगानी गरेका कारण अहिले एकाध बाहेक सबै फण्डको लगानी घटेको छ। धेरैजसो फण्डहरु नाफामा रहँदा पनि केही फण्डहरु घाटामा हुनुलाई व्यवस्थापकीय क्षमतासँग जोड्न सकिए पनि नेप्से सूचक माथिल्लो बिन्दुमा लगानी गर्ने सबै फण्डहरु नोक्सानीमा रहेकाले व्यवस्थापकीय कमजोरीको आरोप सही नरहेको उनीहरुको भनाई छ। 

व्यवस्थापकहरुले राम्रा स्टकमा लगानी स्थानान्तरण गर्न नसक्दा सञ्चालनमा रहेका १७ म्युचुअल फण्डमध्ये असोज महिनामा १३ फण्डले आफ्नो कूल लगानीमा नोक्सानी व्यहोर्नुपरेको छ। जसको प्रमुख कारण म्युचुअल फण्डहरुले शेयर बजार सूचक नेप्से उच्च अंकमा रहँदा लगानी गरेको र अहिले सूचक घट्नुलाई लिइएको छ। फण्डहरुको प्रतिइकाईं खुद मूल्यमा गिरावट देखिएर प्रतिइकाईं खुद मूल्य  अंकित मूल्यभन्दा तल (कुनै-कुनै फण्डको ७ रुपैयाँसम्म)  झरेको अवस्था छ।

एनआईबिएल एस क्यापिटलका डेपुटी सीईओ मेख बहादुर थापा म्युचुअल फण्डहरुको प्रमुख लगानीको स्रोत, शेयर बजारमा देखिने अस्थिरताले फण्डहरुले गर्ने गरेको सूचीकृत कम्पनीहरुको शेयरमूल्य घट्दा वास्तविक लगानीको आकारमा समेत असर पर्ने बताउँछन्।

  • बैंक निक्षेप राखेर ब्याज खाने तर शेयर बजारमा लगानी नगर्ने गरेको फण्डहरु माथि आरोप

संस्थागत लगानीकर्ताको रुपमा स्थापित म्युचुअल फण्डले बैंकमा पैसा राखेर शेयर बजारमा लगानी गरेरनन् ब्याज खाई बसे भनेर पछिल्लो समय लगानीकर्ताबाट आलोचना हुने गरेको छ।संस्थागत लगानीकर्ताले शेयर बजारमा लगानी नबढाउँदा शेयर बजार सूचकमा निरन्तर गिरावट आउने गरेको लगानीकर्ताको बुझाई छ।

मर्चेन्ट बैंकर तथा म्युचुअल फण्डका व्यवस्थापकहरु भने सर्वसाधारणबाट पूँजी संकलन गरेर फण्ड सञ्चालन भएको हुँदा म्युचुअल फण्डले बजारमा लगानी गर्दा निकै अध्ययन, अनुसन्धान र विश्लेषण गरी सम्हालिएर मात्र लगानी गर्नुपर्ने बताउँछन्।  शेयर बजारमा नै लगानी गर्न स्थापना भएका फण्डहरु मुनाफा आर्जन हुने सुनिश्चितता हुँदा लगानी नगरी बस्न नसक्ने र योजना व्यवस्थापकको उदेश्य इकाईधनीलाई धेरै नै प्रतिफल वितरण गर्ने नै हुने गरेको उनीहरुको भनाई छ।

अन्धाधुन्ध लगानी  गरेर फण्डहरु घाटामा रहँदा इकाईमा लगानी गर्ने सर्वसाधारणलाई नै थप घाटा हुने भएकाले फण्डहरुले लगानी गर्दा निकै संयमित भएर मात्र गर्नुपर्ने उनीहरुको तर्क छ। अहिलेको बजारबाट फण्डहरुले पनि ठूलो रकम गुमाई रहेका छन्। पूँजीबजार सम्बन्धी कम ज्ञान भएका सर्वसाधारणले म्युचुअल फण्डले लगानी गर्ने कम्पनीको शेयरमा लगानी गरेका हुन्छन्। त्यसैले सुझबुझ सहित लगानी गर्नुपर्नेमा फण्ड व्यवस्थापकहरुको भनाई रहेको छ।

अर्कोतर्फ म्युचुअल फण्डहरुले प्रकाशन गरेको मासिक वित्तीय विवरणमा रहेको लगानी रकमलाई मात्रै हेरेर लगानी गरेन भनेर लगानीकर्ताबाट योजना व्यवस्थापकको आलोचना गरिने गरेको योजना व्यवस्थापक बताउँछन्। शेयर बजारमा आउने उतार-चढावसँगै म्युचुअल फण्डहरुले गरेको वास्तविक लगानी थपघट हुनसक्ने भएकाले वित्तीय विवरणमा रहेको लगानीको सूचकमात्र हेरेर वास्तविक लगानीको आकार पत्ता नलाग्ने उनीहरुको भनाई छ। 

धेरै लगानी गरेका फण्डको लगानी समेत नेप्सेमा सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा लगानीको भ्यालु घट्न पुग्ने भएकाले वित्तीय विवरणबाट फण्डहरुले शेयर बजारमा गरेको वास्तविक लगानीको सही प्रतिबिम्बित गर्न नसक्ने उनीहरु बताउँछन्। यसकारण वित्तीय विवरणको सूचकलाई मात्र हेरेर म्युचुअल फण्डले गरेको कूल लगानीबारे धारणा बनाउन नहुने उनीहरुको भनाई छ। घाटामा रहेको फण्डको वास्तविक लगानी घटेर कम हुने हुँदा सो विवरणबाट वास्तविक लगानी रकम झल्कन सक्दैन।

सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाका अनुसार शेयर बजारमा लगानीको आकार घटेर म्युचुअल फण्डले प्रकाशन गर्ने वित्तीय विवरणको बैंक मौज्दातमा रकम बढ्यो भने मात्र शेयर बजारमा लगानी घटेको हो भनेर बुझ्न सकिन्छ। तर फण्डहरुको लगानीको आकार घट्यो तर बैंक मौज्दातमा सञ्चित रकम वृद्धि भएन भने  फण्डहरुले गरेको लगानी घटेको नभई लगानी रहेको शेयरको भ्यालु घटेको भन्ने बुझ्नुपर्छ।

फण्डको आकारको अधिकतम लगानी गरेका फण्डहरुको सबैभन्दा धेरै नोक्सानी देखिएका छन्। सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्डको मासिक रुपमा प्रकाशनमा आउने लगानी रिर्पोटमा भएको कूल लगानी र बैंक मौज्दात जोड्दा समेत फण्डको आकारभन्दा कम हुनबाट फण्डहरुको लगानी घाटामा रहेको तथ्य उजागर हुन्छ।

यसरी सञ्चालनमा रहेका अधिकांश म्युचुअल फण्डले नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउनुमा मर्चेन्ट बैंकर तथा म्युचुअल फण्डका व्यवस्थापकहरुको भनेजस्तै शेयर बजारमा आउने गिरावटलाई प्रमुख कारण मान्न सकिन्छ।

म्युचुअल फण्डहरुले दैनिक रुपमा नै शेयर  खरीद बिक्री गर्ने हुँदा उनीहरुले गर्ने मूल्याङ्कन प्रणाली र लगानीका लागि विश्लेषण गर्ने जनशक्तिको कार्यशैली पनि काँही न कतै जिम्बेवार देखिने विज्ञहरु बताउँछन्।

कुशल योजना व्यवस्थापकले शेयर बजारमा गिरावट आउँदै गर्दा त्यस्ता स्टकहरु बिक्री गरि मूल्य बढ्नसक्ने कम्पनीको शेयरमा लगानी गर्दै अगाडि बढ्न सक्छन्। यसमा जनताको सम्पत्ति चलाएर फण्ड सञ्चालन गर्ने योजना व्यवस्थापकको भुमिका थप जिम्मेवारपूर्ण हुनुपर्ने जानकारहरु बताउँछन्।।

  • असोज महिनाको विवरण अनुसार कुन फण्डको अवस्था कस्तो छ ?

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १७ फण्डमध्ये चारवटा फण्डले मात्र आफ्नो लगानीबाट प्रतिफल आर्जन गर्न सफल भएका छन् भने १३ वटा फण्डको लगानीको आकारमा नै गिरावट भएको देखिन्छ।

म्युचुअल फण्डको प्रमुख लगानीको क्षेत्र शेयर बजारमा आएको निरन्तरको गिरावटले लगानीको आकार घटेको हो। फण्डले शेयर बजारमा लगानी गर्दा शेयरको मूल्य उच्च रहेको र पछिल्ला दिनहरुमा शेयर मूल्यमा गिरावट आउँदा लगानीको आकार खुम्चिएको हो।

१७ वटा म्युचुअल फण्डहरुमध्ये असोज महिनाको विवरण अनुसार १३ म्युचुअल फण्डहरुले गरेको कूल लगानीबाट एक अर्ब ७ करोड ६३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेका छन्। चार फण्डहरु आफ्नो कूल लगानीबाट चार करोड ९४ लाख रुपैयाँ मुनाफामा रहेका छन्। समग्रमा सबै फण्डको नोक्सानी हिसाब गर्ने हो भनेपनि एक अर्ब २ करोड ६९ लाख नोक्सानी देखिन्छ।

घाटामा रहेका १३ सूचीकृत म्युचुअल फण्डमध्ये लक्ष्मी इक्वीटी फण्डले शेयर बजारमा गरेको कूल लगानी रकमबाट सबैभन्दा धेरै नोक्सानी व्यहोर्नुपरेको देखिन्छ। असोज महिनाको विवरण अनुसार फण्डले २६ करोड ५३ लाख रुपैयाँ गुमाएको छ।

त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्कीम–१ ले १९ करोड ७ लाख, नबिल इक्वीटी फण्डले र एनआईबिएल प्रगति फण्डको लगानीमा १७ करोड ५२ लाख रुपैयाँ बराबर लगानी ह्रास भएको देखिन्छ।

यस्तै लक्ष्मी भ्यालु फण्डले ७ करोड २ लाख रुपैयाँ, सिद्धार्थ इक्वीटी फण्डले तीन करोड ८७ लाख, सिटिजन्स म्युचुअल फण्ड २ ले ३ करोड ४२ लाख, सानिमा इक्वीटीले ३ करोड १२ लाख र एनआईबिएल समृद्धि फण्डले ३ करोड २ लाख लगानी गुमाएका छन् ।

यसैगरी एनआइसि एशिया ग्रोथ फण्डले दुई करोड ६० लाख रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले एक करोड ५८ लाख, एनएमबि हाइब्रिड फण्डले एक करोड ४६ लाख र नबिल ब्यालेन्स -२ ले गुमाउनेमध्येको कम ८४ लाख रुपैयाँ बराबरको रकम शेयर बजारमा गरिएको कूल लगानीबाट गुमाएका छन्। 

यस अवधिमा पूँजी बजारको पहिलो खुल्लामुखी योजना एनआईबिएल सहभागिता म्युचुअल फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड, एनएमबि ५०, सिटिजन्स म्युचुअल फण्ड १ गरि चारवटा म्युचुअल फण्डहरु मात्र मुनाफामा रहेका छन्।

मुनाफामा रहेका चार फण्डहरुले आफ्नो कूल लगानीबाट चार करोड ९४ लाख रुपैयाँ छन्। जसमध्ये सबैभन्दा कम मुनाफामा रहेको एनआईबिएल सहभागिता फण्डको १२ लाख छ भने सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड १ ले तीन करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

एनएमबि ५० ले एक करोड ३० लाख, एनआईसि एशिया ब्यालेन्स फण्डले ३४ लाख रुपैयाँ प्रतिफल आर्जन गरेको छ।

  • कुन फण्डसँग कति लगानी योग्य रकम ?

असोज महिनाको विवरण अनुसार १७ वटा म्युचुअल फण्डसँग उनीहरुको कूल योजनाको आकारको अधिकतम ३०.२९ प्रतिशत रकम शेयर बजारमा लगानी गर्नसक्ने अवस्था रहेको छ। १७ फण्डको कूल योजनाको आकार १६ अर्ब २९ करोड २ लाख रहेकोमा बजारमा लगानी गर्नसक्ने अधिकतम रकम ४ अर्ब ९३ करोड ३६ लाख रुपैयाँ रहेको छ। 

सञ्चालनमा रहेका फण्डहरुमध्ये सर्वसाधारणमा गत वर्षमात्र इकाई जारी गरेका फण्डहरुको बैंक मौज्दातमा धैरै रकम सञ्चित देखिन्छ। जसमा एनएमबि ५० ले आफ्नो फण्ड आकारको ८८.६३ प्रतिशत अर्थात एक अर्ब १० करोड रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ। यसले यस फण्डसँग सबैभन्दा धेरै लगानी योग्य रकम छ भन्ने देखिन्छ।

यस्तै एनआईसि एशिया ब्यालेन्स फण्डसँग आफ्नो फण्ड आकारको ७६.७० प्रतिशत अर्थात ५७ करोड ९० लाख, पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डसँग ६७.४५ प्रतिशत अर्थात १३ करोड ४९ लाख, नबिल ब्यालेन्स फण्ड–२ सँग ५२.१७ प्रतिशत अर्थात अर्थात ५८ करोड ४३ लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ सँग ४७.५८ प्रतिशत अर्थात अधिकतम ५७ करोड ९ लाख रुपैयाँ रकम लगानी गर्नसक्ने क्षमता देखिन्छ।

लक्ष्मी भ्यालु फण्ड–१ सँग आफ्नो फण्ड आकारको ४०.३८ प्रतिशत अर्थात २० करोड १९ लाख, एनएमबि हाईब्रिड फण्ड–१ सँग २८.७१ प्रतिशत अर्थात २८ करोड ७० लाख, सानिमा इक्वीटी फण्डसँग २३.६६ प्रतिशत अर्थात ३०  करोड ७५ लाख र सिटिजन्स म्युचुअल फण्डसँग २०.७४ प्रतिशत अर्थात अधिकतम ११ करोड ६१ लाख रुपैयाँ पूँजी बजारमा लगानी गर्न सक्ने क्षमता छ। 

त्यसैगरी अन्य बाँकी आठ फण्डको क्षमता आफ्नो फण्ड आकारको अधिकतम २० प्रतिशत भन्दा कम रहेको देखिन्छ।

एनआईसि एशिया ग्रोथ फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, नबिल इक्वीटी फण्ड, एनआईबिएल समृद्धि फण्ड, लक्ष्मी इक्विटी फण्ड, एनआइबिएल प्रगति फण्ड र सिटिजन्स म्युचुअल फण्डसँग लगानी गर्ने रकम आफ्नो फण्ड आकारको अधिकतम २० प्रतिशत भन्दा थोरै रहेको छ। 

ग्लोबल आईएमई समुन्नत स्किम–१ को बैंक मौज्दातमा सबैभन्दा थोरै आफ्नो फण्ड आकारको ०.९६ प्रतिशत अर्थात ९६ लाख रुपैयाँ मात्र सञ्चित छ। यस फण्डले आफ्नो आकारको ९९.०४ प्रतिशत ९९ करोड ४ लाख रुपैयाँ बराबरको लगानी शेयर बजारमा परिचालन गर्दा बैंक मौज्दातमा थोरै रकम बाँकी रहेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।