दर्जनौँ चलचित्रका नायक प्रकाशलाई अब शेयर बजारका नायक भन्दा पनि अचम्म मान्नु पर्दैन।
चलचित्र “अन्याय” बाट अभिनय शुरू गरेका प्रकाश अहिले शेयरको दोश्रो बजारका खेलाडी हुन्। यसका साथै नायिका मनिषा कोइरालाको पहिलो चलचित्र “फेरि भेटौँला” का नायक पनि हुन् प्रकाश। करिब तीन दशक पहिले “फेरि भेटौँला” भनेर हिँडेका प्रकाश आज भोलि शेयर बजारमा पो भेटिन थालेका छन्। प्रायजसो राजधानीको एक सेक्यूरिटीजमा भेटिने यी अभिनेताले चलचित्रको यात्रा सँगसँगै शेयर बजारको यात्रापनि अघि बढाएका हुन्। प्रकाशलाई अहिले लगानीका विषयमा जानकारी र अनुभव टन्नै छ।
को हुन् प्रकाश ?
२०१७ साल पुष २५ गते विराटनगरमा जन्मेका प्रकाश अधिकारीको हुर्काइ भने काठमाडौंमै भयो। बुवा प्रहरी वरिष्ठ अधिकृत भएकाले सो अनुसारको रहनसहन र अनुसाशनमै उनको बाल्यकाल बित्यो। अर्थशास्त्रमा स्नातकोत्तर गरे लगत्तै उनी चलचित्र क्षेत्रमा प्रवेश गरे। अभिनेताका अलावा उनको अर्को परिचय गीतकार पनि हो। रबिन शर्माले गाएको “आफैलाई भार भयो आज आफ्नै जिन्दगी” बोलको चर्चित गीतका सर्जक पनि हुन् प्रकाश। यसका साथै थुप्रै गीत पनि उनले रचेका छन्।
बत्तीसपुतलीमा बस्ने प्रकाशका लागि शेयर बजारमा धैर्यता नै सफलताको सुत्र हो। धैर्यताका साथै पोर्टफोलियोका विषयमा आवश्यक ज्ञान भएमा शेयर बजारमा जीत हुने उनको विश्वास छ।
करिब ३ वर्ष ४ महिनाको जापान बसाइपछि पल्ट्रीफार्ममा लगानी गरेर १२ वर्ष बिताएका प्रकाशले, दाना उद्योग र भेटनरी क्लिनिकमा पनि लगानी गरे। उनको हाइड्रोपावरमा पनि लगानी रहेको छ।
शेयर बजारको यात्रा
सर्वप्रथम २०७२ सालमा शेयर बजारमा प्रवेश गरे प्रकाश। उनले शेयर बजारको यात्रा शुरू गरे लगत्तै नेपालमा ठूलो भुइंचालो आयो जसकारण शेयर बजारका साथै उनी पनि प्रभावित बने। उनी सम्झन्छन्,“पहिलो शेयर स्ट्याण्डर्ड चार्टर्ड बैंकको १७८१ कित्ता किनेँ। त्यसपछि, एनएचबिसि लगायतमा करिब २ लाख बराबरको शेयर किनेँ। बढ्ने अपेक्षा गर्दागर्दै घट्न थालेपछि भने हतारमा बेचेँ। ”
त्यस अनुभव पश्चात उनी प्राय घाटामा शेयर नबेच्ने तर नाफा आर्जनका लागि कुर्ने गर्छन्।
शुरूका दिनमा उनलाई शेयर बजारमा लाग्नका लागि उनका चलचित्र क्षेत्रकै साथीहरूले प्रेरित गरेका थिए। चलचित्र निर्देशक शम्भु प्रधान, उज्जवल घिमिरे, प्रकाश थापा लगायतका साथीहरूले हरदिन बजार आएर आम्दानी भएको कुरा सुनाउँदा उनी पनि शेयर बजारमा आर्कषित भए। त्यो समय बजार उकालो लागेको अवस्था थियो। अनि लहलहमै उनले केही बैंक र कम्पनीको शेयर किने ।
शेयर अनुभव यस्तो
शेयर बजारमा हालसम्मकै सबैभन्दा बढी अंक नेप्से १८८१ सम्मको माहोल देखेको उनको अनुभव छ।
कुनै समय लगानी गर्दा घाटा भएका कारण उक्त शेयरलाई होल्डमा राखेको अनुभव पनि उनीसँग छ। २ या ४ वर्षमा उक्त शेयरको लाभांश पाएपछि मात्र उनले बेचेका थिए। त्यसैले उनी लगानी गर्दा चलाखी अपनाउनुपर्ने बताउँछन्। आफ्नो क्षमताभन्दा माथि उठेर लगानी गर्नु जोखिमपूर्ण रहेको उनको बुझाइ छ।
विगतमा ब्रोकर अफिसबाट बजारमा प्रवेश गरेकाले उनले बजारको झन्झटिलो माध्यम अपनाउनु परेन। प्रविधिले निकै फड्को मारिसकेको र प्रक्रिया सजिलो भएकाले अहिले अनलाइनबाट शेयर कारोबार गर्न निकै सजिलो भएको छ उनलाई।
मिहिनेतको पैसा लगानी गर्ने भएकाले शेयर कारोबारलाई पूर्ण रूपमा व्यवसायीक बनाउन सकिने उनको विचार छ। बजार ११ देखि ३ बजेसम्मको हुने र पूर्ण समय दिई अन्य काम पनि गर्न सकिने सुविधा शेयर बजारमा भएको उनको भनाइ छ।
“शेयर बजार अहिले सुरक्षित छ। एक क्लिकमा बैंकबाट नै सम्पूर्ण कारोबार हुन्छ, त्यसकारण निकै सजिलै पनि भएको छ ”, उनी भन्छन्।
एनएचबिसि, स्ट्याण्डर्ड चार्टर्ड बैंक, गुराँस लाईफ इन्स्योरेन्स लगायतबाट फाइदा कमाएका प्रकाशले लुम्बिनी विकास बैंकको (पहिले भिवोर विकास बैंक) १० वा १२ वर्ष अघि किनेको प्रोमोटर शेयरबाट अहिले फाइदा पाएका छन्। त्यसैले उनले धैर्यतालाई आफ्नो जीवनमा मात्र नभएर शेयर बजारमा पनि कायम राखेका छन्।
उनका साथै उनकी श्रीमती बिना अधिकारी पनि शेयर बजारमा आवद्ध छिन्।
हालसम्म कलाारितामा सक्रिय प्रकाश सुनाउँछन्, “कलाकारिता र शेयर बजार पुरा फरक छ। कलाकारिता रचनात्मक पेसा हो, स्क्रिप्टअनुसार चरित्रमा ढल्न सकिन्छ तर शेयर “पूर्ण व्यवसायिक पेशा हो। कलाकारितामा रचनाको प्रयोग हुन्छ भने शेयर बजारमा बुद्धिको प्रयोग हुन्छ।” उनी प्रसन्न मुद्रामा भन्छन्, “कलाकारिता आत्मसन्तुष्टि हो, दर्शकहरू मलाई सम्झनुहुन्छ, उहाँहरूको माया पाएको छु। ती कुरा पैसामा दाँज्न सकिँदैन। पैसाभन्दा धेरै माथि छ।”
नाफा र घाटालाई सन्तुलनमा राख्ने उनको आफ्नै तरिका छ। “बजार १८०० प्लसमाजाँदा मैले २ वा ४ कम्पनीमा लगानी गरेको थिएँ। त्यसमा मलाई आजसम्म घाटा नै छ। तर म धैर्य छु, पछि फाइदा भएपछि बेच्छु ” भन्छन् उनी।
प्रकाशले साधारण शेयर आइपीओमा भने लगानी गरेका रहेनछन्। पहिले लाइन बस्नुपर्ने झन्झटका कारण पनि उनी पछि हटेका रहेछन्।
सुझाव पनि छ उनको
शेयर बजारमा ऋण गरेर आउनेलाई भने उनी सचेत हुन आग्रह गर्छन्। बैंकबाट ऋण गरेर बिहान बेलुकाको छाकलाई माया मारेर शेयर बजारमा आउँदा तनाव हुने र निर्णय क्षमता पनि कमजोर हुने भएकाले दुर्घटना निम्तने उनको बुझाइ छ। उनी ठान्छन, त्यस कारण कुल आम्दानीको २५ प्रतिशतमात्र शेयर बजारमा लगानी गरे आफु सुरक्षित भइन्छ जस्तो लाग्छ। आफ्ना आधारभूत आवश्यकता पुरा गरेर बचत भएमा मात्र बजारमा लगानी गर्न पनि उनी सुझाउँछन्।
शेयर बजारमा आउन चाहने सबैलाई प्रकाश स्वागत गर्छन्। शेयर बजारको भविष्य निकै उज्जवल भएको उनको ठम्याइ छ। त्यसकारण जो कोही शेयर बजारमा अध्ययनका साथ आएमा कमाइका लागि सुरक्षित स्थान रहेको उनको बुझाइ छ।
कलाकारलाई पनि उनले शेयर बजारमा स्वागत गर्दै यो समय बजार प्रवेशका लागि सही समय भएको सल्लाह दिएका छन्। उनी अगाडि थप्छन्, तपाईहरु आउनुभयो भने साथीभाई भएको नाताले सिकाउन आफू तयार छु’।
उनको पछिल्लो चलचित्र यात्रा, क्याप्टेन, जानी नजानी लगायतका हुन्। अहिले उनी चलचित्रभन्दा शेयर बजारमा नै व्यस्त छन्। नाफा आर्जन देखि घरपरिवारका लागि समय पनि सजिलै निकाल्न सकिने भएकाले उनी शेयर बजारमै अहिले रमाइरहेका छन्।
शेयर बजारमा जुनसुकै पेशा व्यवसाय अंगालेका मानिसहरू आफ्नो रूचि अनुसार प्रवेश गर्न सक्छन्। सेलिब्रेटी भएपछि शेयर किन्न ब्रोकरको कसरी जाने भनेर संकोच मानिरहेका धेरैलाई प्रकाश प्रेरणादायी लाग्न सक्छन्।