तीन कारोबार दिनमा करिब ४४ अंक घट्यो नेप्से

Jan 26, 2020 03:52 PM Merolagani

गत साताको बुधबारदेखि घट्न थालेको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। पछिल्ला ३ कारोबार दिनमा नेप्से करिब ४४ अंक घटेको छ।

नेप्से गत बुधबार ७.०५ अंक, बिहीबार १५.९५ अंक र आज आइतबार २०.७९ अंक घटेको छ। नेप्से यस दिन १.६० प्रतिशत घटेर एक हजार २७६.६८ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत सातासम्म दैनिक १ अर्बभन्दा बढीको कारोबार भइरहेको बजारमा यस दिन १७४ कम्पनीको १२ हजार ७५० पटकको कारोबारमा ९६ करोड ५० लाख १८ हजार रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बजारमा सेलिङ्ग प्रेसर बढेका कारण नेप्सेमा करेक्सन भएको जानकारहरु बताउँछन्। बजार जहिले पनि बढ्छ र जहिले पनि घट्छ मात्र भन्ने होइन। बजारमा प्रकृति नै उतारचढाव हो। लामो समयदेखि बियरिश ट्रेण्डमा रहेको नेप्सेले अब बुलिश ट्रेण्ड समाएको एक विश्लेषकले बताए। नेप्से केही दिन करेक्सन भएपनि केही दिनमा पुनः उकालो लाग्ने उनको भनाइ छ।

आइतबार कारोबार रकमको शीर्ष स्थानमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेको छ। लघुवित्तको यस दिन ८ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण लघुवित्तको शेयर कारोबार बढेको हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (माघ १३ गते) बुकक्लोज गर्दैछ। सभाल हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र सोको कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, नेपाल लाइफ र ग्लोबल आइएमई बैंकको कारोबार रकम यस दिन ६ करोड नाघेको छ। आकर्षक लाभांशको अपेक्षाले नेपाल लाइफको कारोबार पछिल्लो समयमा बढीरहेको हो भने मर्जरपश्चात कारोबार खुलेदेखि ग्लोबलमा लगानीकर्ताहरु आकर्षित भएका हुन्।

यस दिन जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ। त्यस्तै, मिथिला लघुवित्त र रिडी हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ। सप्तकोशी डेभलपमेन्ट बैंककोा शेयरमूल्य यस दिन ६.८ प्रतिशत र युनाइटेड इन्स्योरेन्स (नेपाल) को शेयरमूल्य ५.१० प्रतिशत घटेको छ।

यस दिन कम्पनीहरुको शेयरमूल्य वृद्धिदर न्यून रहेको छ। जोशी हाइड्रोपावरको शेयरमूल्य यस दिन ३.१७ प्रतिशत बढेको छ। एनआईबिएल प्रगति फण्ड र एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ भने अन्यको शेयरमूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचकहरु घटेका छन्। निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७९ प्रतिशत घटेको छ। त्यसैगरी, व्यापारको २.११, हाइड्रोपावरको १.८८, होटलको १.९९, बैंकिङ्गको १.६२, विकास बैंकको १.२२, वित्तको १.६, लघुवित्तको १.३३, जीवन बीमाको १.७३, उत्पादनको १.०५ र अन्यको १ प्रतिशत घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।