मेरोलगानीले गरेको एक साताको अध्ययनमा १० देखि एक हजार कित्ताभन्दा बढीसम्मको शेयर कारोबार गर्ने लगानीकर्ताको रोजाईमा ग्लोबल आईएमई बैंक परेको हो। मर्जरका कारण लामो समयदेखि बन्द रहेको बैंकको कारोबार खुलेपछि लगानीकर्ताले यसको शेयर किनबेच बढाएका हुन्। लगानीकर्ताले नाफा गर्न तथा गर्जो टार्ने हिसावले अधिक शेयर बिक्री गरेको एक ब्रोकर कम्पनीले जनाएको छ। केही लगानीकर्ताले दीर्घकालीन रुपमा शेयर 'होल्ड' गर्न बैंकको शेयर खरिद गरेका छन्। बैंकको शेयर कारोबार माघ ६ गते सोमबारदेखि खुलेको हो। कारोबार सुरु भएदेखि नै यस बैंकको शेयरमा उच्च खरिदचाप देखियो।
यस साता समग्र कारोबार रकम ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको थियो। जसमा ग्लोबल आईएमई बैंकको मात्र ८० करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। जुन समग्र कारोबार रकमको ९.४३ प्रतिशत हो। यसैगरी, साताभर ८६ हजार ४९० पटक दोस्रो बजारमा शेयर खरिद/बिक्री भयो। जसमा ग्लोबल आईएमईको मात्र ६ हजार ५२२ पटक कारोबार भएको छ।
लगानीकर्ताको रोजाईमा बैकिङ क्षेत्र
दोस्रो बजारमा शेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताको रोजाईमा यस साता बैकिङ क्षेत्र परेको छ। यो साता बैकिङ क्षेत्रको २८ हजार ८६३ पटक शेयर कारोबार भएको छ। यसैगरी माइक्रोफाइनान्सको १२ हजार ८२३ पटक कारोबार भयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुमा सबैभन्दा बढी हिस्सा बैक बित्तीय संस्थाको छ। उनीहरुको मात्रै ६५ प्रतिशत हिस्सा छ। जीवन बीमा कम्पनीको ११ हजार ४४ पटक, निर्जीवन बीमा कम्पनीको ९ हजार ९५३ पटक, हाइड्रोपावरको ९ हजार ६४३ पटक शेयर कारोबार भएको छ भने सबैभन्दा कम अग्राधिकार शेयरको ४ पटक मात्र कारोबार भयो।
एकसय कित्ताभन्दा थोरै शेयर खरिद गर्ने लगानीकर्ताको चाप
यो साता दोस्रो बजारमा एकसय वा सोभन्दा कम कित्ता शेयर कारोबार गर्ने लगानीकर्ताको उच्च चाप देखिएको छ। दोस्रो बजारबाट ठूलो संख्यामा मात्र नभई १० कित्ता शेयरमा समेत ठूलो मात्रामा कारोबार हुने गरेको अध्ययनले देखाएको हो।
एकसय वा सोभन्दा कम कित्ता शेयर कारोबार हुने कम्पनीमा अग्रस्थानमा ग्लोबल आईएमई बैंक रहेको छ। बैंकको एकसय वा सोभन्दा कम कित्ता शेयर २ हजार ४५३ पटक कारोबार भएको छ। यसैगरी धेरै पटक कारोबार हुने कम्पनीको यो सूचीमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, सूर्या लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट्स, रसुवागढी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी परेका छन्।
एक हजार वा सोभन्दा बढी कित्ता कारोबार भएका कम्पनी
यसैगरी एक हजार वा सोभन्दा बढी कित्ता शेयर कारोबार हुने कम्पनीमा ग्लोबल आईएमई बैंक नै शीर्ष स्थानमा रहेको छ। बैंकको ७५८ पटक सो कित्तामा शेयर कारोबार भएको छ। यसैगरी, एनसीसी बैंकको ३३५ पटक, नेपाल बैंकको ३२१ पटक, प्रभु बैंकको २२४ पटक, सिभिल बैंकको १९६ पटक, सेञ्चुरी कमर्शियल बैंकको १३१ पटक, एनआईसि एशियाको १३१, मञ्जुश्री फाइनान्सको १११, कुमारी बैंकको १०९, सूर्या लाइफ इन्स्योरेन्सको ९३ पटक एक हजार वा सोभन्दा बढी कित्तामा शेयर कारोबार भएको छ।
यस साता १८८ कम्पनीको ८६ हजार ४९० पटकको कारोबारमा ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ५१ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
शेयर बजारमा किन बढ्यो कारोबार रकम ?
पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको मनोबल बढेसँगै शेयर बजारले पनि सुधारको गति लिइरहेको छ। मनोबल बढेकै कारण लगानीकर्ताले खरिदरबिक्री गर्ने शेयरको मात्रा पनि बढेको छ। दोस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुको राम्रो वित्तीय विवरण आउने आशाले पनि लगानीकर्ताहरु शेयर बजारमा लगानी गर्न उत्साहित देखिएका हुन्।
योसँगै कारोबार रकम एक अर्ब नाघिरहेको छ। कुनै समय एक सातामा समेत कारोबार रकम एक अर्ब रुपैयाँभन्दा कम हुने गरेकोमा पछिल्लो समय भने शेयर कारोबार रकम ह्वात्तै बढेको छ।
लगानीकर्ताले मुद्धति निक्षेप राखेको पैसा तथा अन्य क्षेत्रको रकम समेत शेयर बजारतर्फ मोड्न थालेपछि दैनिक कारोबार रकम बढ्न थालेको हो। सोही कारण शेयर बजारमा दैनिक कारोबार रकम बढ्दो क्रममा रहेको छ।